मेसीको अन्तिम विश्वकप, कति बलियो छ अर्जेन्टिना ?

साविक विजेता अर्जेन्टिना सन् १९६२ पछि लगातार दुई विश्वकप उपाधि जित्ने पहिलो टोली बन्ने लक्ष्यका साथ विश्वकप २०२६ मा उत्रिँदैछ।कतारमा सम्पन्न विश्वकप २०२२ को रोमाञ्चक फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेपछि धेरैले त्यो सफलतालाई लियोनल मेसीको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा ठूलो उपलब्धि मानेका थिए। त्यसपछि उनले सन् २०२६ सम्म आइपुग्दा राष्ट्रिय टोलीबाट सन्यास लिने अपेक्षा गरिएको थियो। तर प्रतियोगिताका क्रममा ३९ वर्ष पुग्ने मेसी अझै मैदानमा छन् र उत्तर अमेरिकामा हुने यस विश्वकपमा फेरि इतिहास दोहोर्‍याउने लक्ष्य राखेका छन्। यद्यपि यो नै उनको अन्तिम विश्वकप हुने लगभग निश्चित छ। तर यसपटक उपाधि जित्नु अघिल्लो संस्करणभन्दा अझ कठिन देखिन्छ। मेसी मात्र होइन, टोलीका अन्य धेरै अनुभवी खेलाडी पनि उमेरको उत्तरार्धमा छन्। यद्यपि अर्जेन्टिनासँग नयाँ पुस्ताका प्रतिभावान खेलाडीहरूको कमी भने छैन।

मेसी अझै कति प्रभावशाली छन् ?

ह्यामस्ट्रिङको सामान्य चोटबाट पूर्ण रूपमा निको भएमा मेसीले जुन १६ मा अल्जेरिया विरुद्धको पहिलो खेलमा अर्जेन्टिनाको कप्तानी गर्नेछन्। इन्टर मियामीका लागि उनले अझै गोल गरिरहेका छन्, तर सन् २०२२ को विश्वकपमा देखिएको प्रभावशाली स्तरमा भने छैनन्। लामो र प्रतिस्पर्धात्मक प्रतियोगितामा उनको खेल समय सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्नेछ। मेसीको सबैभन्दा ठूलो योगदान गोलभन्दा पनि उनको उपस्थिति, नेतृत्व र खेल बुझ्ने क्षमतामा हुन सक्छ। गति र शारीरिक शक्ति केही घटे पनि उनी अझै उत्कृष्ट पास सिर्जना गर्ने तथा स्थिर अवस्थाका प्रहारमा खतरनाक खेलाडी मानिन्छन्। मेसीले सेप्टेम्बर ४ मा भेनेजुएलाविरुद्धको ३–० जित आफ्नो घरेलु भूमिमा खेलेको अन्तिम प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेल भएको बताएका थिए।

अनुभवी र सन्तुलित टोली

अर्जेन्टिनाको वर्तमान टोलीमा कतार विश्वकप जित्ने २६ खेलाडीमध्ये १७ जना समावेश छन्। मेसीको भूमिका सीमित भए पनि टोलीसँग विश्वकप जित्न पर्याप्त अनुभव र गुणस्तर छ। लाउटारो मार्टिनेज अझै उत्कृष्ट अट्याकिङका खेलाडी हुन्। उनले इटालीको शीर्ष डिभिजनमा १७ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार जितेका थिए। उनका सम्भावित साझेदार जुलियन अल्भारेजले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। मिडफिल्डमा एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज र रोड्रिगो डी पाउल जस्ता उच्चस्तरीय खेलाडी छन्। डिफेन्समा निकोलस ओटामेन्डी र क्रिस्टियन रोमेरो जस्ता बलिया डिफेन्डर छन्। गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा असाधारण प्रदर्शनका लागि परिचित छन्, जुन विश्वकपजस्तो प्रतियोगितामा बलियो पक्ष मानिन्छ।

उदाउँदै गरेको नयाँ पुस्ता

अर्जेन्टिनामा नयाँ अट्याकिङ प्रतिभाहरू पनि उदाइरहेका छन्। निको पाजले इटालीको शीर्ष डिभिजनमा प्रभावशाली सिजन बिताएका छन् भने २१ वर्षीय बहुपयोगी खेलाडी भालेन्टिन बार्को पनि टोलीमा परेका छन्। तर प्रशिक्षक लियोनेल स्कालोनीले १८ वर्षीय प्रतिभाशाली फ्रान्को मास्तान्तुओनोलाई टोलीमा नराख्दा धेरै समर्थक अचम्मित भएका थिए। त्यस्तै अलेजान्द्रो गर्नाचो पनि अन्तिम टोलीमा स्थान बनाउन असफल रहे।

स्कालोनीको नेतृत्वमा स्थिरता

अर्जेन्टिनाले विगतमा भावनात्मक र अस्थिर प्रशिक्षकहरूको नेतृत्व भोगेको थियो। तर सन् २०१८ मा अन्तरिम प्रशिक्षकका रूपमा नियुक्त भएका स्कालोनीले टोलीलाई स्थिरता र स्पष्ट पहिचान दिएका छन्। उनी खेलाडीहरूको क्षमता अनुसार रणनीति परिवर्तन गर्न सक्षम छन्। उत्कृष्ट खेलाडी व्यवस्थापन र स्पष्ट रणनीतिका कारण उनले अर्जेन्टिनालाई दुई कोपा अमेरिका र एक विश्वकप जिताएका छन्। विश्वकप छनोटमा अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन गर्दै आफ्नो समूहको शीर्ष स्थान हासिल गरेको थियो। यस क्रममा उसले ब्राजिललाई ४–१ ले पराजित गरेको थियो। यदि स्कालोनीले अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप जिताउन सफल भए भने सन् १९३४ र १९३८ मा इटालीलाई लगातार विश्वविजेता बनाएका भिट्टोरियो पोज्जो पछि यस्तो उपलब्धि हासिल गर्ने पहिलो प्रशिक्षक बन्नेछन्।

समूह अवस्था

‘अन पेपर’ कुरा गर्दा समूह ‘जे’ अर्जेन्टिनाका लागि अपेक्षाकृत सहज देखिन्छ। तर कतार विश्वकपमा साउदी अरेबियासँग समूह चरणमै हार बेहोरेको अनुभवले अर्जेन्टिनालाई सतर्क बनाएको छ। विश्व वरीयताको २८औँ स्थानमा रहेको अल्जेरिया पहिलो खेलमा कठिन चुनौती बन्न सक्छ। २४औँ स्थानको अस्ट्रिया पनि कमजोर प्रतिद्वन्द्वी भने होइन। पहिलोपटक विश्वकप खेलिरहेको जोर्डन समूहको सबैभन्दा कमजोर टोली मानिए पनि अर्जेन्टिनाले सहज रूपमा लिन सक्ने अवस्था छैन।

विश्वकपमा अर्जेन्टिनाः
विश्वकप सहभागिताः १८ पटक
उत्कृष्ट उपलब्धिः विश्वविजेता (१९७८, १९८६, २०२२)
पहिलो सहभागिताः १९३० (उरुग्वे)
विश्वकपमा सर्वाधिक गोलः लियोनल मेसी (१३)
विश्वकपमा सर्वाधिक खेलः लियोनल मेसी (२६)
प्लेयर्स टू वाचः लियोनल मेसी
विश्व वरीयताः तेस्रो