एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको शनिबार साँझ इण्डोनेसियाको जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरेका छन् । इनर्जी अफ एसिया अर्थात् एसियाको शक्ति भन्ने सन्देश बोकेर १८ औं एसियाली खेलकुद शनिबार इन्डोनेसियाको राजधानी सहर जकार्तामा सुरु भएको छ ।

इन्डोनेसिया पहिलोपल्ट आयोजक बन्दा नेपालले भाग लिएको थिएन । यसपल्ट एसियाडकै इतिहासमा सबैभन्दा धेरै खेल र खेलाडी लिएर नेपाल एसियाडका लागि जकार्ता आइपुगेको छ । नेपालले २९ खेलमा १ सय ८७ खेलाडीलाई उतार्दै छ । त्यसमा ५६ महिला खेलाडी छन् । विगतका संस्करणमा भन्दा यसपालि धेरै खेलका खेलाडीले वैदेशिक प्रशिक्षण पाएका छन् । त्यसले गर्दा पनि पछिल्ला संस्करणको तुलनामा राम्रो नतिजा ल्याउने दाबी गर्छन् नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्ट । उनले भने, ‘विगतमा भन्दा यसपल्ट राम्रो नतिजा ल्याउँछौं ।’
तर स्वर्णपदक जित्न भने कठिन हुने उनको निष्कर्ष थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव समेत रहेका विष्टले तेक्वान्दो, कराँते, जुडो, उसु, बक्सिङसहित नयाँ खेलका रूपमा एसियाडमा प्रवेश पाएको पाराग्लाइडिङ र स्केटिङबाट पदक जित्ने सम्भावना रहेको बताए । उनले आफूलाई खेलाडीहरूले वैदेशिक भ्रमणमा गरेको प्रशिक्षण र नतिजाका साथै प्रशिक्षकले दिएको रिपोर्टका आधारमा पदक जित्ने दाबी गरिएको बताए ।

तेक्वान्दो टोली झन्डै साढे दुई महिना दक्षिण कोरियामा प्रशिक्षण गरेर सीधै जकार्ता आएको हो भने कराँतेले जापान, उसुले चीन, बक्सिङले थाइल्यान्ड र स्केटिङले हङकङमा प्रशिक्षण गरेका थिए । पाराग्लाइडिङले पनि पछिल्लो महिना चीनमा प्रि–विश्वकपमा प्राप्त गरेको पदक र नतिजाका आधारमा एसियाडमा पदकको आस गरेको हो ।
सेभ द मिसन विष्टले एसियाडको प्रदर्शन नेपालका लागि १३ औं साग खेलकुदलाई महत्त्वपूर्ण हुने भएकाले यसपालि त्यहीअनुसार खेलाडी सहभागिता गरिएको बताए । उनले वैदेशिक प्रशिक्षणसहित एसियाडकै लागि भनेर सरकारसँग ८ करोड माग गरिएको तर हाल ५ करोडमात्र निकासा भएको जानकारी गराए । उनका अनुसार ६ करोडभन्दा बढी खर्च भइसकेको र अन्य शीर्षकबाट खर्च गरिएको छ ।
दक्षिण कोरियाको चुनबुक युनिभर्सिटीमा प्रशिक्षण गरेर फर्केका तेक्वान्दो टोलीका प्रशिक्षकमध्ये एक र एसियाडका दोहोरो कांस्य विजेता दीपक विष्ट पछिल्लो समय खस्केको तेक्वान्दोका साख जोगाउन सबै खेलाडीले कडा मिहिनेत गरेको बताए । उनले भने, ‘हामीले दुई महिना कोरियामा कडा परिश्रम गरेका छौं । दुईवटा प्रतिस्पर्धात्मक प्रतियोगितामा पनि भाग लियौं । त्यसमा गरेको प्रदर्शनले गर्दा एसियाडमा राम्रो नतिजा आस गरेका छौं ।’

पछिल्लो दुई एसियाडमा तेक्वान्दो पदकविहीन भएको थियो । त्यस्तै कराँतेलाई पनि इन्चोन एसियाडको साख जोगाउनु छ । कराँतेले पनि छोटो समय भए पनि जापानमा प्रशिक्षण गरेर आएको छ । पछिल्लो एसियाडमा विमला तामाङले कातामा जितेको कांस्य नै इन्चोनबाट भित्र्याएको नेपालको एकमात्र पदक थियो ।
यसपालि कराँतेले बन्द प्रशिक्षण पोखरामा गरेको थियो । त्यसपछि १५ दिनका लागि जापानमा विशेष प्रशिक्षणको मौका पाएको थियो ।
साख जोगाउन सक्छ त कराँतेले ? प्रशिक्षक दीपक श्रेष्ठ भन्छन्, ‘हामीलाई साख जोगाउने चुनौती छ । त्यही भएर पनि हामीले प्राप्त अवसरमा कठिन प्रशिक्षण गरिरहेका छौं । पदक जितेर साख जोगाउनलाई भने अन्तर्राष्ट्रिय एक्सपोजर पुगेको छैन भन्ने ठानेका छौं । हामीले तयारीमात्र गर्यौं तर एक्सपोजर दिन नपाउँदा आफ्नो स्तरबारे थाहा नै पाउँदैनौं । अनि अरूले कस्तो गरिरहेको छ भन्ने पनि थाहा हुँदैन । दुवैको जाँच्नका लागि त अन्तर्राष्ट्रिय एक्सपोजर नै चाहिन्छ ।’

नेपालको एसियाड पदक इतिहास (१ रजत, २२ कांस्य)
१९८६, सोल, दक्षिण कोरिया
बक्सिङबाट ४ कांस्य – स्व. दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल, मनोजबहादुर श्रेष्ठ
तेक्वान्दोबाट ४ कांस्य – राजकुमार राई, विधान लामा, रामबहादुर घर्ती क्षेत्री, राजकुमार बुढाथोकी
१९९०, बेइजिङ, चीन
बक्सिङबाट १ कांस्य – चित्रबहादुर गुरुङ
१९९४, हिरोसिमा, जापान
तेक्वान्दोबाट १ कांस्य – मानबहादुर शाही
कराँतेबाट १ कांस्य – सीता राई
१९९८, बैंकक, थाइल्यान्ड
तेक्वान्दोबाट १ रजत – सविता राजभण्डारी
तेक्वान्दोबाट २ कांस्य – सपना मल्ल र किशोर श्रेष्ठ
कराँतेबाट १ कांस्य – समरबहादुर गोले
२००२, बुसान, दक्षिण कोरिया
तेक्वान्दोबाट ३ कांस्य – दीपक विष्ट, रेनुका मगर र रितुजिमी राई
२००६, दोहा, कतार
तेक्वान्दोबाट ३ कांस्य – दीपक विष्ट, मनिता शाही र आयशा शाक्य
२०१०, ग्वान्झाउ, चीन
बक्सिङबाट १ कांस्य – दीपक महर्जन
२०१४, इन्चोन, दक्षिण कोरिया
कराँतेबाट १ कांस्य – विमला तामाङ










