गीतकार लाक्पा डेण्डी शेर्पाको एल्वम ‘दुई नयन’ सार्वजनिक

राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गीतकार डा.कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले अमेरिका बस्दै आएका गीतकार लाक्पा डेण्डी शेर्पाको एल्वम ‘दुई नयन’संयुक्त रुपमा एल्बम सार्वजनिक गरे । जसमा जगदिश समाल, यशोदा पराजुली , विष्णु अधिकारी, गणेश पराजुली, यम बराल, डोमा शेर्पा, एपी शेर्पा र मेलिना राईको स्वर रहेको छ, भने संगीत ओम कर्माचार्य, सन्तोष श्रेष्ठ, गणेश पराजुलीले भरेका छन् ।

एल्बममा बुद्धले परिनिर्माण, स्वच्छ आकाश, उठौँ वीरका सन्तति, म त अस्मिता लुटिएकी, (केटा–केटी भर्सनमा छ) र माथि है साल्पा लेकैमा बोलका गीत रहेका छन् । गीतकार शेर्पाले आफ्ना दुई छोरीमा समर्पित गर्दै एल्बमको नाम ‘दुई नयन’ जुराएको जनाएका छन् । आफ्ना छोरीहरु आँखाको नानीजस्तै भएकाले आफ्नो पहिलो सांगीतिक कोशेलीलाई ‘दुई नयन’ नामांकन गरेको उनले बताए ।कार्यक्रममा डा.बरालले गीतकार शेर्पाका गीतहरु मन छुने रहेको बताए । ‘एल्बममा समावेश राष्ट्रिय गीतले मेरो मन छोयो’ बरालले भने ‘विदेशमा रहेर पनि नेपाली गीति लेखनमा शेर्पाले देखाएको मोहलाई सकरात्मक रुपमा लिनुपर्छ ।’