दिवंगत फुटबलर मणि शाहको पशुपति आर्यघाटमा अन्त्योष्टि 

नेपाली फुटबलले अहिलेसम्म पाएका मध्ये सबैभन्दा छरिता स्ट्राइकर मणि विक्रम शाहको असमायिक निधनले नेपाली खेलकुद नै स्तब्ध बनेको छ । उनको पार्थिव शरीरलाई सम्मानसहित अन्तिम श्रद्धाञ्जली दिन मंगलबार बिहान १० देखि १२ बजेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको थियो ।

उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंकस्कार गरिएको छ । उनको श्रीमती र छोरी छन् । मंगलबार बिहान आयोजित श्राद्धाञ्जली सभामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले  शाहको पार्थिव शरीरमा राष्ट्रिय भण्डा ओडाएर  सम्मान गरेका  थिए ।

उनलाई श्रद्धाञ्जली दिन  रंगशालामा राजनीतिक दलका नेता, खेलकुद क्षेत्रका उच्चपदस्थ व्यत्क्ति, खेलाडी, खेलप्रेमिहरू, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल,कांग्रेस सभापति शेरबहादुर देउवा,  गगन थापा,  विजयकुमार गच्छदार लगायतका नेताहरू उपस्थित थिए ।  अन्तिम श्रद्धाञ्जली दिने क्रममा शुभेच्छुक र आफन्त भावुक बन्न पुगेका थिए ।

जीर्ण  बनेको  दशरथ रंगशालामा   श्रद्धाञ्जली दिँदाको  समय होस् या पशुपति आर्यघाटमा अन्तिम बिदाइ गर्दाको समय, सबै उनको खेल सम्झिरहेका थिए । उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका धेरैले उनको फुटबल बुझेका थिए, उनीहरु मणिको खेल क्षमता र कौशलको कुरा गरिरहेका थिए । उनको खेल हेर्न नपाएकाहरु पनि एक खेलाडीको निधनले भावुक थिए ।