“छक्कापञ्जा” ३ को छायाँकन’ प्रारम्भ

“छक्कापञ्जा” ३  को छायाँकन’ प्रारम्भ भएको छ । २ वटा सिक्वेल ब्लकबस्टर  भएपछि  चलचित्र ‘छक्का  पन्जा’को  टिमले तेश्रो  सिक्वेलको छायांकन सुरु गरेको छ । बैशाख २८ गते बिहान भक्तपुरस्थित  सुर्यविनायक  मन्दिरमा पुजाआजा  गर्दै सोही ठाउँको वरपरबाट छायाँकन सुरु गरिएको  हो ।

मुर्हतमा बरिष्ठकलाकार हरिवंश आचार्यले टिमलाई फिल्म सफल होस् भन्दै आशिष दिए । निर्देशक दीपाश्री निरौलाले यसपटक पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरिन् ।छायाँकन राजधानी आसपास सहित चित्लाङ, दमौली र बाग्लुङमा गरिने , ४५ दिनमा सुटिङ सक्ने योजना बनाएका छौं, यसपटक लोकेशनमा विविधता खोजिएको छ, तेश्रो पटक निर्देशनमा उत्रिएकी दीपाश्रीले भनिन्, दर्शकले चुनौती थपिदिनु भएको छ ।

टिम मिलेर राम्रो चलचित्र बनाउने प्रयास गर्छौं । यता अभिनेता, लेखक तथा निर्माता दिपकराज गिरीले छक्कापञ्जा ३ मा अभिनेत्री दीपिका प्रसाईंको आगमन बारे प्रष्ट्याए । कथाले मागेपछि हाम्रो टिममा दीपिकाको आगमन भएको हो, दीपकले भने, दर्शकले पनि छक्का पञ्जामा नयाँ जोडी हेर्न चाहिरहनु भएको थियो । चलचित्रमा जीतु नेपाल र केदार प्रसाद घिमिरे कार्यकारी निर्माताको रुपमा छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाँइ, दीपेन्द्र खनियाँ, केशव न्यौपाने निर्माताको रुपमा छन् । चलचित्रमा दिपकराज गिरी,  जीतु नेपाल, केदार घिमिरे, वुद्दि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग कुँवर, शिशिर राणा, शिशिर वाग्देल, शारदा गिरी, बसन्त भट्ट, पुष्पल  खड्का र प्रियंका कार्कीको मुख्य भूमिका छ ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको चलचित्रमा  डेविड शंकर, बिन्दु परियार, विक्रम राई, रामचन्द्र काफ्ले र जुनु रिजालको आवाज रहनेछ।  कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको संवाद, दीपकराज गिरीको कथा छ ।आमा सरस्वती मुभिजको प्रालिको ब्यानरमा आई एम इको प्रस्तुतीमा यो चलचित्र निर्माण हुँदैछ । यो चलचित्र असोज ३० गतेबाट रिलिज हुनेछ ।