विश्वकप खेलाइने रंगशाला

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलका लागि रसियाका विभिन्न ११ सहरमा १२ रंगशाला तयारी अवस्थामा छन् । आउँदो जुन १४ देखि जुलाई १५ सम्म यी रंगशालामा फुटबल उत्सव लाग्नेछ । रूसमा हुने विश्वकप–२०१८ को उद्घाटन र अन्तिम खेल मस्कोको लुजनिकी रंगशालामा हुनेछ ।  क्षेत्रफलका आधारमा विशाल रूसमा छरिएका यी रंगशालामध्ये प्रत्येकले कम्तीमा चार खेलको आयोजना गर्नेछन् ।  प्रत्येक चार वर्षमा आयोजना हुने विश्व फुटबलको महाकुम्भका लागि रूसले केही पुरानै रंगशालालाई मर्मतसम्भार गरेर तयार पारेको छ भने केही नयाँ रंगशालासमेत निर्माण गरेको छ। यसपटकको विश्वकपमा प्रयोगमा आउने रंगशाला कस्ता छन् त ? सबै १२ रंगशालासम्बन्धी संक्षिप्त जानकारी ।

क्रेस्तोभ्स्की

विश्वकप खेलाइने रूसका १२ मध्ये महत्वपूर्ण रंगशाला हो, क्रेस्तोभ्स्की। यो रंगशालालाई सेन्ट पिटर्सबर्ग रंगशालाको नामबाट पनि चिनिन्छ। ६७ हजार दर्शक क्षमताको यो रंगशाला सेन्ट पिटर्सबर्गस्थित क्रेस्तोभ्स्की आइल्यान्डमा रहेको छ। दर्शक क्षमताको आधारमा  विश्वकप खेलाइने यो दोस्रो ठूलो रंगशाला पनि हो। यो रंगशालालाई रूसी क्लब जेनिट सेन्ट पिटर्सबर्गले आफ्नो घरेलु रंगशालाका रूपमा प्रयोग गर्ने गरेको छ।

सन् २०१७ देखि यो रंगशाला सञ्चालनमा ल्याइएको हो। सोही वर्षको जुनमा यो रंगशालामा फिफा कन्फिडरेसन्स कपका चारवटा खेल खेलाइएको थियो। उक्त प्रतियोगिताको चिली र जर्मनीबीचको फाइनल खेल पनि यही रंगशालामा खेलाइएको थियो। आगामी विश्वकपलाई ध्यानमा राखी तयार पारिएका रंगशालामध्ये यो निकै महँगो रंगशालामा पर्छ। यो रंगशाला तयार पार्न एक अर्ब अमेरिकी डलरभन्दा बढी खर्च भएको थियो।

यो रंगशालामा खेलाइएको पहिलो प्रतियोगिता रसियन प्रिमियर लिगको जेनिट सेन्ट पिटर्सबर्ग र एफसी उरालबीचको खेल हो। उक्त खेल सन् २०१७ अप्रिल २२ तारिखमा खेलाइएको थियो। यो रंगशालामा पहिलो गोल गर्ने खेलाडी ब्रानिस्लाभ इभानोभिच हुन्। २१औं विश्वकपमा यो रंगशालामा सातवटा खेल खेलाइने कार्यक्रम छ।

लिग चरणमा मोरक्को र इरान (जुन १५), आयोजक रूस र इजिप्ट (जुन १९), ब्राजिल र कोस्टारिका (जुन २२), नाइजेरिया र अर्जेन्टिना (जुन २६) बीचको खेल यो रंगशालामा खेलाइनेछ। यसैगरी यही रंगशालामा जुलाई ३ तारिखमा एउटा प्रिक्वार्टरफाइनल खेल, जुलाइ १० तारिखमा एउटा सेमिफाइनल खेल र जुलाई १४ तारिखमा तेस्रो स्थानका लागि खेल पनि खेलाइनेछ

 लुझनिकी

आगामी विश्वकप खेलाइने रंगशालामध्ये एक हो, लुझनिकी रंगशाला । ८१ हजार दर्शक क्षमताको यो रंगशाला रूसको राजधानी मस्कोमा रहेको छ। यो रूसको सबैभन्दा ठूलो रंगशाला हो भने युरोपकै सर्वाधिक दर्शक क्षमता भएको रंगशालामध्ये पनि एक हो। सन् १९८० को गृष्मकालीन ओलम्पिक खेलकुदको अधिकांश खेल पनि यही रंगशालामा खेलाइएको थियो। ओलम्पिकको उद्घाटन र समापन कार्यक्रम पनि यही रंगशालामा भएको थियो। त्यतिबेला यो रंगशाला एक लाख तीन हजार दर्शक क्षमताको थियो। यही रंगशालामा सन् १९८२ को अक्टोबर २० तारिखमा यूईएफए कप फुटबलको स्पार्टक मस्को र एचएफसी हार्लिमबीच भएको खेलका क्रममा दुर्घटनामा परी ६६ जना समर्थकको ज्यान गएको थियो। रूसी खेलकुदको इतिहासमा अहिले पनि त्यो दुर्घटनालाई कालो दिनका रूपमा लिने गरिन्छ।

उक्त दुर्घटनाको लामो समयपछि मात्र यो रंगशालालाई आधुनिक ढाँचामा पुनर्निर्माण गरिएको थियो। यो रंगशालालाई हालसम्म सन् १९९६—९७, सन् २००१—०४ र सन् २०१३—१७ सम्म गरी तीनपटक पुनर्निर्माण गरिएको छ। यही रंगशालामा सन् २००८ मा युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल पनि खेलाइएको थियो। त्यतिबेला च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई हराएको थियो। यसैगरी सन् २०१३ मा यही रंगशालामा वल्र्ड एथलेटिक्स च्याम्पियनसिप पनि आयोजना भएको थियो।

सन् २०१८ को विश्वकप आयोजनाका लागि विश्व फुटबल महासंघ (फिफा) सँग प्रस्ताव राख्दा रूसले यही रंगशालालाई मुख्य प्राथमिकतामा पारेको थियो। आगामी विश्वकपको फाइनल (जुलाई १५) खेल पनि यही रंगशालामा खेलाइने कार्यक्रम रहेको छ। सेमिफाइनल (जुलाई ११) र एउटा प्रिक्वार्टरफाइनल (जुलाई १) खेल पनि यो रंगशालामा खेलाइनेछ। प्रारम्भिक चरणमा जुन १४ तारिखमा रूस र साउदी अरेबिया, जुन १७ मा जर्मनी र मेक्सिको, जुन २० मा पोर्चुगल र मोरक्को र जुन २६ मा डेनमार्क र फ्रान्सबीचको खेल पनि यो रंगशालामा खेलाइनेछ।

अट्क्रटी (स्पार्टक)

विश्वकपका पाँचवटा खेल खेलाइने अट्क्रिटी रंगशाला रुसको राजधानी मस्कोमा रहेको छ । ४५ हजार तीन सय ६० दर्शक क्षमताको यो रंगशालालाई स्पार्टक रंगशाला पनि भनिन्छ । यो रंगशालालाई रुसको चर्चित ‘ए’ डिभिडन क्लब स्पार्टक मस्कोले घरेलु मैदानको रूपमा प्रयोग गर्दै आएको छ । यो रंगशाला परिसरमा फुटबलसँगै अन्य थुप्रै खेलका पूर्वाधार पनि रहेका छन् ।

सन् २०१४ को सेप्टेम्बर ५ तारिखदेखि यो रंगशाला खुला गरिएको हो । सन् २००७ मै निर्माण सुरु गरिए पनि यो रंगशाला निर्माणमा विभिन्न कारणले ढिलाइ भएको थियो ।यो रंगशालामा सन् २०१४ को सेप्टेम्बर ५ मा स्पार्टक मस्को र रेड स्टार बेलग्रेडबीच पहिलो खेल खेलिएको थियो । उक्त खेल १—१ गोलको बराबरीमा सकिएको थियो । यो रंगशालामा गोल गर्ने पहिलो खेलाडी स्पार्टक मस्कोका दिमित्री कोमबारोभ हुन् ।

यो रंगशालामा सन् २०१७ मा फिफा कन्फिडरेसन्स कपको लिग चरणका तीनवटा र तेस्रो स्थानका लागि खेल खेलाइएको थियो । आगामी विश्वकपको लिग चरणमा यो रंगशालामा अर्जेन्टिना र आइसल्यान्ड (जुन १६), पोल्यान्ड र सेनेगल (जुन १९), बेल्जियम र ट्युनिसिया (जुन २३) तथा सर्बिया र ब्राजिल (जुन २७) खेल खेलाइनेछ । यसैगरी जुलाई ३ तारिखमा अन्तिम १६ टोलीबीचको भिडन्तको एक खेल पनि यही रंगशालामा खेलाइनेछ ।

फिस्त ओलम्पिक

आगामी विश्वकप खेलाइने प्रमुख रंगशालाहरूमध्ये एक हो, फिस्त ओेलम्पिक रंगशाला । ४१ हजार दर्शक क्षमताको यो रंगशाला सोचीमा रहेको छ । यो रंगशाला सन् २०१३ मा औपचारिक रूपमा खुला गरिएको हो । सन् २०१४ मा रुसमा ओयोजना भएको शीतकालीन ओलम्पिक खेलकुद र पारा ओलम्पिक खेलकुदलाई ध्यानमा राखी यो रंगशाला तयार पारिएको हो । शीतकालीन ओलम्पिकको उद्घाटन र समापन समारोह पनि यही रंगशालामा भएको थियो ।

यो रंगशाला निर्माण गर्न ७७ करोड ९० लाख अमेरिकी डलर खर्च भएको थियो । यो रंगशालालाई रुसको राष्ट्रिय फुटबल टोलीले आफ्नो अभ्यास केन्द्रको रूपमा प्रयोग गर्दै आएको छ । सन् २०१७ मा यो रंगशालामा फिफा कन्फिडरेसन्स कपको प्रारम्भिक चरणको तीन तथा जर्मनी र मेक्सिकोबीचको सेमिफाइनल खेल पनि खेलाइएको थियो ।

आगामी जुन १४ तारिखमा सुरु हुने विश्वकप फुटबलमा यो रंगशालामा ६ वटा खेल खेलाइनेछ । विश्वकपको समूहगत चरणमा पोर्चुगल र स्पेन (जुन १५), बेल्जियम र पानामा (जुन १८), जर्मनी र स्विडेन (जुन २३) तथा अस्ट्रेलिया र पेरु (जुन २६) बीचको खेल यो रंगशालामा खेलाइनेछ । यसैगरी जुन ३० मा अन्तिम १६ टोलीबीचको एउटा खेल र जुलाई ७ तारिखमा एउटा क्वार्टरफाइनल खेल पनि यही रंगशालामा खेलाइने कार्यक्रम छ ।

कजान

विश्वकप फुटबलका केही खेल कजान रंगशालामा पनि खेलाइनेछ। सन् २०१० मा सुरु गरेर सन् २०१३ मा यो रंगशालाको निर्माण कार्य पूरा गरिएको थियो। यो रंगशाला बाहिर विशाल टेलिभिजन स्क्रिन राखिएको छ, जुन युरोपकै सबैभन्दा ठूलो हो । कजान एरिनामा फुटबल रंगशालासँगै अन्य खेलका सुविधा सम्पन्न भौतिक पूर्वाधार पनि रहेका छन्।

यो रंगशाला निर्माण गर्न ४५ करोड अमेरिकी डलर खर्च भएको थियो । कजान स्पोर्ट्स एरिनामा सबैभन्दा पहिले सन् २०१३ मा गृष्मकालीन युनिभर्सियाड खेलकुदको उद्घाटन र समापन समारोह आयोजना गरिएको थियो । यो रंगशाला ४५ हजारभन्दा बढी दर्शक क्षमताको रहेको छ । यो रंगशालालाई रुसको ‘ए’ डिभिजन फुटबल क्लब रुविन कजानले आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ।

यसैगरी सन् २०१७ मा फिफा कन्फिडरेसन्स कप फुटबलको केही खेल पनि यो रंगशालामा खेलाइएको थियो। आगामी जुन १४ देखि जुलाई १५ तारिखसम्म आयोजना हुने विश्वकप फुटबलका ६ वटा खेल यो रंगशालामा खेलाइनेछ । समूहगत चरणमा फ्रान्स र अस्ट्रेलिया (जुन १६), इरान र स्पेन (जुन २०), पोल्यान्ड र कोलम्बिया (जुन २४) तथा दक्षिण कोरिया र जर्मनी (जुन २७) बीचको खेल यो रंगशालामा खेलाइनेछ । यसैगरी जुन ३० मा अन्तिम १६ टोलीबीचको एक खेल र जुलाई ६ मा एउटा क्वार्टरफाइनल खेल पनि यही रंगशालामा खेलाइनेछ।

भोल्गोग्राड एरेना

राजधानी मस्कोदेखि नौ सय ४१ किलोमिटर टाढा भोल्गोग्राड सहरको केन्द्र भागमा अवस्थित भोल्गोग्राड एरेना रुस विश्वकपका खेल खेलाइने स्टेडियमहरू मध्येको एक हो । यस अघिबाटै प्रयोगमा ल्याइए पनि भोल्गोग्राड स्टेडियमलाई रुस विश्वकपकै लागि तयार पारिएको हो ।

झन्डै ४६ हजार दर्शक अट्ने स्टेडियम रुस विश्वकपपछि एफसी रोटोरले आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्नेछ । सुविधासम्पन्न स्टेडियमको भीआईपी बक्समा मात्रै ६ सय ४० तथा त्यसबाहेक चार सय ६० सिट राखिएका छन् । स्टेडियमको मिडिया बक्समा २२ सय ८० सिट राखिएका छन् ।

शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि मात्रै २४ सहित ४२ वटा इलिभेटर राखिएको स्टेडियममा फिफाले तोकेका सबै मापदण्ड पूरा गरिएका छन् । प्रतियोगिता सुरु हुने समयसम्म स्टेडियममा हुनसक्ने सम्भावित झडप वा कुनै पनि प्रकारका आक्रमणको समेत संकेत दिने ‘अलाम’ जोडिने रुस विश्वकपको मुख्य आयोजक समितिले जनाएको छ । भोल्गोग्राड स्टेडियममा रुस विश्वकपका चार खेल खेलाइनेछ । जुन १८ मा समूह ‘जी’अन्तर्गत इङ्ल्यान्ड र ट्युनिसियाले भोल्गोग्राड स्टेडियममा पहिलो खेल खेल्नेछन् ।

त्यसपछि जुन २२ मा समूह ‘डी’अन्तर्गत नाइजेरिया र आइसल्यान्डले, जुन २५ मा समूह ‘ए’अन्तर्गत साउदी अरेबिया र इजिप्ट तथा जुन २८ मा समूह ‘एच’अन्तर्गत पोल्यान्ड र जापानले भोल्गोग्राडमा खेल खेल्नेछन् । रुसले भोल्गोग्राड स्टेडियम निर्माण गर्न १७ बिलियन रकम खर्च गरेको जनाएको छ ।

मोर्दोभिया रंगशाला

आगामी जुन १४ तारिखदेखि सुरु हुने २१औं विश्वकप फुटबल प्रतियोगितालाई नै ध्यानमा राखी तयार पारिएको नयाँ रंगशाला हो, ‘मोर्दोभिया रंगशाला’ । सन् २०१० मा निर्माण कार्य सुरु गरेर सन् २०१८ पूरा गरिएको यो रंगशालाको दर्शक क्षमता ४४ हजार पाँच सय रहेको छ । इनसार नदीको किनारमा निर्माण गरिएको यो रंगशाला निकै मनमोहक छ ।

मोर्दोभिया रंगशाला निर्माण गर्न ३० करोड अमेरिकी डलर खर्च भएको थियो । यो रंगशालाको नक्सा दक्षिण अफ्रिकाको चर्चित ‘सकर सिटी’ स्टेडियम’ का आधारमा जर्मन आर्किटेक्टले तयार पारेका हुन् । दक्षिण अफ्रिकाको सकर सिटी रंगशालामा सन् २०१० को विश्वकपको उद्घाटन र समापन समारोह भएको थियो । मोर्दोभिया रंगशालामा आगामी विश्वकपका चारवटा खेल खेलाइने कार्यक्रम छ।

विश्वकपको समूहगत चरणमा जुन १६ तारिखमा पेरू र डेनमार्कबीचको खेल यो रंगशालामा खेलाइनेछ । यसैगरी जुन १९ तारिखमा कोलम्बिया र जापान, जुन २५ तारिखमा इरान र पोर्चुगल तथा जुन २८ तारिखमा पानामा र ट्युनिसियाबीचको खेल पनि यही रंगशालामा खेलाइनेछ । रुस विश्वकप सकिएपछि भने यो रंगशालाको दर्शक क्षमता २८ हजारमा झारिने भएको छ ।

निझ्नी नोभगोरोद

जुन १४ तारिखदेखि रुसमा आयोजना हुने २१औं विश्वकप फुटबललाई ध्यानमा राखी तयार पारिएको नयाँ रंगशाला हो, निझ्नी नोभगोरोद। सन् २०१५ मा निर्माणकार्य सुरु गरिएको यो रंगशालाको काम सन् २०१८ मा पूरा भएको थियो। निझ्नी नोभगोरोद रंगशालाको दर्शक क्षमता करिब ४५ हजार रहेको छ। दर्शक क्षमताका आधारमा मध्यम श्रेणीको भए पनि यो रंगशालाको बाहिरी दृश्य निकै चित्ताकर्षक रहेको छ।

निझ्नी नोभगोरोद रंगशालाले एक लाख २७ हजार पाँच सय वर्गमिटर क्षेत्रफल ओगटेको छ। विश्वकप सकिएपछि भने यो रंगशालालाई रुसी प्रिमियर लिग क्लब एफसी ओलम्पिएट्स निझ्नी नोभगोरोद क्लबले आफ्नो घरेलु मैदानको रूपमा प्रयोेग गर्ने बताइएको छ। विश्वकप सकिएपछि यो रंगशालालाई अन्य खेलका लागि प्रयोग गरिनुपर्ने माग पनि उठ्दै आएको छ। सन् २०१७ मा गभर्नर भालेरी सान्तसेभले पनि यो रंगशालालाई विश्वकपपछि अन्य खेल र विभिन्न सांस्कृतिक कार्यक्रमका लागि प्रयोगमा ल्याइने बताएका थिए।

यो रंगशालामा आगामी विश्वकपका ६ वटा खेल खेलाइने कार्यक्रम छ। विश्वकपको समूहगत चरणमा यो रंगशालामा स्विडेन र दक्षिण कोरिया (जुन १८) तथा अर्जेन्टिना र क्रोएसिया (जुन २१) बीचको खेल खेलाइनेछ। समूहगत चरणमै इङ्ल्यान्ड र पानामा (जुन २४) तथा स्विट्जरल्यान्ड र कोस्टा रिका (जुन २७) बीचको खेल पनि यही रंगशालामा खेलाइनेछ।

यसैगरी अन्तिम १६ टोलीबीचको एउटा खेल पनि जुलाई १ तारिखमा यो रंगशालामा खेलाइने कार्यक्रम छ। यसदेखिबाहेक जुलाई ६ तारिखमा एउटा क्वार्टरफाइनल खेल पनि निझ्नी नोभगोरोद रंगशालामा खेलाइनेछ।

कसमस एरिना

रुसमा आयोजना हुने विश्वकप फुटबललाई ध्यानमा राखी तयार पारिएको कसमस एरिना सामरामा रहेको छ। फुटबलसँगै अन्य थुप्रै खेलका भौतिक संरचनासमेत रहेको कसमस एरिनालाई सामरा एरिनाको नामबाट पनि चिनिन्छ। कसमस एरिनामा तयार पारिएको फुटबल रंगशाला भने करिब ४५ हजार दर्शक क्षमताको रहेको छ।

यो एरिना तयार पार्न चार वर्ष समय लागेको थियो। सन् २०१४ मा निर्माणकार्य प्रारम्भ गरिएको कसमस एरिना सन् २०१८ मा तयार भएको हो। सन् २०१८ को अप्रिल २८ तारिखमा यो रंगशाला खुला गरिएको हो। यो एरिना तयार पार्न ३२ करोड अमेरिकी डलर खर्च भएको थियो। यो रंगशालामा केही घरेलु प्रतियोगिता खेलाइए पनि हालसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता भने आयोजना गरिएको छैन।

विश्वकपमा यो रंगशालामा ६ वटा खेल खेलाइने कार्यक्रम छ। समूहगत चरणमा कोस्टा रिका र सर्बिया (जुन १७) तथा डेनमार्क र अस्ट्रेलिया (जुन २१) बीचको खेल यो रंगशालामा खेलाइनेछ। यसैगरी समूहगत चरणमै उरुग्वे र आयोजक रुस (जुन २५) तथा सेनेगल र कोलम्बिया (जुन २८) बीचको खेल पनि यही रंगशालामा खेलाइनेछ।

यसैगरी जुलाई २ तारिखमा अन्तिम १६ टोलीबीचको भिडन्तको एउटा खेल पनि यो रंगशालामा हुनेछ। यसका अतिरिक्त जुलाई ७ तारिखमा एउटा क्वार्टरफाइनल खेल पनि यो रंगशालामा खेलाइने कार्यक्रम छ। आगामी विश्वकप रुसका ११ सहरका १२ वटा रंगशालामा खेलाइँदै छ।

रोस्तोभ एरिना

रुसमामा  हुने विश्वकप फुटबललाई ध्यानमा राखी तयार पारिएको नयाँ रंगशाला हो, रोस्तोभ एरिना। यसलाई रसियन प्रिमियर लिग क्लब एफसी रोस्तोभले घरेलु मैदानका रूपमा प्रयोग गर्नेछ।  विश्वकपका लागि रोस्तोभ एरिनाको दर्शक क्षमता ४५ हजार रहनेछ। विश्वकपपछि भने यो रंगशालाको दर्शक क्षमता घटाएर ३७ हजार आठ सय ६८ बनाइनेछ।

रुस विश्वकपका लागि चार वर्ष लगाएर यो रंगशाला तयार पारिएको हो। सन् २०१४ मा सुरु भएको यो रंगशालाको निर्माणकार्य सन् २०१८ मा सम्पन्न भएको हो। यो रंगशालाको शिलान्यास भने सन् २०१३ को जुनमै गरिएको थियो। आगामी विश्वकपका लागि यो रंगशालामा राखिएको दर्शक बस्ने सिट अस्थायी प्रकृतिको मात्र भएको आयोजकले जनाएको छ।

विश्वकपमा यो रंगशालामा पाँचवटा खेल खेलाइने कार्यक्रम छ। समूहगत चरणमा पाँच पटकको विश्वकप विजेता ब्राजिल र स्विट्जरल्यान्ड (जुन १७) तथा दुई पटकको विजेता उरुग्वे र साउदी अरेबिया (जुन २०) बीचको खेल यो रंगशालामा खेलाइनेछ। यसैगरी समूहगत चरणमै एसियाली राष्ट्र दक्षिण कोरिया र मेक्सिको (जुन २३) तथा नवप्रवेशी आइसल्यान्ड र क्रोएसिया (जुन २६) बीचको खेल पनि यही रंगशालामा हुनेछ। जुलाई २ तारिखमा अन्तिम १६ टोलीबीचको एउटा खेल पनि यो रंगशालामा खेलाइनेछ।

कलिनिनग्राद

‘एरिना बाल्टिक’को नामबाट पनि परिचित छ, कलिनिनग्राद रंगशाला । सन् २०१५ मा शिलान्यास गरिएको यो रंगशालाकोे निर्माण भने सन् २०१६ मा सुरु गरिएको हो ।  विश्वकप फुटबललाई ध्यानमा राखेर नै यो रंगशाला निर्माण गरिएको हो । विश्वकपसम्मका लागि यो रंगशालाको दर्शक क्षमता ३५ हजार दुई सय १२ रहनेछ । विश्वकपछि भने यो रंगशालाको दर्शक क्षमता घटाएर २५ हजारमा सीमित गराइनेछ ।

यो रंगशाला बनाउन २५ करोड ७० लाख युरो खर्च भएको छ । यो रंगशालालाई रुसी प्रिमियर लिग क्लब एफसी बाल्टिका कलिनिनग्रादले आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ । जर्मनीको एलियन्ज एरिनाको नक्साका आधारमा यो रंगशाला तयार पारिएको हो । सन् २००६ मा जर्मनीमा आयोजना भएको विश्वकप फुटबलका केही खेल एलियन्ज रंगशालामा खेलाइएको थियो।

सन् २०१८ को अप्रिल ११ मा कलिनिनग्राद रंगशालामा पहिलो खेल खेलाइएको थियो । यो रंगशाला पोल्यान्डको सीमाभन्दा ४५ किलोमिटर टाढा छ । आगामी जुन १४ देखि सुरु हुने विश्वकप फुटबलका क्रममा यो रंगशालामा समूहगत चरणका चारवटा खेल खेलाइने कार्यक्रम छ । समूहगत चरणमा जुन १६ मा क्रोएसिया र नाइजेरियाबीचको खेल यो रंगशालामा खेलाइनेछ ।

यसैगरी जुन २२ मा सर्विया र स्विट्जरल्यान्डबीचको खेल पनि यही रंगशालामा खेलाइनेछ । यसका अतिरिक्त जुन २५ मा स्पेन र मोरक्को तथा जुन २८ मा इङ्ल्यान्ड र बेल्जियमबीचको समूहगत चरणको खेल पनि यो रंगशालामा खेलाइनेछ ।

सेन्ट्रल स्टेडियम

एकातेरिनबर्गमा रहेको सेन्ट्रल स्टेडियम रुसको निकै पुराना रंगशालाहरूमध्ये एक हो। विश्वकप फुटबलका केही खेल यो रंगशालामा पनि खेलाइँदै छ। यो रंगशाला सन् १९५७ मा बनेको हो। त्यसपछि सन् २००६ देखि सन् २०११ सम्म यो रंगशालाको जीर्णोद्धार गरिएको थियो। यसैगरी आगामी विश्वकपलाई ध्यानमा राखी सन् २०१४ देखि सन् २०१७ सम्म दोस्रो पटक यो रंगशालाको जीर्णोद्धार गरिएको थियो।

आगामी विश्वकपका खेलहरू खेलाइँदा सेन्ट्रलन स्टेडियम ३५ हजार ६ सय ९६ दर्शक क्षमताको हुनेछ। विश्वकपपछि भने यो रंगशालाको दर्शक क्षमता घटाएर २३ हजारमा सीमित गरिनेछ। विश्वकपलाई ध्यानमा राखी हाल यो रंगशालामा केही अस्थायी सिट राखिएको छ। फुटबलका अतिरिक्त अन्य खेलसमेत खेल्न मिल्ने गरी तयार पारिएको यो रंगशाला परिसरलाई एकातेरिनबर्ग एरिनाको नामले पनि चिनिन्छ।

यो रंगशाला ८७ वर्ष पुरानो रसियन प्रिमियर लिग क्लब एफके उरालको घरेलु मैदान पनि हो । सोही कारणले यो रंगशालाको दर्शक बस्ने सिटमा सुन्तला रङको प्रयोग गरिएको छ । रसियन प्रिमियर लिग र रसियन कप फुटबलका अतिरिक्त यो रंगशालामा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेका छन् । यो रंगशाला रहेको रुसी सहर एकातेरिनबर्गको जनसंख्या १४ लाख रहेको छ ।

आगामी विश्वकपमा यो रंगशालामा समूहगत चरणका चारवटा खेल खेलाइनेछ । जुन १५ तारिखमा इजिप्ट र दुई पटकको च्याम्पियन उरुग्बे तथा जुन २१ तारिखमा पूर्वविजेता फ्रान्स र पेरुबीचको खेल यो रंगशालामा खेलाइनेछ । यसैगरी जुन २४ तारिखमा जापान र सेनेगल तथा जुन २७ तारिखमा मेक्सिको र स्विडेनबीचको खेल पनि यही रंगशालामा खेलाइनेछ ।