इंग्ल्यान्ड सेमिफाइनलमा

इंग्ल्यान्ड  रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति सामरा एरेना स्टेडियममा भएको खेलमा स्विडेनलाई २–० गोलले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो ।

इंग्ल्यान्डको जितमा हारी मागुइरे र डेली अलीले एकएक गोल गरे । खेल सुरु भएदेखि नै आक्रामक खेल खेलेको इंग्ल्यान्ड ले पहिलो हाफको ३०औं मिनेटमा सुरुवाती अग्रता बनायो । आश्ले योङले पेनाल्टीमा उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै हारी मागुइरेले हेड गोल गरे । लगातार विपक्षी कोर्टमा बल खेलाएको इंग्ल्यान्डले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । इंग्ल्यान्ड का ह्यारी केन, रहिम स्टर्लिङलगायतले गोल गर्ने राम्रो अवसर खेर फाले ।दोस्रो हाफमा पनि स्विडेनले रक्षात्मक खेल खेल्दा इंग्ल्यान्डले लगातार दबाब बनायो । स्विडेनका रक्षकलाई आच्छुआच्छु बनाएको इङ्ल्यान्डले दोस्रो हाफको ५९औं मिनेटमा अग्रता दोब्बर बनायो । जेस्से लिन्गार्डको क्रसमा हेड गर्दै डेली अलीले इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि कुनै गोल हुन सकेन् ।

इंग्ल्यान्ड २८ वर्षको प्रतीक्षापछि विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो। सन् १९९० मा इटालीमा भएको विश्वकपपछि पहिलो पटक प्रतियोगिताको अन्तिम चारमा पुगेको हो। इटाली विश्वकपमा इंग्ल्यान्डले चौथो स्थान हात पारेको थियो। सन् १९६६ को विश्वकप जितेको इंग्ल्यान्ड त्यही इतिहास दोहोर्‍याएर दोस्रो उपाधि जित्ने अभियानमा छ।

इंग्ल्यान्ड विश्वकपको इतिहासमा पहिलो पटक टाइब्रेकरमा सफलता हात पार्दै प्रतियोगिताको अन्तिम आठमा पुगेको थियो। कोलम्बियाविरुद्ध प्रिक्वार्टरफाइनलको निर्धारित र थप गरिएको ३० मिनेटको खेलसमेत १-१ गोलको बराबरी भएपछि प्रहार गरिएको पेनाल्टी सुटआउटमा इंग्ल्यान्ड ४-३ गोलले विजयी भएको थियो। यसअघि लगातार तीनवटा विश्वकपमा इंग्ल्यान्ड टाइब्रेकरमा असफल भएको थियो। तर, कोलम्बियाविरुद्ध पेनाल्टीमै सफलता हात पारेकाले इङ्लिस टोली उत्साहित बनेको छ।

स्विडेन सन् १९९४ मा अमेरिकामा भएको विश्वकपपछि पहिलो पटक क्वार्टरफाइनल चरणमा पुगेको हो। त्यतिबेला उसले तेस्रो स्थान हात पारेको थियो। रुस विश्वकपमा स्विडेनले प्रिक्वार्टरफाइनल चरणको खेलमा स्विट्जरल्यान्डलाई निर्धारित ९० मिनेटभित्रै १-० गोलले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको थियो।

इंग्ल्यान्ड र स्विडेनले शनिबार रातिको खेलअघि दुई पटक प्रतिस्पर्धा गरेका थिए। ती दुवै खेल भने बराबरीमा टुं्गिएको थियो। दुवै टोलीले सन् २००२ को विश्वकपमा १-१ र सन् २००६ को विश्वकपमा २-२ गोलको बराबरी खेलेका थिए। यस बाहेक समग्रमा २३ पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका इंग्ल्यान्ड र स्विडेनले समान सात-सात खेलमा जित हात पारेका थिए भने बाँकी नौ खेल बराबरीमा टुंगिएको थियो।