फिल्म ‘मालिका’ २९ दिनमा प्याकअप

रेखा थापाले आफ्नो दोस्रो निर्देशकिय फिल्म ‘मालिका’ २९ दिनमा प्याकअप गरेकी छन् । निर्देशनसँगै रेखाको आफ्नै निर्माण तथा अभिनय रहेको मालिकामा जाजरकोटकी नन-एक्टर कमला ओलीलाई मुख्य भूमिकामा प्रस्तुत गरेकी छिन् । फिल्मको छायाँकन जाजरकोट सहित काठमाण्डौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको छ । टिमको सक्रियता र मौसमले साथ दिंदा समयमै फिल्मको छायाँकन सकिएको छ । जाजरकोटमा नेपाली चलचित्रको छायाँकन भएको यो नै पहिलो पटक हो ।

नर बहादुर कार्की कार्यकारी निर्माता रहेको मालिकाको कथा पनि कार्कीकै हो । शिवम अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ ।मालिका मा निर्माताको रुपमा सरस्वती थापा र तारा थापाको नाम रहेको छ । मालिका बाल विवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित छ । आगामी लक्ष्मी पुजाको दिन बाट चलचित्रलाइ प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।

१९११ सालमा हुम्ला र चीनको बीचमा रहेको ताक्लाकोट आक्रमणमा जाजरकोटी सेनाले विजय हासिल गरेको उच्च वीरताको ऐतिहासिक प्रतीकसँग जोडिएको खाँडो नाचलाई ‘मालिका’ फिल्मले राष्ट्रियकरण गर्ने नायिका थापाको भनाइ छ ।अभिनेत्री रेखा थापा बाइसे चौबिसे राज्यकालमा हुने युद्धको झझल्को दिने गरी ढाल र तरबार लिएर नाच्दै थिइन् । उनलाई हेर्न दर्शकको घुइँचो थियो । नायिका रेखाले निर्माण थालेको ‘मालिका’को सुटिङ टोली दृश्य कैद गर्न व्यस्त थियो । जाजरकोटलगायतका पश्चिम पहाडमा लाग्ने मेला र त्यहाँ नाचिने रैथाने नृत्य फिल्ममा उतार्न रेखा आफैंले अभिनय गरिरहेकी छन् ।