बी डिभिजन लिग : दुबै खेल बराबरीमा

 बाँसबारी र टुसाल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोवाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा बाँसबारीका लागि अनुज भण्डारीले ११ औं मिनेटमा पहिलो गोल गरे । सुजन लिम्बुले १४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

टुसालका युवराज ढकालले २४ औं र मनिष सेढाईले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । मंगलबारनै भएको अर्को खेलमा झम्सीखेल युथ क्लब र नयाँबस्ती युवा क्लबले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । लिगकम नकआउटमा आधारमा सञ्चालित लिगमा ‘बी’ डिभिजनमा रहेका १२ क्लबले भाग लिएका छन् ।

त्यस्तै, आजै भएको अर्को खेलमा झम्सिखेल युथ क्लबले नयाँबस्ती युवा क्लबसँग गोलरहित बराबरी खेलेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगको विजेता टोलीले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत तर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।