अविरल यात्राको तेस्रो शृंखला सम्पन्न

अविरल यात्राको तेस्रो शृंखला आज सम्पन्न भएको छ । गायिका ज्ञानु राणाको सम्मानार्थ आयोजित यो शृंखलामा ज्ञानु राणाकै गीतहरु समावेश गरिएको थियो । गायिका ज्ञानुलाई रु एक लाख सहित सम्मान अर्पण गरिएको यो कार्यक्रममा नेपालका उत्कृष्ट २१ वाद्यवादकको राम्रो अर्केष्टा प्रस्तुतिमा गायकहरु सुरजकुमार थापा, महेन्द्र श्रेष्ठ , विकाश राणा गायिकाहरु प्रश्ना शाक्य , सरिता शाही र मिना निरौलाले एकल युगल सामुहिक गीत गाएर ज्ञानु राणालाई साथ दिएका थिए । केहि गीत ज्ञानु आफैले पनि प्रस्तुत गरेकी थिईन । परिचालकको रुपमा राजु सिंहले राम्रो भुमिका निभाएका थिए । प्रस्तुतिमा आएका सबै गीतको स्वरलिपी उनले नै तयार पारेका थिए ।

१६ वटा गीत समावेश यो कार्यक्रम रुस्लान भोड्काको प्रस्तुतिमा हिडन ट्रेजरको आयोजनामा सम्पन्न भएको थियो । दर्शकदीर्धामा राम्रो संगीत प्रेमीहरुको साथ रहदा रहदै पनि कार्यक्रममा उनीहरु खासै रमाउन सकेको अनुभूति गर्न सकिएन । गीतको मज्जा खासै दर्शकले लिएको देखिएन ।कार्यक्रम व्यवस्थापनमा कुनै त्रुटि नरहे पनि पुर्वकार्यमा गरिएका गम्भिर कमजोरीले कार्यक्रम सोचेजस्तो भव्य बन्न सकेन ।

बिशेषगरि गायक छनौटमा राम्रो ध्यान पुर्याउन सकेको देखिएन । गायिकाको दमदार प्रस्तुतिमा गायकहरु फिक्का देखिए । गीतहरु उनीहरुलाई पट्क्कै सुहाएन ।अझ राम्रो गायन प्रतिभा देखाएर ढिलै भए पनि राम्रै तारिफ पाउदै आएका गायक सुरज कुमारले पनि दमदार प्रस्तुति दिन नसकेको देख्दा दर्शकदीर्धा अचम्मित बनिरहेको थियो । गीत छनौटमा पनि खाशै राम्रो देखिएन । ज्ञानु राणालाई चिनाउने र उनकै गायनयात्रामा लोकप्रिय रहेका गीतहरु समेटिएको भए कार्यक्रम बिशेष हुने थियो । यसमा छनौटकर्ता नराम्ररी चुके ।

कार्यक्रममा बरु मुल गायिका ज्ञानु नै राम्ररी जमेको देखियो । आफु गायनमा अझै फिट रहेको कुरा उनले प्रमाणित गरिन । मुल सर्जकलाई क्रेडिट दिने सबालमा पनि कतिपय नाउ छुटेको देखियो । कार्यक्रमको उद्देश्य सहि भए पनि सहि मान्छे सहि ठाउमा छनौट गर्न आयोजक चुकेकाले कार्यक्रमले दिनु पर्ने मज्जा दिन सकेन । कार्यक्रम संचालनको जिम्मा पाएकी सहाना बज्राचार्यले भने मिठो कुरा गरेर आफुमा राम्रो सागीतिक ज्ञान र उदघोषणकला रहेको प्रमाणित गरिन । कुरो जतिसुकै तितो मिठो गरे पनि यस्ता कार्यक्रम नेपाली सागीतिक क्षेत्रमा हुदै गरे कल्याण नै हुने देखिन्छ ।