सकियो विश्वकप फुटबलको २१औं संस्करण:फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन

पूर्वविजेता फ्रान्सलाई नै उपाधि चुमाउँदै विश्वकप फुटबलको २१औं संस्करण सकिएको छ । फ्रान्सले आइतबार राति खेलिएको रोमाञ्चक फाइनलमा क्रोएसियालाई ४-२ गोलले हराउँदै दोस्रो पटक उपाधि हात पारेको हो । यसअघि फ्रान्सले सन् १९९८ मा आफ्नै देशमा आयोजना भएको विश्वकप जितेको थियो । यसपटक विश्वकपले क्रोएसियाका रुपमा नयाँ विजेता पाउने अनुमान गरिए पनि युवा खेलाडीले भरिएको फ्रान्सका अगाडि क्रोएसियाको केही लागेन ।

फ्रान्सेली टोलीका ४९ वर्षीय प्रशिक्षक डिडियर डेसच्याम्पसका लागि पनि यो विश्वकप विशेष रह्यो । उनी आफ्नो टोलीलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकका रुपमा विश्वकप दिलाउने तेस्रो ब्यक्ति बने । यसअघि ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फ्रान्ज बेकनबाउरले आफ्नो देशलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा विश्वकपको उपाधि चुमाएका थिए । फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा डेसच्याम्पस टोलीका कप्तान थिए । खेलाडीको भूमिकामा फ्रान्सलाई उपाधि दिलाएको २० वर्षपछि उनले प्रशिक्षकको भूमिकामा अर्को उपाधि चुमाएका हुन् ।

दोस्रो पटक विश्वकप जित्ने क्रममा फ्रान्सले ३८ मिलियन डलर (करिब अर्ब १५ करोड रूपैयाँ) नगद पुरस्कार हात पारेको छ । फाइनलमा पराजित भएको क्रोएसियाले २८ मिलियन डलर (३ अर्ब ५ करोड रुपैयाँ) जितेको छ । प्रतियोगिताका जम्मा ३२ टिमलार्इ फिफाले ४०० मिलियन डलर (४६ अर्ब ६३ करोड रुपैयाँ) दिइएको छ। तेस्रो भएको बेल्जियमले पुरस्कारस्वरूप २४ मिलियन डलर (२ अर्ब ६१ करोड रुपैयाँ) र चौथो नम्बरमा रहेको इङ्ग्ल्यान्डलार्इ २२ मिलियन डलर (२ अर्ब ४० करोड रूपैयाँ) मिलेको छ।

क्वार्टर फाइनलमा हारेका उरुग्वे, ब्राजिल, स्वीडेन र रूसको भागमा १६-१६ मिलियन डलर (एक अर्ब ७५ करोड रुपैयाँ) परेको छ । अर्कातिर प्रिक्वार्टर फाइनलमा हारेका अर्जेन्टिना, पोर्चुगल, डेनमार्क, स्पेन, मेक्सिको, जापान, स्विट्जरल्यान्ड र कोलम्बियाको टिमलार्इ १२-१२ मिलियन डलर (१ अर्ब ३० करोड रूपैयाँ) दिइएको छ ।

यसका अलावा ग्रुप स्टेजबाट बाहिरिएका टिमलार्इ पनि ८-८ मिलियन डलर (करिब ८८ करोड रुपैयाँ) नगद दिइएको छ । विश्वकपका लागि छनोट भएका हरेक टिमलार्इ १.५ मिलियन डलर (करिब १६ करोड ३७ लाख रुपैयाँ) तयारीका लागि दिइएको थियो । फिफाले क्लब बेनिफिट प्रोग्राममार्फत् खेलाडीलार्इ विश्वकपका लागि क्लबबाट रिलिज गराएकोमा सदस्य देशलार्इ २०९ मिलियन डलर (२२ अर्ब ५० करोड रूपैयाँ) दिएको थियो ।

क्रिकेट विश्वकपसँग तुलना गर्ने हो भने फुटबल विश्वकप जित्दा ३९ गुणा धेरै रकम विजेता टिमलार्इ दिइयो । क्रिकेट विश्वकपमा सन् २०१५ मा १ करोड डलर (करिब एक अर्ब ९ करोड रूपैयाँ) पुरस्कार दिइएको थियो ।सन् २०१५ मा रग्बी विश्वकपमा जितेको न्युजील्यान्डको टिमलार्इ ४१ करोड रूपैयाँ ४१ लाख रुपैयाँ मिलेको थियो ।

लुका मोड्रिच यो विश्वकपका सर्वोत्कृष्ट खेलाडी

क्रोएसियाका कप्तान लुका मोड्रिचले यो विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भएका छन् । रसियाको मस्कोस्थित लुझिन्की रंगशालामा भइरहेको विशवकप उपाधि वितरण कार्यक्रममा मोड्रिचलाई उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गरिएको हो ।

त्यसैगरी फ्रान्सका १९ वर्षीय स्ट्राइकर एम्बाब्पे योङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । कुनै बेला नेपालसँगै फिफा वरियतामा रहेको क्रोएसिया यो विश्वकपमा मोड्रिचकै प्रेरणादायी प्रदर्शनमा फाइनलसम्म पुग्न सफल भएको हो ।

सर्वाधिक ६ गोल गरेका ह्यारी केनलाई गोल्डेन बुट

रसियामा भएको विश्वकप फुटबल प्रतियोगिता भर सर्वाधिक ६ गोल गरेका इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनले गोल्डेन बुट जितेका छन् । विश्वकपमा महत्वपूर्ण मानिने यो उपाधि जित्ने उनी इङ्ल्यान्डका दोस्रो खेलाडी भएका छन् । यसअघि सन् १९८६ मा भएको विश्वकप फुटबल प्रतियोगितामा ग्यारी लिङ्करले गोल्डेन बुट जितेका थिए ।

गोल्डेन बुटका लागि केनका मुख्य प्रतिस्पर्धी बेल्जियमका रोमेलु लुकाकुले इङ्ल्यान्डविरूद्धको खेलमा गोल नगरेपछि उनले जित्ने पक्का जस्तै थियो । विश्वकप तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा केन र लुकाकु दुवै गोल चुके । ह्यारी केनको ६ गोलमै विश्वकप यात्रा समाप्त हुँदा लुकाकुको ४ गोलमै विश्वकप यात्रा टुंगियो ।

समान ४-४ गोलनै भएका रुसका डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यसअघि नै विश्वकपबाट बाहिरिइसकेका थिए । यो विश्वकपमा फ्रान्सका एन्टोनी ग्रीजम्यान र केलिएन एमबाप्पेले पनि समान ४/४ गोल गरे । फ्रान्स र क्रोएसियाबीच फाइनलमा समेत केनको जति गोलसंख्या कसैले पुर्याउन सकेनन् । फ्रान्सका ग्रिजम्यान र एमबाप्पेले गोल्डेन बुट जित्न कम्तिमा ३ या त्यो भन्दा माथि गोल गर्नुपर्ने थियो । तर उनीहरूले फाइनलमा १/१ गोल मात्रै गरे ।

को हुन् ह्यारी केन ? 

ह्यारी केनको जन्म सन् १९९३ मा लण्डनको वेल्थम्स्टमा भएको हो । सानैबाट फुटबलमा रुचि राख्ने केनले इंगल्याण्डका पूर्वफुटबलर डेभिड बेकह्यामले अध्ययन गरेकै विद्यालयमा पढेका थिए । उनी सानैदेखि निकै चलाख थिए । फुटबलको टोलीमा नेतृत्वको कला पनि उनीमा भरपूर रहेको विद्यालयका शिक्षकहरुले बताएका थिए । केनलाई फुटबलको करियर थाल्दा केही समस्या पर्यो । उनले बालककालमा रिड्गवे रोभर्सको लागि खेल्थे, जहाँ डेभिड बेकह्यामले पनि खेलेका थिए । उनलाई आर्सनल र टोटनह्यामले परीक्षणको क्रममा असफल भएको भन्दै लिन अस्वीकार गरेका थिए ।

धेरै तौलको भएकाले उनलाई ती क्लबहरुले लिन मानेका थिएनन् । पछि वार्टफोर्डमा टोटनह्यामविरुद्ध राम्रो प्रदर्शन गरेपछि उनी टोटनह्यामकै नजरमा परे । उनलार्इ टोटनह्यामकै प्रशिक्षकले आफ्नो टोलीमा राख्ने निर्णय गरेका थिए । यो पटकको विश्वकपमा केनलाई अत्यधिक मार्किङ गरिएको थियो । यो विश्वकपमा निकै घातक मार्किङ गरिएका स्ट्राइकरमा केन सबैभन्दा अगाडि थिए । तर पनि उनले ६ गोल गर्दै गोल्डेन बुट जिते । ह्यारी केनको दुई घर छन् । प्रेमिका कटेइ गुडल्याण्डसहित उनी एसेक्समा बस्छन्न् । यो घर निकै शानदार छ । यो घरमा उनीहरुकी एक छोरी पनि छन् । केनको दोस्रो घर टोटनह्यामको मैदाननजिकै छ ।

एम्बाप्पे, बने उत्कृष्ट युवा खेलाडी

फ्रान्सका केलियन एम्बाप्पेले पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् । फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरे । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी हुन् । सन् १९५८ को विश्वकपमा गोल गर्दा पेले १७ वर्ष २४९ दिनका थिए ।

यसअघि उनले विश्वकपको एकै खेलमा दुई गोलको पेलेको रेकर्ड पनि बराबरी गरेका थिए । यसरी हेर्दा फ्रान्सको पेलेका उपनाम पाएका एम्बाप्पे साँच्चै पेलेलाई पछ्याइहेको देखिन्छ । उनले रुस विश्वकपकै उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका छन् ।

रूस विश्वकपका रोचक पक्ष

विश्वकपको २१औं संस्करण सकिएको छ । यो विश्वकपमा केही सम्झनलायक घटना पनि भएका छन् । यो विश्वकपमा सबैभन्दा पाका उमेरका खेलाडी इजिप्टका इसाम एल हादारी रहे । समूहगत चरणको खेल सकिँदा जुन २५ तारिखमा उनको उमेर ४५ वर्ष एक सय ६१ दिन पुगेको थियो । उनी विश्वकप खेल्नै हालसम्मकै सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन्।

मेक्सिकोका राफेल माक्र्वेजले पनि सर्वाधिक पाँच पटक विश्वकप खेल्ने कीर्तिमानसँग बराबरी गरेका छन् । रुस विश्वकपमा पाँचौं पटक देशको प्रतिनिधित्व गरेका माक्र्वेजले आफ्नै देशका एन्टोनियो कार्बाजल र जर्मनीका पूर्वमिडफिल्डर लोथर म्याथ्युजको कीर्तिमानसँग बराबरी गरेका हुन् । कार्बाजल र म्याथ्युजले पनि पाँच÷पाँच पटक विश्वकपमा सहभागिता जनाएका छन् ।

यसैगरी यो विश्वकपमा अस्ट्रेलियाका ड्यानियल अर्जानी सबैभन्दा कम उमेरमा खेलाडी बने । समूहगत चरणमा फ्रान्सविरुद्ध आफ्नो पहिलो खेल खेल्दा उनी १९ वर्ष एक सय ६३ दिनका थिए । उनी खेलको ८४औं मिनेटमा परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए । विश्वकपको इतिहासमा आफ्नै दाजुलाई परिवर्तन गर्दै मैदानभित्र प्रवेश गर्ने खेलाडीको कीर्तिमान भने मोरक्कोका सोफयन अमराबटले बनाए । समूहगत चरणको इरानविरुद्धको खेलमा २१ वर्षीय सोफयनले ३१ वर्षीय आफ्नै दाजु नोर्दिनलाई ७६औं मिनेटमा स्थानान्तरण गरेका थिए । विश्वकपको इतिहासमा यो पहिलो घटना हो ।

विश्व फुटबल महासंघ (फिफा) ले यही विश्वकपदेखि खेल अतिरिक्त समयमा गए थप एकजना खेलाडी परिवर्तन गर्न पाउने नियम सुरु गरेको थियो । आयोजक रुस यो नियमको सदुपयोग गर्ने पहिलो देश बन्यो । रुसले स्पेनविरुद्धको प्रिक्वार्टरफाइनल खेलमा चौथो खेलाडीको रूपमा एलेक्जेन्डर एरोखिमलाई ९७औं मिनेटमा मैदान छिराएको थियो । निर्धारित ९० मिनेटमा भने एउटा टोलीले तीनजना खेलाडीमात्र परिवर्तन गर्न पाउने प्रावधान छ ।

यसैगरी यही विश्वकपदेखि पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को पद्धति पनि प्रयोगमा ल्याइएको थियो । फ्रान्स यो प्रविधिलाई प्रयोग गरी गोल गर्ने पहिलो टोली बन्यो । समूहगत चरणमा अस्ट्रेलियाका जोसुवा रिसोनले डीबक्सभित्र फल खेलेपछि रेफ्रीले भीएआर प्रणालीको सहयोगमा फ्रान्सलाई पेनाल्टी प्रहारको मौका दिएका थिए । उक्त पेनाल्टीलाई ५८औं मिनेटमा फ्रान्सका एन्टोइन ग्रिजम्यानले सदुपयोग गरेका थिए ।