४८ टोलीको महायुद्ध : विश्वकप २०२६

भोलिदेखि सुरु हुने फिफा विश्वकपको चर्चा र उत्साह अहिले संसारभर छाएको छ। फुटबल विश्वकै सबैभन्दा लोकप्रिय खेल हो भने विश्वकप यसको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता मानिन्छ। प्रतियोगिताको करिब एक सय वर्ष लामो इतिहासमा पहिलोपटक तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन्। विश्वकप २०२६ को आयोजना मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा गरिरहेका छन्। उद्घाटन खेल ११ जुनमा मेक्सिको सिटीमा हुनेछ भने फाइनल १९ जुलाईमा अमेरिकाको न्यु जर्सीमा खेलाइनेछ।

विश्वकप कसरी खेलाइन्छ ?

विश्वकप प्रत्येक चार वर्षमा आयोजना गरिन्छ। सन् २०२६ को संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो, जसमा ४८ राष्ट्र सहभागी छन्। विश्व वरीयताका आधारमा टोलीहरूलाई चार–चार टोली रहेका १२ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली स्वतः अर्को चरण अर्थात् अन्तिम ३२ मा पुग्नेछन्। एक खेल जित्दा तीन अंक प्राप्त हुन्छ। खेल बराबरी भए दुवै टोलीले एक–एक अंक पाउँछन्। हार्ने टोलीले कुनै अंक प्राप्त गर्दैन। अन्तिम ३२ मा पुग्ने बाँकी टोलीहरू समूह चरणमा तेस्रो स्थानमा रहेर उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू हुनेछन्। यस चरणपछि १६ टोली प्रतियोगिताबाट बाहिरिनेछन्।

खेलको समय कति हुन्छ ?

प्रत्येक खेल ९० मिनेटको हुन्छ, जसलाई ४५–४५ मिनेटका दुई हाफमा विभाजन गरिएको हुन्छ। हाफ टाइम लागि १५ मिनेट समय दिइन्छ। खेलको घडी निरन्तर चलिरहन्छ। चोटपटकको उपचार, खेलमा भएको ढिलाइ तथा गर्मीका कारण दिइने अनिवार्य हाइड्रेसन ब्रेकका कारण खेर गएको समयको क्षतिपूर्ति गर्न हाफ टाइमको अन्त्यमा थप समय दिइन्छ। समूह चरणमा खेल बराबरी भए विजेता निर्धारणका लागि पेनाल्टी प्रहार गराइँदैन। समूह चरणपछि नकआउट चरणमा खेल बराबरी भए ३० मिनेट अतिरिक्त समय खेलाइन्छ। त्यसपछि पनि नतिजा ननिस्किए पेनाल्टीमार्फत विजेता तय गरिन्छ।

आयोजक सहरहरू
मेक्सिकोः
ग्वाडालाहारा
मोन्टेरे
मेक्सिको सिटी

क्यानडाः
टोरन्टो
भ्यानकुभर

संयुक्त राज्य अमेरिका:
एटलान्टा
बोस्टन
डलास
ह्युस्टन
कान्सास सिटी
लस एन्जलस
मियामी
न्युयोर्क/न्यु जर्सी
फिलाडेल्फिया
सान फ्रान्सिस्को
सियाटल

उपाधिका प्रमुख दाबेदार

दुई पटकको विश्वविजेता फ्रान्स र सन् २०१० को विजेता स्पेनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ। फ्रान्ससँग किलियन एम्बाप्पे र उस्मान डेम्बेलेजस्ता उत्कृष्ट खेलाडी छन्, जसले युरोपका प्रमुख क्लब प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका छन्। स्पेनले १८ वर्षीय युवा प्रतिभा लामिन यामलमाथि ठूलो आशा राखेको छ। उनले स्पेनलाई दुई वर्षभित्र दोस्रो ठूलो उपाधि दिलाउन सक्ने विश्वास गरिएको छ। लगातार दुई युरोपेली च्याम्पियनसिपको फाइनलमा पराजित भएको इङ्ग्ल्यान्ड पनि उपाधि दौडमा बलियो दाबेदार मानिएको छ। यस्तै, विश्वकप इतिहासकै सबैभन्दा सफल राष्ट्र ब्राजिललाई पनि उपाधिको प्रमुख प्रतिस्पर्धी मानिएको छ। ब्राजिल आफ्नो छैटौं विश्व उपाधिको खोजीमा छ। उसले पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको थियो।

प्लेयर्स टू वाच

किलियन एम्बाप्पे र लामिन यामल यस विश्वकपका सबैभन्दा रोमाञ्चक खेलाडीमध्ये पर्ने अपेक्षा गरिएको छ। एम्बाप्पे फ्रान्सका लागि तेस्रो विश्वकप खेल्दैछन्। उनले टोलीलाई लगातार दुई विश्वकप फाइनलसम्म पुर्‍याएका थिए। फ्रान्सले सन् २०१८ मा उपाधि जित्यो भने सन् २०२२ मा फाइनलमा पराजित भयो। यामललाई स्पेनको नयाँ पुस्ताको प्रतिनिधि खेलाडी मानिन्छ र उनी भविष्यका सबैभन्दा ठूला फुटबल स्टारमध्ये एक बन्न सक्ने सम्भावना छ।अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोमाथि पनि विशेष नजर रहनेछ। पछिल्ला दुई दशकदेखि उनीहरूको प्रतिस्पर्धाले विश्व फुटबललाई रोमाञ्चक बनाउँदै आएको छ। मेसी जुनको अन्त्यतिर ३९ वर्षका हुनेछन् भने रोनाल्डो ४१ वर्षका छन्। यो उनीहरूको अन्तिम ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्ने अनुमान गरिएको छ। अन्य चर्चित खेलाडीहरूमा ब्राजिलका नेयमार र भिनिसियस जुनियर, इङ्ग्ल्यान्डका जुड बेलिङम, अमेरिकाका क्रिस्टियन पुलिसिच, क्यानडाका अल्फोन्सो डेभिस, दक्षिण कोरियाका सन ह्युङ–मिन, घानाका एन्टोइन सेमेन्यो तथा नर्वेका एर्लिङ हालान्ड रहेका छन्। हालान्डले पछिल्ला चारमध्ये तीन सिजनमा इङ्ग्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गरेका छन्।

पहिलो पटक विश्वकप खेल्ने राष्ट्रहरू

विश्वकपको विस्तारित स्वरूपका कारण केही नयाँ राष्ट्रहरूले पहिलोपटक फुटबलको सबैभन्दा ठूलो मञ्चमा स्थान बनाएका छन्।

कुरासाओ

करिब १ लाख ५६ हजार जनसंख्या भएको कुरासाओ विश्वकपमा छनोट हुने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको छ। यसअघि सन् २०१८ मा आइसल्यान्डले बनाएको कीर्तिमान उसले तोडेको हो।

केप भर्डे

करिब पाँच लाख जनसंख्या भएको केप भर्डे पनि पहिलोपटक विश्वकपमा सहभागी हुँदैछ। यो विश्वकप खेल्ने इतिहासकै तेस्रो सबैभन्दा सानो राष्ट्र हो।

जोर्डन

जोर्डनले हालका वर्षहरूमा उल्लेखनीय सफलता हासिल गर्दै पहिलोपटक विश्वकपमा स्थान बनाएको हो। टोलीका मुख्य प्रशिक्षक जमाल सेलामी मूलतः मोरक्कोका हुन्। टोलीलाई ऐतिहासिक सफलतामा पुर्‍याएको सम्मानस्वरूप जोर्डनका राजा अब्दुल्लाह द्वितीयले उनलाई जोर्डनी नागरिकता प्रदान गरेका थिए।

उज्बेकिस्तान

पहिलोपटक विश्वकपमा पुगेको अर्को राष्ट्र उज्बेकिस्तान हो। टोलीका मुख्य प्रशिक्षक फाबियो कानाभारोसँग विश्वकपको ठूलो अनुभव छ। उनले खेलाडीका रूपमा चार विश्वकप खेलेका थिए र सन् २००६ मा इटालीलाई कप्तानका रूपमा विश्वविजेता बनाएका थिए।

रोचक खेलहरू

फुटबल केवल खेल मात्र होइन, इतिहास र राजनीतिले पनि धेरै खेलहरूलाई विशेष बनाउने गर्छ।

फ्रान्स विरुद्ध सेनेगल (१६ जुन)

यी दुई राष्ट्रबीचको खेल औपनिवेशिक इतिहासको पृष्ठभूमिमा खेलिनेछ। सन् २००२ को विश्वकपमा सेनेगलले तत्कालीन विश्वविजेता फ्रान्सलाई पराजित गरेर ठूलो उलटफेर गरेको थियो।

घाना विरुद्ध इङ्ग्ल्यान्ड (२३ जुन)

पूर्व औपनिवेशिक सम्बन्ध रहेका यी दुई राष्ट्र फिलाडेल्फियामा आमनेसामने हुनेछन्।

इरान विरुद्ध इजिप्ट

सियाटलमा हुने यो खेललाई स्थानीय स्तरमा समलैङ्गिक, उभयलिङ्गी, ट्रान्सजेन्डर तथा यौनिक अल्पसंख्यक समुदायप्रति सम्मान जनाउन “गौरव खेल” नाम दिइएको थियो।तर इरान र इजिप्टका फुटबल महासङ्घहरूले त्यसप्रति औपचारिक आपत्ति जनाएका छन्। दुवै देशमा समलिङ्गी सम्बन्ध कानुनी रूपमा अपराध मानिने भएकाले यस विषयलाई उनीहरूले कसरी सम्बोधन गर्छन् भन्ने कुरा विशेष चासोको विषय बनेको छ। त्यसैगरी, सह–आयोजक अमेरिका र इरानबीचको तनावपूर्ण अवस्थाको पृष्ठभूमिमा पनि इरानको सहभागितालाई नजिकबाट नियालिनेछ।