गायक दीपक बज्राचार्यले आफ्नो नयाँ गीत ’मनमगन’ सार्वजनिक


गायक दीपक बज्राचार्यले आफ्नो नयाँ गीत ’मनमगन’ सार्वजनिक गरेका छन् । सार्वजनिक गीतलाई दीपकले आयोजित कन्सर्टमा सार्वजनिक गरेका थिए । राजधानी स्थित सिभिल मलमा आयोजित कन्सर्टमा दीपकले आफ्नो गीत पनि सार्वजनिक गरेका हुन् । दीपकको एकल कन्सर्टमा उनले आफ्नो चर्चित गीत मार्फत उपस्थितलाई मनोरंजन दिईरहेका थिए । यसै बीच उनले ’मनमागन’ पनि देखाए । उपस्थितले उनको गीतलाई रुचाए । गीत सार्वजनिक समारोहमा गीतका गायक दीपकसँगै भिडियोका निर्देशक सुव्रतराज आचार्यको उपस्थिति रहेको थियो । दीपकले अल्लारे , ओ अमिरा , जुजु नाना नाना , कालि कालि , सानी , प्रिय तिमि आयौ बोलको गीत गाएका थिए । उनको छोरी चेरिसा बज्राचार्यले पनि एक गीत गाएकी थिइन् ।

 


दुई दशकअघि पपगायन र संगीत मार्फत उदाएका एक प्रतिभाशाली गायक दिपक बज्राचार्यले अनवरत आफ्ना गीतसंगीतले हरेक वर्ग र उमेरका दर्शक तथा श्रोताहरुलाई झुमाइरहेका छन् । यो दुई दशकमा समयले धेरै कोल्टे फेरी सकेको छ । यो अवधिमा प्रविधिले पनि समाजका हरेक वर्गमा आफ्नो जरो गाडिसकेको छ । प्राविधिक रुपमा अत्याधुनिक बन्दै गएको संसारको परिवर्तनसंगै पपगायनमा पनि आधुनिकताले राम्रै प्रभाव पारेका छ । गायक दिपक बज्राचार्य भने समयको बहावमा नबगेर पछिल्लो पटक ओझेलमा पर्न थालेको हाम्रो आफ्नै मौलिक पहिचान र मौलिक संगीततर्फ मोडिएका छन् । आफ्ना गीतहरुमा उनले परम्परागत बाजाहरुको उपयोग गरेर मौलिकपना पस्किन थालेको धेरै भैसकेको छ । गतबर्षको ‘सानी’ र ‘अल्लारे’ त्यसकै पछिल्लो श्रृंखला हो भने मनमगन त्यसकै सबैभन्दा ताजा उदाहरण हो । यसका सर्जक गायक दिपक बज्राचार्यको शब्दमा मनमगन मात्र एउटा गीत होइन, यो एउटा संस्कृति हो ।
अहिले गीतलाई सुनेर मात्र होइन, हेरेर पनि मनोरन्जन लिने बेला हो । वास्तवमा गीतसंगीतले नाचगानलाई पनि परिभाषित गर्छ । गीतसंगीतको धुनमा आनन्द लिन त सकिन्छ नै, तर गीतसंगीत बजाएर नाच्नु पनि हाम्रो संस्कृतिको एउटा भाग हो । देशभरी हुने विभिन्न जात्रा तथा पर्वहरुमा बजाइने बाजा र नाच परम्परागत हुन्, जसले हाम्रो सांस्कृतिक पहिचान बोकेको छ । दिपकले त्यसैलाई मनन गरेर एउटा कमर्सियल धुन बनाउने जमर्को गरे, जसमा नेपालको परम्परागत बाजाको ताल र धुन समेटियोस् । गीतको सिर्जनामा उनले नेपाली बाजाको प्रयोगलाई प्राथमिकता दिए, जसमा दिपकको आफ्नो पहिचान हुनैपथ्र्यो, झुमाउने र नचाउने ।

अन्ततः रिकी शाक्यसंग मिलेर दिपकले एउटा धुन तयार पारे, जसमा उल्लासपूर्ण शब्द भर्ने काम रिकीले नै गरे । धिमे बाजाको ताललाई पृष्ठभूमीमा राखेर अरु परम्परागत बाजाहरु जस्तै मादल, सारंगी आदिलाई समेटेर संगीत संयोजन गर्यो, दिपककै संगीत समूह रिदम ब्याण्डले । यसरी गीतका रुपमा तयार भयो, मनमगन । मनमगनको म्युजिक भिडियोको अवधारणा गीत संगसंगै तयार भैसकेको थियो । चेरिसा बज्राचार्यले बनाएको अवधारणालाई मुर्त रुप दिनु थियो । निर्देशक सुव्रतराज आचार्यको टिमले त्यसलाई साकार गर्ने अभिभारा लियो । झण्डै १५० जना कलाकार तथा नृत्य समूहले परम्परागत तथा आधुनिक शैलीको नृत्यको फ्युजन म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् । ज्येष्ठ नागरिकहरुको आजुगणदेखि अत्याधुनिक हिपहपका साथै सुदुरपश्चिमको तराईमा नाचिने छलिया नाच, पहाडको झ्याउरे, ताम्सलिङ लिम्बुवानको झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी र धुनिया घुमाउने अनि उपत्यकाको परम्परागत नाच धिमेनाच लगायतलाई मनमगनको म्युजिक भिडियोमा समेटिएको छ । सांस्कृतिक आदानप्रदान अहिले अवस्थामा सबैभन्दा आवश्यक रहेको छ । त्यही कुराहरु मनमगनको गीत,संगीत तथा म्युजिक भिडियोमा हेर्न र सुन्न पाइनेछ । मनमगनलाई विक्रम सम्बत २०७५ को शुभकामनासहित बैशाख १ गते सार्वजनिक गरिएको छ ।