पाँच पटकको विश्वविजेता ब्राजिलले पिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो । छैटौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो । फिफा विश्वकपमा ८ वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन । यसअघि सन् २०१८ मा पनि ब्राजिल पहिलो खेलमा स्विटजरल्यान्डसँग १-१ को बराबरी खेलेको थियो ।

यद्यपी ब्राजिलले विश्वकपको पहिलो खेलमा अपराजित यात्रालाई भने २१ खेलसम्म लम्ब्याएको छ । सन् १९३४ मा भएको दोस्रो संस्करणमा ब्राजिल पहिलो खेलमै स्पेनसँग पराजित भएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा खेलेको पहिलो खेलमा १७ खेल जितेको भने ४ खेल बराबरीमा सकिएको छ ।अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा दुवै टिमले पहिलो हाफमै गोल गरेका थिए । इस्माइल साइबारीले २१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ब्राजिलले ३२औं मिनेटमा बराबरी गोल फर्कायो । भिनिसियस जुनियरले ब्रुनो गुमाइरेसबाट प्राप्त पासमा मोरक्कोका डिफेण्डरहरुलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए ।



