जेठ २० गते बलिउड निर्देशक सुभास घई नेपाल आउने

बलिउडका चर्चित फिल्म निर्देशक सुभास घई नेपाल आउने भएका छन् । उनी आगामी जेठ २० गते काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुने एक चलचित्र सम्बन्धी सेमिनारका लागि नेपाल आउन लागेका हुन् । कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको फिल्म स्कुल ‘विस्लीङ्ग उड इन्टरनेशनल’को संयुक्त आयोजनामा हुन गइरहेको वर्कशपका लागि बलिउडका  सफल निर्देशक सुभास घई नेपाल आउने भएका छन् ।

वर्कशपमा बिशेषगरि मिडीया नलेज, मोवाईल फिल्म मेकिङ्ग, कथा लेखन र फेसन डिजाइनमा केन्द्रित हुनेछ । यो वर्कशपको लागि मुम्बइबाट निर्देशक घइसँगै अन्य विधाका विज्ञहरु कथा लेखक अन्जुम राजाबली, फेसन डिजाईनर निशा चन्दा, फिल्म मेकर रविया नाज्की तथा मुक्ता आर्टस्का प्रमुख राहुल पुरी र नेपालबाट निर्देशक दिनेश डीसी हुनेछन् । जेठ २० गते काठमाण्डौको होटल अन्नपुर्णमा विहान ९ बजे देखी बेलुकी ६ बजेसम्म वर्कशप संचालन हुने कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।

सुभास घई विस्लीङ्ग उडका फाउण्डर चेयरमेन पनि हुन् । र उनले नै नेपाली चेली मनिषा कोइरालालाई १९९१ मा चलचित्र सौदागर बाट बलीउडमा ईन्ट्री गराएका थिए ।उक्त वर्कशपले नेपाली फिल्म, फेसन र मिडीयालाई अझ बढी बिस्तारीत र शिक्षीत बनाउने विश्वास लिएको कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए । पुरी लगायतको टोली गत महिना मुम्बई पुगेर सुभास घई र विस्लीङ उडलाई नेपालमा फिल्म एजुकेसनलाई प्रोमोट गर्नको लागी यो खालको वर्कसपमा साझेदारी गर्न आग्रह गरेका थिए ।