जापानलाई ३-२ ले हराउँदै बेल्जियमको सनसनीपूर्ण जीत

बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ। रसियामा सोमबार भएको खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा गरेको तेस्रो गोलले बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेको हो। बेल्जियमले सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग भिड्नेछ। दोस्रो हाफ सुरु भएलगत्तै जापानले पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता लिएको थियो।

४८ मिनेटमा जेन्की हारागुची र ५२ मिनेटमा ताकासी इनुईले गोल गरी जापानलाई अग्रता दिलाएका थिए। तर ६९ मिनेटमा जन भेर्टोनघेनले बेल्जियमलाई गोलरहित स्थितिबाट जोगाएका थिए। त्यसको ५ मिनेटमै मारौने फेलानीले गोल गरी २-२ को बराबरमा खेललाई लगेका थिए। ४ मिनेटको अतिरिक्त समयमा जापानले पाएको दुई कर्नर खेर गए लगत्तै बल पाएको बेल्जियमले मौकाको भरपुर सदुपयोग गर्‍यो। अतिरिक्त समयको अन्तिम मिनेटमा नासिर चाद्लीले गरेको गोल नै निर्णायक बन्यो। फेयर प्लेबाट सुपर सिक्टिनमा परेको जापान यो हारसँगै विश्वकपबाट बाहिरिएको छ।