पुलिसले जित्यो दमक गोल्डकप

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले हराउँदै नेपाल पुलिस क्लबले दमक गोल्डकपको उपाधि जितेको छ । पुलिसको जितमा  खेलको ८८ औं मिनेटमा हेडिङमार्फत रेजिन सुब्बाले गरेको गोल निणार्यक बनेको हो । गएको हप्ता माइभ्याली गोल्डकपको फाइनलमा थ्रीस्टारसँग पराजित भएको मनाङ वर्षको दोस्रो फाइनलमा पनि स्तब्ध भयो । पुलिसको यो वर्षको पहिलो उपाधि हो । उपाधिसँगै पुलिसले १३ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ ।मनाङ त्रिभुवन आर्मी क्लबलाई टाइब्रकेरमा र पुलिसले एपिएफलाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए ।

पुलिसका अभिषेक रिजाल फाइनलको म्यान अफ दी म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे । पुलिसकै सन्तोष हेम्जन उत्कृष्ट रक्षक, मनाङका सुजन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र फाइनलका निर्णायक गोलकर्ता रेजिन सुब्बा उत्कृष्ट फरवार्ड घोाषित भए । पुलिसका अनन्त थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले समान २५ हजार रुपैयाँ प्राप्त गरे । त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी अलावाले र एपिएफका हरी कार्की संयुक्त रुपमा उच्च गोलकर्ता रहे । समान ३ गोल गरेका उनीहरुले जनही २५ हजार रुपैयाँ पाए । नेपाली राष्ट्रिय टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले टिभिएसको अपाचे १६० सीसीको बाइक प्राप्त गरेका छन् । दमक नगरपालिकाको आयोजनामा बैशाख १९ गते सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले विजेता, उपविजेता टोलीका खेलाडगीलाई पुरस्कृत गरे  ।

         किरण चेम्जोङ सर्वोत्कृष्ट खेलाडी