एन्टेनाले चिनायो, प्रविधिले फैलायो नेपालमा विश्वकप

सन् १९८६ को विश्वकप, फुटबल इतिहासकै एउटा सुनौलो वर्ष । अर्जेन्टिनाका जादुगर डिएगो म्याराडोनाले ‘ह्यान्ड अफ गड’ र ‘शताब्दीकै सर्वोत्कृष्ट गोल’ गर्दै फाइनलमा पश्चिम जर्मनीलाई ३–२ ले हराए । र, आफ्नो देशलाई विश्वविजेता बनाए । ठ्याक्कै त्यही समय नेपालका गाउँघर र साना शहरहरूमा फुटबलको रौनक सुरु हुँदै थियो । तर खेल हेर्ने प्रविधि आजको जस्तो सुलभ थिएन । भर्खर–भर्खर सादा अर्थात् ब्ल्याक एन्ड ह्वाइट टिभी भित्रिँदै थियो । गाउँभरिमा एकाध हुनेखानेका घरमा मात्रै १४ इन्च वा त्योभन्दा सानो सादा टिभी हुन्थ्यो ।

आजको जस्तो घर–घरमा बिजुलीको केन्द्रीय प्रसारण लाइन पनि थिएन । बिजुली नभएका कारण गाडी वा ट्रकमा हाल्ने ठूला–ठूला ब्याट्री चार्ज गरेर टिभी चलाउनु पर्थ्यो । हल्लैहल्लामा मान्छेका मुखबाट ‘म्याराडोना–म्याराडोना’ भन्ने नाम खुब सुनिने त्यो जमानामा टिभी स्क्रिनमा ती जादुमयी खेलाडीलाई प्रत्यक्ष हेर्न पाउनु ठूलो कुरा थियो । तर, अरूको घरमा गएर सधैं खेल हेर्न सहज थिएन । टिभी धनीले ब्याट्री चार्ज गर्न लाग्ने खर्च उठाउनका लागि प्रतिखेल दुई रुपैयाँदेखि पाँच रुपैयाँसम्म शुल्क तोकेका हुन्थे । पाँचथरमा जन्मिएका मिस्टर आङ्देम्बे भन्छन्, ‘टोलका साथीभाइ मिलेर दुःखजिलो ४०–५० रुपैयाँ जम्मा गरेपछि मात्र ब्याट्री चार्जको खर्च जुट्थ्यो र फुटबल हेर्ने अनुमति पाइन्थ्यो ।’

आफ्नै बुबाआमासँग खेल हेर्नका लागि पैसा माग्न पनि सोचे जस्तो सहज नहुने । तर उपाय नै नहुँदा, अनेक बहानामा खर्च माग्नुको विकल्प पनि थिएन । ‘मागेपछि घरमा दिँदै नदिने त हुँदैनथ्यो । तर त्यो बेला अरूको घरमा सादा टिभीमा विश्वकप हेर्न पनि राम्रै पापड पेल्नुपर्थ्यो,’ आङ्देम्बेले सम्झिए । पैसा तिरेर टिभी धनीको घरमा पुगे पनि ढुक्कले खेल हेर्न पाइनेमा सन्देह थियो । निर्बाध खेल हेर्न पाउने ग्यारेन्टी कत्ति पनि हुँदैनथ्यो । त्यसबेला घरको धुरीमा बाँसको लामो लिंगो गाडेर एन्टेना झुन्ड्याइएको हुन्थ्यो । अलिकति हावा चल्नासाथ वा मौसम बिग्रिनासाथ टिभीको सिग्नल हराइहाल्थ्यो ।

आङ्देम्बेको अनुभवमा, त्यस्तो अवस्थामा स्क्रिनभरि कुइरो लागे जस्तो ‘झिरझिर’ आउँथ्यो । त्यसपछि सुरु हुन्थ्यो अर्को सास्ती । खेल चलिरहँदा दर्शकमध्ये एकजना बाहिर निस्केर बाँसको लिंगो समात्दै एन्टेना घुमाइरहनुपर्थ्यो भने भित्र बस्नेहरूले ‘टिप्यो–टिपेन’ भनेर चिच्याइरहनुपर्थ्यो  । ‘टिप्यो–टिप्यो…, गयो-गयो…,’ जति आफ्नो समर्थन रहेको देशमा नाम लिइन्थ्यो, त्यति नै यसरी एन्टेना मिलाइरहन कराउनुपर्ने बाध्यता थियो । अर्कोतर्फ, नेपाल टेलिभिजन लगायतका टेलिभिजन च्यानल भर्खरै आएका थिए । यसमार्फत विश्वकप हेर्ने कुरा कल्पनाभन्दा पर थियो । त्यसैले पाँचथरमा रहेको आङ्देम्बेहरूले छिमेकी देश बंगलादेश वा दूरदर्शनको सिग्नल खोज्दै दुःखसुख फुटबलको तिर्खा मेट्नुपर्थ्यो ।

आङ्देम्बेलाई आफ्ना अग्रजका कारण पनि फुटबल हेर्ने रस पस्दै थियो । सन् १९९० को इटाली विश्वकप आयो, जहाँ फाइनलमा पश्चिम जर्मनीले अर्जेन्टिनालाई १–० ले हराउँदै बदला लियो । त्यो बेलासम्म नेपाली समाजमा फुटबलको बुझाइ र क्रेज अलि फराकिलो भइसकेको थियो । गाउँघरमा टिभीको संख्या थोरै बढे पनि ब्याट्रीकै भरमा खेल हेर्ने चलन कायमै थियो । त्यसको चार वर्षपछि अर्थात् सन् १९९४ मा अमेरिकामा विश्वकप आयोजना भयो । उक्त विश्वकप फाइनलमा ब्राजिलले इटालीलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएर उपाधि चुम्यो । ९४ को विश्वकपसम्म आइपुग्दा भने नेपाली युवाहरू आफैं पनि स्थानीय क्लबहरूमा फुटबल खेल्न र फुटबललाई आफ्नो जीवनकै एउटा हिस्सा बनाउन थालिसकेका थिए ।

तर, सन् १९९८ को फ्रान्स विश्वकपले नेपाली खेलप्रेमीका लागि एउटा बिल्कुलै नयाँ र अन्तर्राष्ट्रिय क्षितिज उघारिदिएको आङ्देम्बेको अनुभव छ । यो त्यही विश्वकप थियो, जहाँ आयोजक फ्रान्सले फाइनलमा शक्तिशाली ब्राजिललाई ३-० ले हराउँदै पहिलो पटक विश्वकपको ट्रफी उचालेको थियो । यो समय नेपालमा वैदेशिक रोजगारीको लहर सुरु भइसकेको थियो । हजारौं नेपाली युवाहरू रोजगारीका लागि खाडी मुलुक र इजरायल जस्ता देशहरूमा पुगेका थिए । त्यही लहरमा थिए- आङ्देम्बे । उनको अनुभवले भन्छ- विदेशको आधुनिक परिवेशमा पुगेका नेपालीहरूले त्यहाँको खेल संस्कृतिलाई झन् नजिकबाट नियाल्ने मौका पाए । नेपालको अभावपूर्ण माहोलबाट इजरायल पुगेका उनीहरूका लागि त्यस्ता देशका ठूला-ठूला चोक, क्लब र सार्वजनिक ठाउँहरूमा राखिएका विशाल प्रोजेक्टरहरूमा विश्वकप हेर्र्नु आफैंमा महत्वपूर्ण थियो ।

हजारौँको संख्यामा ओइरिएर खेल हेर्ने विदेशी शैली आङ्देम्बेहरूका लागि बिल्कुलै नयाँ अनुभव थियो । त्यहाँ बस्दा फुटबलसँग जोडिएका अनौठा राजनीतिक र ऐतिहासिक पाटाहरू पनि बुझ्न पाइन्थ्यो । ‘जस्तै, दोस्रो विश्वयुद्धकाताका हिटलरको अत्याचारका कारण इजरायलका यहुदीहरू जर्मनी टोलीलाई कत्ति पनि मन पराउँदैनथे । त्यसैले इजरायलमा बसेर जर्मनी टोलीलाई खुलेर सपोर्ट गर्न वा उनको पक्षमा हुटिङ गर्न पाइँदैनथ्यो,’ आङ्देम्बेले उदाहरण सुनाए । यसरी नेपालको गाउँदेखि वैदेशिक रोजगारीसम्म पुग्दा विश्वकपसँग जोडिएका कयौँ छापहरू आङ्देम्बेसँग छन् । ‘हिजो त्यसरी दुःख गरेर खेल हेथ्र्यौं । पछि विदेश गएर कमाइयो, घरमै सबै थोक मिल्यो । आज सबै परिवार मिलेर हेर्छौं । के थियो, के पो भयो…,’ उनले भने ।

फुटबल ९० मिनेटको खेल मात्र होइन, यसमा एक किसिमको नशा र भावना पनि जोडिएको हुन्छ । नेपाली समाज फुटबलको नशामा कतिसम्म डुबेको छ भन्न समर्थकहरूमा देखिने आवेग र आक्रोशले पनि देखाउँछ । हिजोका दिनमा जर्सी किनेर लगाउने सुविधा वा सामाजिक सञ्जालमा बहस गर्ने प्रविधि नभए पनि खेलप्रतिको बफादारिता कट्टर हुन्थ्यो । सन् २०१० को दक्षिण अफ्रिका विश्वकप (जहाँ स्पेनले नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलो पटक उपाधि जित्यो) र सन् २०१४ को ब्राजिल विश्वकप (जहाँ जर्मनीले अर्जेन्टिनालाई फाइनलमा १-० ले हरायो) सम्म आइपुग्दा नेपालमा मनपर्ने टिमको जर्सी लगाउने फेसनले व्यापकता पाइसकेको थियो । खेलमा आफ्नो प्रिय टिम हार्दा जर्सी नै जलाउनेसम्मका आक्रोश नेपाली खेलप्रेमीहरूमा देखिन्थ्यो । यसबाट आङ्देम्बे स्वयं अछुतो रहेनन् । जोशैजोशमा उनले आफूलाई मनपर्ने टिम अर्जेन्टिनाकै जर्सी जलाएका थिए । अहिले आफ्ना ती व्यवहार सम्झँदा ५० वर्षीय उनलाई हाँसो लाग्छ ।

सन् २०१४ को फाइनल खेलमा अर्जेन्टिना पराजित भएपछि जर्मनीका फ्यान साथीभाइहरूले गिज्याउँदा फोनसमेत झट्याउन भ्याए, आङ्देम्बेले । ‘हातमा भएको महँगो मोबाइल फोन नै भुइँमा बजारेर चकनाचुर पारेको थिएँ । यस्तो क्रेजी व्यवहार हामीसहित अन्य ठाउँमा पनि सुन्थ्यौँ । सादा टिभीमा हेरेर हुर्किए पनि फुटबलको त्यो पागलपन र रोमान्स आफैंमा एउटा बेग्लै संसार थियो,’ आङ्देम्बेले सम्झिए ।

समय घर्किंदै जाँदा र प्रविधिले फड्को मार्दै गर्दा विश्वकप हेर्ने तरिका फेरिएको छ । २४ वर्षीय सुदीप मरासिनी यस पटक परिवारसँगै बसेर ताम्घासमै विश्वकप हेर्दैछन् । कारण– उनको परिवार नै फुटबलमैत्री छ । फुटबल भनेपछि हुरुक्कै हुन्छ । विश्वकपका विषयमा सुदीपका बाबा प्रेमराज शर्माको छुट्टै अनुभव छ । सन् १९८५ मा टेलिभिजन भित्रिएपछि सन् १९८६ मा पहिलो पटक नेपालीले विश्वकप हेर्ने मौका पाएका थिए । तत्कालीन समयमा दरबार हाइस्कुलमा पढ्ने उनका बाबाले संस्कृत छात्रबासमै विश्वकप हेरे । उक्त विश्वकपमा अर्जेन्टिना विजयी भएको भयो ।

‘म्याराडोनाले देखाएको आफ्नो कलाबाट प्रभावित भएर मेरो बुबा अर्जेन्टिनाको फ्यान हुनुभयो । बुबाले भन्नुभए अनुसार, नेपालीले पहिलो पटक विश्वकप हेर्दा अर्जेन्टिनाले जितेको र म्याराडोनाबाट प्रभावित भएकाले अर्जेन्‍टिनाको फ्यानबेस नेपालमा धेरै भएको हो,’ सुदीपले भने । पारिवारिक प्रभावका कारण सुदीप पनि अर्जेन्टिनाकै फ्यान भए । यसमा थप बल दियो, म्याराडोनाको एउटा भनाइले । जसमा म्याराडोनाले ‘दिस टाइम वि डिफिटेडेट यु, बिकज यु डिन्ट ह्याभ ह गोर्खा इन योर टिम’ भन्दै क्वार्टरफाइनलमा (सन् १९८६) पराजित टिम बेलायतलाई अभिव्यक्ति दिएको दाबी गरिएको थियो । ‘मिथ हो या सत्य हो, विश्वयुद्धको प्रसंग तान्दै दिएको भनिएको यो भनाइबाट सानोमा म पनि प्रभावित भएँ,’ उनले थपे ।

यद्यपि, सुदीपको लागि पहिलो विश्वकप भने सन् २०१० को थियो, जतिबेला स्पेनले जितेको थियो । छात्रबासको सादा स्क्रिनमा बुबाले पहिलो पटक विश्वकप हेरे पनि छोरा सुदीपले भने रंगीन दुनियाँमै हेर्न पाए । सुदीपकी आमा सरस्वती पन्थी भने ब्राजिलकी फ्यान हुन् । यसको पछाडि पनि रोचक कारण रहेको अनुभव उनकी आमामा छ । सन् १९९४ विश्वकप उनकी आमाको लागि पहिलो विश्वकप थियो । पोखरामा माइतीमै रहँदा विश्वकप हेरेकी उनले ब्राजिलको विजय देखिन् । ‘त्यो बेला गाउँगाउँमा टिभीको पहुँच पुग्न थालेको थियो । त्यसबेला पहिलो पटक विश्वकप हेर्न पाएकाहरू अधिकांश ब्राजिलको फ्यान भए,’ आमा सरस्वतीको भनाइ उद्धृत गर्दै सुदीप सुनाउँछन्, ‘त्यही भएर ब्राजिलको फ्यानबेस पनि नेपालमा धेरै छ ।’

नेपालमा झैं अन्तर्राष्ट्रिय स्तरमा विश्वकप नियाल्दा पनि हेर्ने र स्वाद लिने तरिकामा फेरबदल भइरहेको देखिन्छ । अन्तर्राष्ट्रिय पहेली केलाउँदा, एक पटक सन् १९९८ को विश्वकपका घटनाहरूलाई पनि नियालौँ । फ्रान्समा जारी उक्त विश्वकप हेर्न कति मानिस ‘बिरामी’ को बहाना बनाएर अफिस गएका थिएनन् । कर्मचारीहरूसँग खेल हेर्ने अरू कुनै उपाय थिएन । टेलिभिजनको अगाडि बस्नु एक मात्र विकल्प थियो । र, खेल दिउँसो भयो भने काम छाड्नै पर्थ्यो । तर, वर्तमान अवस्था यसको ठिक उल्टो छ । प्रविधि क्षेत्रमा आएको द्रुततर विकासले मानिसहरूले आफूसँग भएको ग्याजेटबाट जुनसुकै समयमा र जुनसुकै ठाउँबाट पनि हेर्न सक्छन् ।

सन् १९९४ मा अमेरिकाले पहिलो पटक विश्वकप आयोजना गर्दा स्ट्यानफोर्ड स्टेडियम वरिपरि फेन्डर बेन्डर (अर्थात् सानातिना गाडी दुर्घटना) का घटनाहरू घटिरहेका हुन्थे । खेल हेर्न आएका विदेशी दर्शकहरू बायाँ ट्राफिकमा अभ्यस्त थिए । अमेरिकाको दायाँ ट्राफिक नियमसँग परिचित थिएनन् । खेल प्रत्यक्ष हेर्न आउनुको विकल्प थिएन । त्यतिबेला नेटस्केप ब्राउजर भर्खर स्थापना भएको थियो । सर्वसाधारणका लागि इन्टरनेट अझ अपरिचित थियो । सन् १९९८ मा फ्रान्सले विश्वकप आयोजना गर्दा अवस्था खासै फरक थिएन । खेल वीएचएस टेपमा रेकर्ड गर्न सकिन्थ्यो । तर उत्तिकै अविश्वसनीय पनि थियो । टेप अड्किने, रेकर्ड नहुने वा कोहीले टेप निकाल्ने सम्भावना थियो । डीवीआर थिएन, प्राइम टाइममा पुनः प्रसारण थिएन । लाइभ देख्नु नै एक मात्र विकल्प थियो ।

सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त आयोजना गरेको विश्वकपले अमेरिकामा बस्नेहरूका लागि एउटा नयाँ समस्या खडा भयो । ‘टाइम जोन’को ठूलो फरकका कारण खेलहरू अमेरिकामा मध्यरातमा हुन्थे । टीआईवीओ र रिप्ले टिभी भर्खर बजारमा आएका थिए, तर डीवीआर अझै व्यापक भएको थिएन । धेरै खेल छुट्यो, धेरै निराशा भयो । सन् २००६ को जर्मनी विश्वकपसम्म आइपुग्दा डीवीआर बढ्न थाल्यो । मानिसहरूले खेल रेकर्ड गरेर आफूअनुकूल समयमा हेर्न थाले । फेसबुक त्यसबेला अझै विश्वविद्यालयका इमेलमा मात्र सीमित थियो । सामाजिक सञ्जाल दैनिक जीवनको अंग भइसकेको थिएन ।

त्यसपछि सन् २०१०, दक्षिण अफ्रिका विश्वकपसँगै आयो लाइभ स्ट्रिमिङको युग आयो । पहिलो पटक धेरै खेलहरू अनलाइन प्रत्यक्ष प्रसारण भए । यद्यपि, ठूला प्रसारण कम्पनीहरूले स्ट्रिमिङलाई रोक्न खोजे । दर्शकहरूले फायरवाल पार गरेर स्ट्रिमिङ साइटहरू खोज्न थाले । फेसबुक र ट्विटरमा विश्वकपको चर्चा भयो । मोबाइलबाट खेल हेर्नेको संख्या ईएसपीएन मोबाइल टिभी र युनिभिजनमार्फत अमेरिकामा मात्र १५ लाख पुग्यो । सन् २०१४ को ब्राजिल विश्वकपले ‘पहिलो कर्डकटरको विश्वकप’ को उपाधि पायो । धेरै देशहरूले आफ्ना दर्शकहरूका लागि अनलाइन निःशुल्क स्ट्रिमिङ उपलब्ध गराए । अमेरिकामा युनिभिजनले निःशुल्क स्ट्रिमिङ उपलब्ध गरायो भने ईएसपीएनको लागि पेटीभी सदस्यता चाहिन्थ्यो ।

सन् २०२६ को विश्वकपसम्म आइपुग्दा लगभग सबै कुरा नै बदलिएको छ । एआईको प्रयोग र प्रवर्द्धन  विश्वभरि चुलिँदै गर्दा यसको प्रभाव विश्वकपमा पनि देखिँदै छ । फिफाको आधिकारिक प्रविधि साझेदार लेनोभोले यस विश्वकपका लागि एउटा ‘इन्टेलिजेन्ट कमान्ड सेन्टर’ तयार गरेको छ । यो प्रणालीले रियल टाइममा सबै भेन्युहरूमा भिडको घनत्व, लजिस्टिक्स र सुरक्षा घटनाहरू एकसाथ अनुगमन गर्छ । समस्या सानो छँदै टुर्नामेन्ट अधिकारीहरूलाई सूचित गर्छ ।

यस पटक खेलाडीहरूको एआईको सहयोगबाट थ्रीडी डिजिटल अवतार पनि जेनेरेट गरिने छ । खेलाडीहरूको राम्रो अध्ययनको आधारमा बनाइएका यी अवतारहरू अफसाइड निर्णयमा रेफ्री र दर्शक दुवैलाई परम्परागत भिडियो रिप्लेभन्दा बढी सटिक र थ्रीडी दृश्य प्रदान गर्छन् । यो भिडियो असिस्टेन्ट रेफ्री (वीएफआर) प्रणालीको नयाँ युग हो । लेनोभोले आयोजक स्टेडियमहरूका ‘डिजिटल ट्विन’ अर्थात् भौतिक स्टेडियमका भर्चुअल प्रतिलिपि पनि निर्माण गरेको छ । यसमार्फत फिफाले म्याचको दिन ८२ हजार दर्शक पुग्नुअघि नै सफ्टवेयरमा भिडको प्रवाह, आपत्‌कालीन परिदृश्य र परिचालन अवरोधहरूको ‘स्ट्रेस टेस्ट’ गर्न सक्छ । दूरसञ्चार क्षेत्रमा वेरिजनले सबै आयोजक भेन्युमा फाइभजी क्षमता अपग्रेड गरेको छ । यसबाट स्टेडियममा भरिएका दर्शकहरूले एकसाथ लाइभ स्ट्रिम गर्न, सामाजिक सञ्जालमा सेयर गर्न र मोबाइल टिकेटिङ प्रयोग गर्न सक्छन् ।

‘फिफा प्लस’ एपले संवर्द्धित वास्तविकता (अगमेन्टेड रियालिटी) सुविधाहरू थपेको छ । दर्शकहरूले मोबाइल मैदानतर्फ तेर्स्याउँदा रियल टाइम खेलाडी तथ्यांक र स्ट्याटहरू स्क्रिनमा देख्न सक्छन् । कागजी टिकेट पूर्णतः हट्दै छन् । दर्शक परिचय प्रमाणीकरणसँग जोडिएको र यातायात तथा भेन्यु पहुँच नियन्त्रणसँग एकीकृत डिजिटल टिकेटिङ प्रणाली लागु भएको छ । स्टेडियमभित्र पुग्ने दर्शकका लागि पनि अनुभव पहिलेभन्दा कैयौं गुणा समृद्ध भएको छ । विशाल एलईडी वालहरू, ३६० डिग्री ध्वनि प्रणाली र अगमेन्टेड रियालिटी ओभरलेहरूले दर्शकलाई वास्तविक खेलझैँ अनुभव दिन्छन् । स्मार्ट साइनेजले रियल टाइम डेटा प्रयोग गरेर दर्शकहरूलाई विशाल स्टेडियमभित्र सहजै नेभिगेट गर्न मद्दत गर्छ । उन्नत माइक्रोफोन र स्पिकर एरेहरूले भिडको उत्साहलाई ‘डिस्टोर्सन’ बिना नै बढाउँछन् । प्रेस र मिडिया केन्द्रहरू पनि अत्याधुनिक एवी प्रणालीले सुसज्जित छन् । लाइभ अन्तर्वार्ता, रिमोट ब्रोडकास्टिङ, अनुवाद सेवा जस्ता सुविधाहरू प्रेस सम्मेलनहरूका लागि उपलब्ध गराइने छ । यसरी विश्वकपको सुरुवातदेखि आजसम्म आइपुग्दा आयोजनाको प्राविधिक पक्ष र दर्शकको हेर्ने तरिकामा निकै फेरबदल आइरहेको देखिन्छ ।