घोडामा पर्यटक डुलाउने आशा

– प्रकाश बराल

बिहान ५ बज्दै थियो। नजिकैको होमस्टेमा बसेका पर्यटकले बुकीपाटन घुम्न घोडा चाहिएको भन्दै फोन गरे। ढोरपाटन नगरपालिका–७ की २६ वर्षीया आशा विक हतारिँदै उठिन्। घोडालाई चना र उसिनेको मकै खुवाइन्, पानी दिइन्। फापरको रोटी, आलुको तरकारी र एक बोतल पानी झोलामा राखिन्। बिहान ६ बज्न नपाउँदै घोडा तयार पारेर उनी पर्यटक लिन होमस्टेतर्फ लागिन्। दिनभर पर्यटकलाई घोडामा राखेर बुकी घुमाउनुपर्ने भएकाले उनले बाबु पानबहादुरलाई खबर गरिन्। छिमेकी भूमिराज विक, मैतराम विक र टेककुमार विकसँगै उनी पाखाथर सामुदायिक होमस्टे पुगिन्। त्यहाँबाट पर्यटकलाई घोडामा चढाएर टोली बुकीपाटनतर्फ लाग्यो।

ढोरपाटनका ५० भन्दा बढी घोडामा पर्यटक डुलाउने व्यवसायीमध्ये आशा एक्ली महिला हुन्। ढोरपाटन नगरपालिका–७ स्थित ज्ञानोदय माविबाट एसईई र उत्तरगंगा माविबाट कक्षा १२ उत्तीर्ण गरेकी उनले जागिरको बाटो रोजिनन्। बरु बाबुबाजेकै पेसालाई निरन्तरता दिने निर्णय गरिन्। पछिल्लो ६ वर्षदेखि उनी घोडामा पर्यटक राखेर बुकीपाटन, निसेलढोर, जलजला र ढोरपाटन उपत्यका घुमाउँदै आएकी छन्। ४ वर्षअघि ६० हजार रुपैयाँमा किनेको उनको सेतो घोडा अहिले करिब ८० हजार रुपैयाँ पर्छ। घोडा किन्न उनले छिमेकी होटल व्यवसायीसँग ऋण लिएकी थिइन्। त्यही ऋण तिर्न दैनिक घोडाचढी गर्नुपरेको उनी सम्झिन्छिन्। अहिले ऋण चुक्ता गरेर घोडा आफ्नै बनाइसकेकी छन्।

नजिकका गन्तव्य घुमाउनेदेखि बुकीपाटन, गार्पा र टिकाधारासम्म लैजाने पर्यटकको माग अनुसार उनी कहिले एक्लै त कहिले अन्य घोडाचढीसँग टोली बनाएर यात्रामा निस्किन्छिन्। केही पर्यटकले अघिल्लो दिन नै सम्पर्क गरेर तयारी अवस्थामा रहन आग्रह गर्छन् भने कतिपयले बिहानै योजना बनाउँछन्। पर्यटकको चाहना अनुसार ढोरपाटन उपत्यका, निसेलढोर, जलजला वा बुकीपाटनमध्ये गन्तव्य तय हुन्छ। ढोरपाटन उपत्यकाबाट उकालो चढेपछि पुगिने बुकीपाटन ढोरपाटन क्षेत्रकै लोकप्रिय गन्तव्य हो। ढोरपाटन उपत्यकासम्म मात्रै सडक पुगेको छ। त्यसपछि सिकार आरक्षभित्र पैदलमार्ग मात्रै छन्। स्थानीयले यही बाटो हुँदै भेडाबाख्रा र चौपाया चरनका लागि बुकी लैजान्छन्।

करिब ४ हजार मिटर उचाइमा रहेको बुकीपाटनसम्म पैदल पुग्न कठिन हुने र धेरैलाई लेक लाग्ने जोखिम हुने भएकाले अधिकांश पर्यटक घोडाकै सहारा लिन्छन्। बिहान ६ बजे यात्रा सुरु गरेपछि राति अबेर मात्रै फर्किन सकिन्छ। त्यसैले आशाले आफ्ना झोलामा नुन, अदुवा र टिमुरको अचार वा धुलो चटनी पनि राख्ने गरेकी छन्। ‘लेक लागेमा पर्यटकलाई यही खान दिन्छु,’ उनले भनिन्। यस्तो उपाय उनलाई छिमेकी भूमिराज विकले सिकाएका हुन्। बुकीपाटनसम्मको घोडा सवारीको शुल्क ४ हजार ५ सय रुपैयाँ तोकिए पनि प्रायः ४ हजार रुपैयाँमै सेवा दिने गरिएको छ। सिकार आरक्ष कार्यालय र विमानस्थल वरपर घुम्न २ सय रुपैयाँ, ढोरपाटन उपत्यका वरिपरि घुम्न १ हजार र निसेलढोरसम्म जान १ हजार ५ सय रुपैयाँ लाग्छ।

‘घोडा चढ्ने धेरैजसो पर्यटक टिकटक र भिडियो बनाउन चाहनुहुन्छ,’ आशाले भनिन्, ‘उहाँहरूले चाहेको ठाउँमा लगिदिने, फोटो र भिडियो खिचिदिने काम पनि गर्छौं।’ उनका अनुसार बुकीपाटन जाने अधिकांश पर्यटक साहसिक यात्रा रुचाउने हुन्छन्। बुर्तिवाङ–ढोरपाटन सडक खुलेपछि यहाँ पर्यटकको संख्या बढ्न थालेको हो। सडक विस्तारसँगै पर्यटक बढेको ढोरपाटन सिकार आरक्षको तथ्यांकले देखाउँछ। यसअघि सडक नपुग्दा ढोरपाटन पुग्ने सबै यात्रु घोडामै यात्रा गर्थे। पछिल्लो आठ वर्षदेखि घोडाचढी व्यवसाय व्यवस्थित रूपमा सञ्चालन हुन थालेको हो। नगरपालिकामा दर्ता भएर व्यवसाय सञ्चालन गर्ने घोडाचढीहरूले करसमेत तिर्न थालेका छन्। अहिले वर्षातमा सडक अवरुद्ध हुँदा, जनैपूर्णिमाको ढोरबराह मेलाका बेला तथा आलु ढुवानी गर्न पनि घोडाकै प्रयोग हुन्छ। कुनै समय पाल्पा, रिडी, तम्घास र बुटवलबाट दैनिक उपभोग्य सामग्री घोडामै बोकेर ढोरपाटन ल्याइन्थ्यो। ‘पहिले सामान बोक्न घोडाको भर पर्थ्यो, अहिले गाडीले गाउँमै ल्याइदिन्छ,’ स्थानीय चकबहादुर अदैले भने, ‘अब घोडा मुख्यतः पर्यटक घुमाउने र मनोरञ्जनका लागि प्रयोग हुन्छ।’