स्विडेन क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड पराजित

विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा जित हात पार्दै स्विडेनले क्वार्टरफाइनलमा प्रवेश गरेको छ छ। सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गर्दै स्विडेनले अन्तिम आठमा स्थान बनाएको हो। दोस्रो हाफको ६६औं मिनेटमा स्विडेनका इमेल फर्सवर्गले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता बनाएका थिए। ओला टोइभोलेनले उपलब्ध गराएको बल विपक्षी रक्षकको खुट्टामा ठाक्किँदै जाली चुमेको थियो ।

 

यसअघि पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। गोलका लागि दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा अग्रता बनाउन भने चुकेका थिए। स्विडेनको तुलनामा स्विट्जरल्यान्डले केही बढी अवसर पाए पनि गोल गर्न भने सकेन। पहिलो हाफमा बल प्रोसेसनमा स्विट्जरल्यान्ड निकै अगाडि रहेको थियो।स्विडेन फिफा विश्वकपको २४ वर्षपछि क्वार्टरफाइनलमा पुगेको हो।

सन् १९९४ मा अमेरिकामा भएको विश्वकपयता स्विडेन विश्वकप फुटबलको कुनै पनि संस्करणमा अन्तिम आठमा पुग्न सकेको छैन। सन् १९९४ मा स्विडेनले सेमिफाइनल खेल्दै तेस्रो स्थान हात पारेको थियो। सन् २००२ र २००६ मा प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको स्विडेन सन् २०१० र २०१४ को विश्वकपमा भने छनोट भएको थिएन्। यसैगरी स्विट्जरल्यान्ड सन् १९५४ मा आफैंले आयोजना गरेको विश्वकपयता प्रिक्वार्टरफाइनल चरणमा पुग्न सकेको छैन।

स्विडेन समूह ‘एफ’को विजेता र स्विट्जरल्यान्ड ‘ई’को उपविजेता टोलीको हैसियतमा प्रतियोगिताको अन्तिम १६ मा पुगेका हुन्। समूहगत चरणको खेलमा स्विडेनले दुईमा जित र एकमा पराजय बेहोर्दा स्विट्जरल्यान्डले भने एकमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो। स्विडेनले समूहगत चरणको तीन खेलमा विपक्षीविरुद्ध पाँच गोल गर्दा दुई गोल बेहोरेको थियो। स्विट्जरल्यान्डले पनि विपक्षीविरुद्ध पाँचै गोल गरेको थियो तर चार गोल बेहोरेको पनि थियो।

विश्वकपको नकआउट चरणको प्रतिस्पर्धामा स्विडेन र स्विट्जरल्यान्डले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिएनन् । तर अन्य प्रतिस्पर्धाले दुवै टोलीको अवस्था बलियो देखाएको थियो। सबै खाले प्रतियोगितामा गरी हालसम्म २९ खेलमा प्रतिस्पर्धा गर्दा स्विट्जरल्यान्डले ११ र स्विडेनले १० खेलमा जित हात पारेका थिए। बाँकी आठ खेल बराबरीमा टुंगिएका थिए।