कथा सुरु हुन्छ एक बिरामी बालकबाट ! एउटा बिरामी बालक, जसले रोगलाई हरायो, आलोचनालाई हरायो र अन्ततः संसार जित्यो ! म त्यही बालकको कारुणिक, सत्य र अमर कथा भन्दै छु । फुटबलमा केही यस्ता देशहरू पनि हुन्छन्, जसलाई उनीहरूको भूगोल र सीमाहरू भुलेर समर्थन गरिन्छ । समर्थन मात्रै कहाँ हो र ? महसुस गरिन्छ-लियोनेल मेस्सीको अर्जेन्टिना एउटा त्यस्तै देश हो ।

रोजारियो शहरको एउटा सानो घरबाट सुरु भएर विश्व फुटबलको शिखरसम्म पुगेको एउटा बिरामी तर असाधारण बालकको कथा हो यो । एउटा यस्तो बालक, जसको शरीरले उसको सफलता जत्तिकै छिटो उचाइ चुम्न मानेन । जसले रोगसँग लड्यो । घर छोड्ने पीडासँग लड्यो । आलोचनासँग लड्यो । तिरस्कार र असफलतासँग लड्यो । र अन्ततः संसारै जित्यो । त्यो बालक थियो- लियोनेल आन्द्रेस मेस्सी !
रोजारियोदेखि क्याटालोनियासम्म : एउटा सपनाको बीजारोपण
सन् १९८७ मा अर्जेन्टिनाको रोजारियो शहरमा जन्मिएका मेस्सीको बाल्यकाल कुनै परीकथा भन्दा कम थिएन । फुटबल उनको पहिलो प्रेम थियो तर जीवनले उनलाई सुरुमै एउटा कठिन परीक्षा लियो । सानै उमेरमा उनलाई ग्रोथ हर्मोन डेफिसियन्सी भएको पत्ता लाग्यो । शारीरिक विकास सामान्य रूपमा भइरहेको थिएन । उपचार महङ्गो थियो । परिवारको आर्थिक अवस्था कमजोर थियो । परिवारसँग एउटा विशाल सपना त थियो तर त्यहाँसम्म पुग्ने बाटो साँघुरिँदै गइरहेको थियो । धेरै बालबालिकाका सपनाहरू सायद यस्तै मोडमा आएर टुङ्गिन्छन् तर मेस्सीको सपना रोकिएन ।

१३ वर्षको उमेरमा उनी स्पेन पुगे । आफ्नो शहर, आफ्ना साथीहरू, आफ्नो भाषा र आफ्नो परिवेश सारा पछाडि छोडेर उनी क्याटालोनिया सहर आइपुगे । बार्सिलोनाले उनको प्रतिभा देख्यो । उपचारको जिम्मा लियो । एउटा यस्तो अवसर सिर्जना गरिदियो-जसले आधुनिक विश्व फुटबलको इतिहास नै परिवर्तन गरिदियो । त्यो उमेरमा घर छोड्नु सजिलो थिएन । त्यो भौगोलिक र भावनात्मक दुबै हिसाबले कठिन थियो । एउटा किशोरले आफ्नो बाल्यकाल त्यागेर भविष्य रोजेको थियो । परिवारले पनि उक्त जोखिम उठायो । त्यतिबेला कसैले कल्पना पनि गरेको थिएन कि यही बिरामी बालकले एकदिन फुटबलका लगभग सबै सम्भावित कीर्तिमानहरू आफ्नो नाममा लेखाउनेछ । आज भयो पनि त्यस्तै ।
क्लव बार्सिलोना : मेस्सीप्रेरित स्वर्णयुग
क्याटालोनियामा पाइला टेकेको त्यो बिरामी किशोर केही वर्षमै विश्व फुटबलको केन्द्र बन्न पुग्यो । जाभी, इनिएस्टा, बुस्केट्स, पुइयोल र पछि नेयमार तथा सुआरेजजस्ता असाधारण खेलाडीहरूको बीचमा मेस्सीले आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाए । उनी केवल गोलकर्ता मात्रै थिएनन् । केवल प्लेमेकर पनि थिएनन् । उनी खेललाई आफ्नो इच्छाअनुसार मोड्न सक्ने दुर्लभ कलाकार थिए । सायद् उनीसँग केही दुर्लभ क्षमता थियो । त्यसैले त उनी समयक्रममा असाधारण कहलिए । जब बल उनको खुट्टामा हुन्छ-बस् समय रोकिएजस्तो लाग्छ । विपक्षीहरू उनको अगाडि पर्खालझैँ देखिन्छन तर केही क्षणमै ती पर्खालहरू भत्किइसकेका हुन्छन् । अरू खेलाडीहरू दौडिरहेका हुन्छन्, मेस्सी सोचिरहेका र त्यो सोचाइ प्रायः विपक्षीहरूको कल्पनाभन्दा धेरै पर पुगिसकेको हुन्छ । हामीले वर्षौदेखि मैदानमा देखिरहेको जादु हो यो ।
बार्सिलोनाका लागि उनले दर्जनौँ उपाधिहरू जिताए । ला लिगा । कोपा डेल रे । युइएफए च्याम्पियन्स लिग । क्लव विश्वकप जस्ता फुटबल इतिहासका सबैभन्दा गौरवशाली रातहरूका मुख्य नायक थिए मेस्सी । क्याटालोनियामा उनले केवल ट्रफी मात्रै जितेनन्-आफ्नो सम्पूर्ण उर्जाशील समय खर्चिए । आफ्नो प्रतिभाको प्रत्येक थोपा पसिनामा परिणत गरे । समर्थकहरूका लागि मेस्सी र बार्सिलोना अलग-अलग नाम रहेनन् । ती एकअर्काका पर्याय बने । तर संसारका सबैभन्दा सुन्दर प्रेमकथाहरूमा पनि कहिलेकाहीँ पीडादायी अध्याय आउँछन् । बिछोडहरू हुन्छन् । त्यस्तै वियोगान्त कथा बन्यो मेस्सी र बार्सिलोनाको ।

सन् २०२१ मा आर्थिक र प्रशासनिक जटिलताका कारण मेस्सी बार्सिलोना छोड्न बाध्य भए । पत्रकार सम्मेलनमा रोइरहेका मेस्सी र आँसु पुछिरहेका समर्थकहरूको त्यो दृश्य फुटबल इतिहासकै सबैभन्दा मार्मिक बिदाइहरूमध्ये एक हो । दुई पक्ष छुट्टिन चाहँदैनथे तर परिस्थितिले छुट्टिन बाध्य बनायो । म स्वयम् उक्त वियोगान्त क्षणको भर्चुअल साक्षी हुँ । त्यसपछि उनी फ्रान्स पुगे । पेरिस सेन्ट-जर्मेनमा पनि उनले सफलता हासिल गरे । लिग उपाधिहरू जिते । आलोचनाकाबीच पनि आफ्नो दबदबा कायम राखे तर उनको अर्को गन्तव्य अझ रोचक बन्यो । अमेरिकाको सकर लिग क्लव इन्टर मियामी ।
इन्टर मियामीमा पुगेपछि उनले केवल एउटा क्लवलाई सफल मात्रै बनाएनन् । क्लवको पहिचान नै बदलिदिए । उनले अमेरिकी फुटबललाई विश्व फुटबलको मुख्य बहसमा ल्याइदिए । आकर्षणको केन्द्रमा ताने । भरिन सङ्घर्ष गरिरहेका रङ्गशालाहरू भरिन थाले । विश्व मिडियाको ध्यान अमेरिकी फुटबलतर्फ मोडियो । एक खेलाडीले फेरि एकपटक प्रमाणित गरे, मेस्सी महानता । मेस्सी जहाँ पुग्छ, खेलको अर्थ र परिभाषा नै बदलिन्छ । तर, क्लव फुटबलमा जति सफल भए पनि उनको जीवनको सबैभन्दा कठिन परीक्षा अझै बाँकी थियो । त्यो परीक्षा थियो- अर्जेन्टिनाका लागि ।
आंशिक सफलता त थियो तर पूर्णता थिएन । वर्षौंदेखि उपाधीको मृगतृष्णा बोकेर संसारभरिका फुटबल समर्थक बाँचेको धेरै भैसकेको थियो । बार्सिलोनामार्फत क्लव फुटबलका लागि उनले लगभग सबै कुरा जितिसकेका थिए । संसारका सर्वश्रेष्ठ खेलाडीका रूपमा स्थापित भइसकेका थिए । सबै खेलाडीलाई पछि पार्दै ८ पटक बालोन डि’ओर जित्ने दुर्लभ कीर्तिमान पनि आफ्नो नाममा लेखाए तर पनि यी सबै विषय उनका लागि नयाँ होइनन्, साधारण थिए । किनकि, अर्जेन्टिनाभित्र मात्रै होइन, संसारभर सधैँ एउटा प्रश्न निरन्तर दोहोरिइरहेको थियो-आखिर देशका लागि कहिले ?

म्याराडोनाको देशमा महानताको मापन राष्ट्रिय टोलीको प्रदर्शन र त्यसको नतिजाले गर्छ । त्यहाँ क्लव फुटबलका उपलब्धिहरूलाई सम्मान त गरिन्छ तर अमरताको अन्तिम मुकुट चाहिँ राष्ट्रिय टोलीको सफलताले मात्र पहिराउँछ । मेस्सीले निरन्तर प्रयास गरिरहे । सन् २०१४ को विश्वकपमा उनले अर्जेन्टिनालाई फाइनलसम्म पुर्याए । पूरा राष्ट्रले सपना देख्न थालेको थियो तर जर्मनीविरुद्धको फाइनलमा मारियो गोट्जेको गोलले अर्जेन्टिनाको सपना चकनाचुर बनाइदियो । तर, पीडा त्यतिमै रोकिएन ।
सन् २०१५ को कोपा अमेरिका फाइनल । फाइनलमा पराजय । सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियो फाइनल । अनि, फेरि पराजय । लगातार तीन ठूला फाइनल गुमाइसकेपछि आलोचनाको आँधी नै चल्यो । संसारका सबैभन्दा महान खेलाडी आफ्नै देशमा कठघरामा उभ्याइए । उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाइयो । देशप्रेममाथि प्रश्न उठाइयो । कतै उनका प्रतिमाहरू भत्काइए । कतै जर्सीहरू जलाइए । नाराबाजी र सार्वजनिक अपमानहरू भए ।
आज ती दृश्यहरू सम्झँदा अन्यायपूर्ण र अप्रिय लाग्छन् । किनकि, मेस्सी असफल भएका थिएनन्, उनी केवल अपूर्ण मात्रै थिए तर समर्थकहरूको पीडा पनि वास्तविक थियो । म्याराडोना कालपछि अर्जेन्टिनाको विश्वकपको प्रतीक्षा धेरै लामो भइसकेको थियो । अन्ततः २०१६ को कोपा अमेरिका फाइनलपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट अप्रत्याशित सन्यासको घोषणा गरे । त्यो क्षण फुटबल संसारका लागि स्तब्ध बनाउने समाचार थियो । विश्व फुटबलको सबैभन्दा चम्किलो तारा आफ्नै देशको निराशाको भारी बोकेर मैदानबाट बाहिरिँदै थियो ।
कहिलेकाहीँ इतिहासले अन्त्य स्वीकार्दैन !
अर्जेन्टाइनहरूले पनि त्यसै गरे-आफ्नो सपूतलाई पुनः राष्ट्रिय टोलीमा फर्कायो अर्जेन्टिनाले । देशभरिबाट एउटै आवाज उठ्यो- फेरि फर्क । मेस्सी ! पूर्व खेलाडीहरूले आग्रह गरे । समर्थकहरूले आग्रह गरे । राष्ट्रपतिले व्यक्तिगत रूपमा सम्पर्क गरेर पुनर्विचार गर्न अनुरोध नै गरे । अर्जेन्टिनाले आफ्नो सबैभन्दा प्रिय पुत्रलाई सजाय होइन, अर्को अवसर दिन चाह्यो र अन्ततः मेस्सी फर्किए । तर, यो पुरानो मेस्सीको पुनरागमन थिएन, यो एउटा परिपक्व नायकको पुनरागमन थियो । जसले अब आफूलाई पुनः प्रमाणित गर्न होइन, आफ्नो राष्ट्रको सपना पूरा गर्न फर्किएको थियो ।

स्कालोनी, मेस्सी र एउटा परिवार
महान् कथाहरू सजिलै लेखिँदैनन् । महान् सफलताहरू केवल महान् खेलाडीहरूले मात्र सम्भव बनाउँदैनन् । त्यसका लागि रणनीति, नेतृत्व, वातावरण, विश्वास र सामूहिक प्रयत्न पनि आवश्यक पर्छ । लियोनेल स्कालोनीले अर्जेन्टिनालाई त्यही दिए । उनले टोली निर्माण गरे तर त्यो टोली केवल खेलाडीहरूको समूह मात्रै थिएन । त्यो एउटा परिवार पनि थियो । एन्जेल डी मारिया, रोड्रिगो डे पउल, इमिलियानो मार्टिनेज, जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टरलगायतका खेलाडीहरूले मेस्सीको वरिपरि एउटा साझा सपना बुने । अझ भनौं, मेस्सीका लागि, मेस्सी मार्फत अर्जेन्टिनाका लागि सपना देख्न थाले ।
त्यहाँ व्यक्तिगत महत्त्वाकाङ्क्षा थिएन, अहङ्कार थिएन । न त कुनै होडबाजी नै । त्यहाँ केवल एउटा साझा लक्ष्य थियो । मेस्सीको सपना । अर्थात्, अर्जेन्टिनाको सपना । अन्ततः सपना साकार भयो, मेस्सीले न्याय पाए, अर्जेन्टिनाले उपाधी । सन् २०२१ मा ब्राजिलको माराकाना रङ्गशालामा अर्जेन्टिना कोपा अमेरिका फाइनल खेल्दै थियो । विपक्षी थियो-पाँच पटकको विश्वविजेता ब्राजिल ! चरम दबाब थियो । इतिहासको भार उस्तै । तर, त्यो रात मेस्सीको नायकत्वमा रहेको अर्जेन्टिनाले एन्जेल डी मारियाको गोलमा ब्राजिलविरुद्ध विजय हासिल गर्यो । २८ वर्ष लामो उपाधी खडेरी समाप्त भयो ।
मेस्सीका आँखाबाट झरेका आँसु केवल खुसीका थिएनन् । त्यो वर्षौँको पीडाको विसर्जन थियो । त्यो आलोचनामाथिको विजय थियो । त्यो लामो धैर्यताको परिणाम थियो । सङ्कल्पले विजय प्राप्त गरेको क्षण थियो । त्यसपछि फिनालिसिमामा इटालीमाथि अर्जेन्टिनाले जीत निकाल्यो । अर्जेन्टिनाले फेरि विश्व फुटबललाई सन्देश दियो, यो टोली केवल मेस्सीको टोली मात्रै होइन, यो विजेताहरूको टोली पनि हो । तर, नियतिले अझ ठूलो पुरस्कार बाँकी नै राखेको रहेछ ।

कतार : जहाँ कथा पूर्ण भयो
सन् २०२२, कतार विश्वकप । साउदी अरेबियासँगको पहिलो खेलमा अप्रत्याशित हारपछि धेरैले अर्जेन्टिनाको यात्रा लगभग समाप्त भएको घोषणा गरिसकेका थिए तर महान् कथाहरू सहज बाटोमा लेखिँदैनन् । त्यसपछि अर्जेन्टिनाले प्रत्येक खेल निर्णायक खेलझैँ खेल्यो । मेक्सिकोविरुद्ध सङ्घर्ष गर्यो । पोल्यान्डविरुद्ध नियन्त्रण जमायो । अष्ट्रेलियाविरुद्ध धैर्यता राख्यो । नेदरल्यान्ड्सविरुद्ध आक्रामक चरित्र प्रदर्शन गर्यो । क्रोएसियाविरुद्ध उत्कृष्टता देखायो र अन्ततः फ्रान्सविरुद्ध विजयी हासिल हासिल गर्दै अमरता प्राप्त गर्यो । लुसेल रङ्गशालाको त्यो रात फुटबल इतिहासको सबैभन्दा महान् फाइनलहरूमध्ये एक बन्यो । अतिरिक्त समय, पुनरागमन, पेनाल्टी सुटआउट र त्यसपछि-मेस्सीको हातमा विश्वकप ट्रफी ।
त्यो क्षण केवल एउटा खेलाडीले उपाधि जितेको क्षण मात्रै थिएन । त्यो त एउटा युगले आफ्नो पूर्णता प्राप्त गरेको क्षण थियो ।आखिर मेस्सी किन महान छन् ? केवल ट्रफीका कारण ? गोल र गोलका लागि गरेको असिस्टका कारण ? बालोन डी ओरका कारण ? कोपा या विश्वकप विजेताका कारण ? यसको जवाफ यतिमा सीमित गरेर हेरियो भने भेटिँदैन । मेस्सी त यसकारण महान् छन्, कि सफलता उनको टाउकोमा कहिल्यै चढेनन् । उनी संसारकै सबैभन्दा सफल खेलाडी बने तर विनम्रता कहिल्यै गुमाएनन् । उनले व्यक्तिगत उपलब्धिभन्दा टोलीको सफलतालाई माथि राखे । उनी प्रचारभन्दा प्रदर्शनमा विश्वास गर्थे । विवादभन्दा काममा विश्वास गर्थे । शब्दभन्दा खेलमार्फत् उत्तर दिन रुचाउँथे । सायद यसैले उनलाई सफल बनायो, सर्वाधिक सफल । सायद् यही कारणले गर्दा उनलाई मन पराउनेहरू केवल अर्जेन्टिनी समर्थकहरू मात्र छैनन् । संसारभरका करोडौँ फुटबलप्रेमीले उनलाई आफ्नो आदर्श मान्छन् ।

फुटबलको एउटा युग अन्तिम अध्यायतर्फ
समय कसैका लागि रोकिँदैन । सायद मेस्सीका लागि पनि । हुन त यो समय मेस्सीलाई भन्दा हामीलाई धेरै खड्किरहेको छ । किनकि, मेस्सी फुटबलका लागि होइन, फुटबलका लागि मेस्सी लत बनेको छ । सम्भवतः यही नै उनको अन्तिम विश्वकप हुनेछ । हामीले अन्तिम पटक उनलाई विश्वमञ्चमा देख्न पाउनेछौं । महानतम खेलाडीहरू पनि एकदिन मैदानबाट बाहिरिनै पर्छ ! यो शाश्वत सत्य हामीले बुझ्नैपर्छ । तर, मनको भाषा कहिलेकाहीँ मस्तिष्कले नबुझ्ने रहेछ ।
केही खेलाडीहरू खेल छोडेर पनि इतिहास छोड्दैनन् ! मेस्सी त्यही नाम हुनुपर्छ । कुनै दिन लियोनेल मेस्सीले अन्तिमपटक आफ्नो जर्सी फुकाल्नेछन् । स्टेडियमका बत्तीहरू निभ्नेछन् । समर्थकहरू घर फर्किनेछन् । विश्वकपहरू फेरि खेलिनेछन् । नयाँ नायकहरू जन्मिनेछन् । नयाँ कीर्तिमानहरू पनि बन्नेछन् तर इतिहासका केही कथाहरू भने समयसँगै पुराना हुँदैनन् । त्यस्तै सजीव कथा बन्नेछ-महान् फुटबलर लियोनेल मेस्सी ।
रोजारियोको त्यो सानो बिरामी केटो, जसको शरीरले उसको सपनालाई साथ दिन आनाकानी गरिरहेको थियो, जसलाई कहिलेकाहीँ आफ्नै मैदान र आफ्ना दर्शकले अस्वीकार गरे, जसले संसार जीतेपछि पनि विनम्रता गुमाएन, त्यो कथा कसरी पुरानो हुनसक्छ ? अहं, हुँदैन । बरु पुस्तौँसम्म सुनाइनेछ । किनकि, लियोनेल मेस्सी एउटा महान् फुटबलरभन्दा माथिको पहिचान कमाएका व्यक्तित्व हुन् । धेरैले भन्छन्-मेस्सीको प्रतिभा ईश्वरको वरदान हो तर म त्यो मान्न तयार छैन । मेस्सीको अमरता लामो सङ्घर्ष, धैर्यता र असल चरित्रले प्राप्त गरेको हो । त्यसैले मेस्सी केवल फुटबलर होइनन्, उनी एउटा भावना हुन् । उनी एउटा प्रेरणा हुन् र सिङ्गो एउटा युगयुगहरू समाप्त भए पनि तिनका कथाहरू कहिल्यै मर्दैनन् । सधैँ बाँचिरहन्छन् ।

सायद यसपटक, फुटबलको अर्को सुन्दर अध्याय संसारलाई सुम्पेर मेस्सीले विश्राम लिनेछन् तर उनको यात्रा त्यहीँ समाप्त हुने छैन । बरु त्यसपछि सुरु हुनेछ-एउटा अमर कथाको अर्को अध्याय, जसलाई पुस्तौँसम्म सुनाइनेछ र सम्झिइनेछ । एउटा बिरामी बालकको कथा, जसले रोग, सीमितता, अभाव र अनिश्चिततामाथि विजय हासिल गर्दै शून्यदेखि शिखरसम्मको अद्भुत यात्रा तय गर्यो । एउटा यस्तो कथा, जहाँ प्रतिभालाई आत्मविश्वासले उचाइ दियो, संघर्षलाई अनुशासनले अर्थ दियो र सपनालाई अथक परिश्रमले यथार्थमा रूपान्तरण गर्यो ।
फुटबलले भविष्यमा थुप्रै महान् खेलाडीहरू जन्माउला । नयाँ कीर्तिमानहरू पनि बन्लान् । केही पात्रहरू यस्ता हुन्छन्, जो केवल उपाधि र तथ्याङ्कले होइन, भावना र श्रद्धाले मापन गरिन्छन् । मेस्सी त्यस्तै दुर्लभ नाम हुन्-जसले केवल खेल मात्रै जितेनन्, करोडौँ हृदय जीते, केवल इतिहासमा आफ्नो नाम लेखेनन्, बरु आफै एउटा जीवित इतिहास बने । अन्त्यमा, युगौँसम्म जब फुटबलका सबैभन्दा सुन्दर कथाहरूको खोजी हुनेछ, त्यहाँ भेटिनेछ-एउटा बिरामी बालक, अर्थात्, लियोनेल मेस्सीको शून्यदेखि शिखरसम्म नामक स्वर्ण अक्षरमा लेखिएको एउटा अमर र सुन्दर कथा !



