भजन गायनमा समर्पित: रमना श्रेष्ठ ।

नेपाली भजन गायनमा समर्पित नाम हो रमना श्रेष्ठ । नेपाली तथा नेवारी दुवैभाषामा उत्तिकै भजन गाएर आफ्नो नाम विस्तार गर्न सफल रमना नेपाल राष्ट्रिय ज्ञानमाला समितिकी केन्द्रिय अध्यक्ष समेत हुन् । एक दर्जन भजन एल्बम उनका प्रकाशित भैसकेका छन् । सम्भवत् नेपालमा सबैभन्दा धेरै भजन एल्बम निकल्ने गायिक रमना नै हुन । भजनप्रतिको यस्तो समर्पण कुनै गायिकामा पनि देखिएको छैन । रमनाको उत्साह, जागँर जोश सबै भजनमै लागेको छ । सकारात्मक सोच र चिन्तनले उनलाई सधैं ताजा र प्रफुल्ल बनाएको छ ।

वि.सं. २०१८ सालमा धरानमा पिता लक्ष्मीबहादुर हलुवाई र माता इन्दिरा हलुवाईको छोरीको रुपमा जन्म भएको थियो । बाल्यकालदेखिनै गायनमा रमाउँदै आएकी भए पनि प्रारम्भमा गीत गाउन लाज मान्थिन् । पिता लक्ष्मी बहादुर पनि गायनका सौखिन रहेकाले छोरीलाई गायनमा
प्रोस्ताहित गरिरहन्थे । सानै बेलामा रमना पिताको अगाडि गाउनै सक्दिन थिइन । साथीसंगीहरु माझ र एकान्तमा गीत गुनगुनाएता पनि बुबाको अगाडि गाउन उनलाई लाज लाग्थ्यो । एकपटक बुबाले गाउन लगाउँदा पटक्कै नसकेको कुरा उनलाई अझै याद छ ।
पछि गएर गायिका नै बन्छु भन्ने त उनले एकरत्ति पनि सोचेकी थिइनन् । तर एकपटक घरमै भएको टेप रेकर्डरमा आफ्नो आवाज रेकर्ड गरेर सुनेपछि भने उनमा गायनको रहर भने जागृत भयो । आफ्नो स्वर आफैलाई मन प¥यो । स्कूले कार्यक्रमहरुमा सहभागी ह ुन थालिन् । शिक्षक शिक्षिकाले प्रोत्साहित गरिरहे ।

तैपनि उनको प्रतिभाले सहि आकार भने पाउन सकेको थिएन । वि.सं. २०३५ सालमा हरिकृष्ण श्रेष्ठसँग विवाहवन्धनमा वाधिँएपश्चात् उनको प्रतिभाले सहि रुप पायो । संगीत मनपरे पनि खुल्न नसक्ने प्रवृत्तिले उनको प्रतिभाले आकार पाउन निक्कै समय लाग्यो । श्रीमान् हरिकृष्ण श्रेष्ठले उनमा गायन प्रतिभा रहेको पत्तो पाएपछि मात्रै उनी खुलेर गायनमा आउन थालिन् । यसरी घरैबाट प्रेरणा र प्रोत्साहन मिलेपछि भजन गायनमा देखा पर्न थालिन । २०४९ सालमा धरानमा सम्पन्न तेस्रो राष्ट्रिय बौद्ध सम्मेलनमा पोखराबाट आएका गायक संगीतकार सोम बज्राचार्यले रेकर्ड गर्ने अवसर दिएपछि मात्रै रमनाको स्वर आम जनमानसमा सार्वजनिक भयो । त्यसपछि मात्रै रमनाले विधवत् रुपमा गुरु राखेर संगीत सिक्न थालिन् ।


श्रीमान् हरिकृष्ण पनि संगीत पारखी भएकाले रमनालाई निक्कै सजिलो भयो । श्रीमान् पनि आफ्नी श्रीमतीको आवाजमा लता मंगशकरको स्वर सुन्न पाए दंग । उनले रमनालाई संगीत सिक्न घरमै गुरुको व्यवस्था गरिदिए । मन लगाएर सिक्दै गएपछि रमना छिट्टै समक्ष पनि बन्दै गइन ।
औपचारिक शिक्षा वि.कम उत्र्तिण रमनाले पछि संगीतमा पनि वि.म्युज गरिन् । घर सम्हालेर गायनमा पनि सक्रिय बन्दै आइन् । २०४८ साल ताका बुद्ध भजन कार्यक्रममा खासै महिलाहरु सक्रिय थिएनन् । यो देख्दा उनलाई रहर लाग्यो । उनी सक्रिय बन्दै गइनन् । गाउन थालेपछि उनलाई पछ्याउनेहरु पनि निस्किदै गए । उनको पनि लोकप्रियता बढ्दै गयो । उनको स्वरमा भजन रेकर्ड गराउनेहरु पनि निस्कन थाले । रेडियो नेपालबाट स्वरपरीक्षा पनि उत्तिर्ण गरिन् ।

यहाँ हेरे वहाँ हेरेँे कहाँ रहेछ बुद्ध
मनको भित्र चिहाइ हेरे यहाँ पो रहेछ बुद्ध

सुवर्ण बज्राचार्यद्वारा लिखित र सोम बज्राचार्यद्वारा संगीवद्ध यही भजनमार्फत गायनमा देखापरेकी रमना श्रेष्ठले यस पश्चात् आफ्नो गायनलाई निरन्तरता दिइनै रहिन् । २०४९ सालमा ‘अमृताञ्जली भजन श्रृंखला’ बाट भजन एल्बम निकाल्ने क्रम प्रारम्भ भएको थियो उनको । यो क्रम आज पनि जारी छ । यस पश्चात् ज्ञानमाला भजन संग्रह भाग १, भाग २, शान्ति सन्देश भाग १, २, ३ नमो बुद्धाय, ‘द धम्पद च्यान्टिङ’ बुद्ध पूजा, द सुभाषित र बुद्धानुभव, जस्ता भजन संगं्रह प्रकाशनमा ल्याएर अफ्न गायनलाई निरन्ताता दिइन. । यति धेरै भजन संग्रह निकल्ने उनी एकमात्र गायिका हुन ।
रमनाका भजनहरु बौद्धिक छन् । बुद्ध गाथाहरु अध्ययन मनन् गरेर तिनै मन्त्रहरुलाई समेटेर बनाइएका अरुका भन्दा विशेष छन् । यी संग्रहहरुले रमनालाई बौद्धिक कोटीकी आध्यात्मिक चिन्तनले युक्त गायिका प्रमाणित गरेका छन् ।

उनी भजन गायनमा मात्र सिमित छैनन् । आधुनिक शैली र लो शैलीका थुप्रै गीत गाएकी छिन् । अझ चलचित्रमा उनले गाएका गीतहरु लोकप्रिय नै छन् ।
मेरा माया साह्रै राम्री रामजाने
इन्द्रकमल फूलजस्तै राम्री रामजाने
रामजाने रामजाने रामजाने रामजाने
एकै नजर पर्दैमा ज्यान जाने

रातो टिका निधारमा टलल्लक टल्कियो
ढाका टोपी शिरैमा ढलक्क ढल्कियो
एक बिजुलीको तार, तार
फुसर्द भए भेटौं शनिवार

रंगीचंगी वैशमा फुलेकी
हेर मुहार थपक्कै बलेकी
ए गोली शिशाको मेरो माया किन रिसाको

ए ताजा खबर ज्यानमाया नहेर कर्के नजर
घन्कियो तालैमा
घिन घिन मादल मोहनी छ तिम्रै त्या आँखैमा
चुल्ठोबाटी शिरैमा म त बसै तिम्रो सिरैमा

यी बाहेक यिनका उड्यो लान उड्यो, नाच देउ छमछमी, यो जीवन, बोलका चलचित्र गीत पनि लोकप्रिय छन् । वि.सं. २०५३ सालमा चलचित्र ‘निरमाया’ बाट पाश्र्व गायनमा देखापरेकी यिनले अल्लारे, गाउँले जीत, सुकुम्वासी, क्रोध,चमत्कार, नातेदार, षडयन्त्र जस्ता चलचित्रमा गाएकी छिन् । आधुनिक गायनतर्फ तिम्रै लागि साज आवाज र विदेशको मोह नामक एल्बम पनि आइसकेका छन् ।

यसरी सबै प्रकारबाट गीतहरु गाए पनि यिनको मूल परिचय ‘बुद्ध भजन गायिका’ नै बनिसकेको छ । सरल स्वभाव, मीठो बोलीवचन, आध्यात्मिक चिन्तन, सकारात्मक सोच अध्ययनशील बानीले यिनलाई पछ्याएको छ । लोभलाग्दो व्यक्तित्व बनाएको छ । भजन र धर्मसम्बन्धी दर्जनौं संघसंस्थामा यिनको आवद्धता छ । स्वदेश तथा विदेशका दर्जनौं कार्यक्रममा यिनको सहभागिता चलिरहेको छ । गायन पनि मीठो छ । सबै कुरामा सिद्धहस्त छिन् । भजनमा उनको विशेष योगदान देखिन्छ । हुन् त भजन अरु गायिकाले पनि नगाएका हैनन् तयार यसरी संस्थागत योगदान दिने थोरै गायिकाम यिनी विशेष छिन् ।