चर्चित निर्माता माधव वाग्ले ठूलो परिणाममा नक्कली नेपाली नोटसहित पक्राउ 

नेपाली चलचित्र उद्योगका चर्चित निर्माता माधव वाग्ले ठूलो परिणाममा नक्कली नेपाली नोटसहित पक्राउ परेका छन् । प्रिन्सेस मूभिज प्रा.लि. को ब्यानरमा लुट–२, छड्के र रेशम फिलिलीजस्ता चर्चित फिल्म निर्माण गरेका वाग्लले काठमाडौंका केही छापाखानालाई ‘फिल्म निर्माणका लागि’ भन्दै एक हजार दरका नक्कली रुपैयाँ छाप्ने अर्डर दिने गरेको र उक्त नक्कली रुपैयाँ आफ्नै स्टाफमार्फत बजारमा सप्लाई गर्ने गरेको पाइएको छ ।

‘हाकु काले’को समूहले बैंक लुटेसँगै कहानी अन्त्य भएको फिल्म हो ‘लुट’ । नेपाली सिने जगतमा नयाँ ट्रेन्ड स्थापित गर्न सफल त्यहि लुटका निर्माता माधवराज वाग्लेसहित उनको समूह बुधबार २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेको छ ।महानगरीय प्रहरी परिसर टेकुको टोलीले लामो समय फिल्म वितरक र त्यसपछि फिल्म निर्माताकारुपमा सक्रिय वाग्लेको काठमाडौँको चार ढुंगेस्थित प्रिन्सेस मुभिज प्रालिको अफिसबाट एक हजार दरका २ करोड ५२ लाख नेपाली नक्कली नोट बरामद गरेको हो ।

बुधवार बिहान प्रहरी टोली माधवराज वाग्लेको कोठामा पुगेको थियो । काठमाडौं महानगरपालिका–१ चारढुंगेस्थित वाग्लेको कोठाबाट प्रहरीले २ करोड ५२ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । सुजित तामाङ, साजन तामाङ र महेन्द्र बोगटी फिल्म निर्माता वाग्लेका कर्मचारी हुन् । वाग्लेले तिनै कर्मचारीमार्फत नक्कली रुपैयाँ बजारमा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वाग्लेका कर्मचारीहरुले सक्कली रुपैयाँमा मिसाएर, होटल रेष्टुरेण्टमा, लागु औषध कारोबारी र यौनकर्मीहरुमार्फत नक्कली रुपैयाँ बजार पठाउने गरेको काठमाडौं प्रहरीले जनाएको छ । वाग्लले उक्त नक्कली रुपैयाँ ‘फिल्म निर्माणको प्रायोजनार्थ’ छाप्न लगाएको प्रतिक्रिया दिएका छन् । प्रहरीका अनुसार वाग्लेले बागबजारमा रहेको नवज्योती प्रिन्टिङ प्रेस र भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालकलाई छाप्न दिएका थिए । छापाखानाबाट प्रहरीले नक्कली नोट छाप्ने ८ थान मेटल प्लेटसहित प्रेस सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ ।

पोखरेलका अनुसार पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतबाट  म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। उनीहरूको अभियोग प्रमाणित भए बिगोबमोजिम जरिबाना र दश वर्ष कैद हुनेछ।