उरुग्वे बन्यो समूह विजेता

विश्वकप फुटबल प्रतियोगिता अन्रतगत समूह चरणको अन्तिम खेलमा आयोजक रसियालाई उरुग्वेले ३–० ले पराजित गरेको छ । सामरा एरिनामा भएको समूह ए को अन्तिम खेलमा रसियालाई हराएको उरुग्वे ९ अंकसहित समूह विजेतका रुपमा विश्वपकको अन्तिम १६ मा पुगेको छ ।

उरुग्वेसँग पराजित भएको रसिया पनि समूह ए बाट ६ अंकसहित उपविजेताकारुपमा विश्वकपको अन्तिम १६ मा पुगेको छ । समूह ए अन्तरगतको अन्तिम खेलमा उरुग्वेका लागि खेलको १० औँ मिनेटमा लुइस स्वारेजले अग्रता दिलाएका थिए । सुरुबाटै दबाबमा राखेको उरुग्वेलाई रसियाले खेलको २३ औँ मिनेटमा आत्मघाती गोल उपहार दियो ।

रसियाबाट यो विश्वकपमा सर्वाधिक ३ गोल गरिसकेका डेनिस चेरिसोभले आत्मघाती गोल गरेपछि उरुग्वे २–० ले अघि बढेको थियो । त्यसपछि खेलको ३६ औँ मिनेटमा इगोर स्मोल्इकोभ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रसिया १० खेलाडीमा खेल्न बाध्य भयो ।

दोस्रो हाफमा एडिन्सन काभानीले अर्को गोल थपे । उनले खेलको ९० औँ मिनेटमा गोल गरेपछि उरुग्वे ९ अंकसहित अन्तिम १६ मा प्रवेश गर्यो । अर्कातिर साउदी अरेयिबा र इजिप्टमाथि गोलबर्षा गरेको आयोजक रसिया भने खेल अवधिभर निरीह बनेको थियो ।