क्रोएसियाको भाग्य चम्कियो:रसियालाई हराउदै सेमिफाइनलमा

रुसमा जारी फिफा विश्वकप अन्तरगत शनिबार राति भएको क्वाटरफाइनलको खेलमा पेनाल्टी सुटआउटमा रुसलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त समयमा पनि २–२ को बराबरी भएपछि आयोजक रुसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्रोएसियाले बाजी मारेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता रुसले लिएको थियो । मिड फिल्डर डेनिस चेरिसेभले ३१ औं मिनेटमा गोल गरेको थिए । रुसको अग्रता भने ८ मिनेटभन्दा बढी टिक्न पाएन । ३९ औं मिनेटमा क्रोएसियाका लागि आन्द्रज क्रामारिकले बराबरी गोल गरे त्यसपछि ९० मिनेटसम्म पनि १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको १०० औं मिनेटमा क्रोएसियाका लागि डोमागोज भिडाले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए ।

क्रोएसिया जितको नजिक पुगिसकेको अवस्थामा रुसका लागि मारियो फर्नान्डेजले गोल गरी पुनः खेल बराबरीमा पु¥याएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।क्रोएशियाले सेमिफाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ। फ्रान्समा सन् १९९८ मा भएको विश्वकपमा सेमिफाइनल यात्रा तय गरेयता क्रोएशियाको यो दोश्रो विश्वकप सेमिफाइनल हो। सो विश्वकपमा क्रोएशिया आयोजक फ्रान्ससँग पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो। उसले नेदरल्यान्डलाई हराउँदै तेश्रो स्थानमा चित्त बुझाएको थियो।

सो विश्वकपमा क्रोएशियाका डाभोर सुकरले सर्वाधिक ५ गोल गर्दै गोल्डेन बुट जितेका थिए। २० वर्षपछि क्रोएशिया फेरि सेमिफाइनल आइपुगेको छ। उ सँग आगामी बुधबार हुने खेलमा इङ्ल्याण्डलाई पन्छाउँदै विश्वकप फाइनलमा पुग्ने मौका आएको छ।