साफ च्याम्पीयनसिप : भुटान बाहिरियो

आयोजक नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।विराटनगरको शहीद रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । नेपाल रहेको समूह ए मा ब‌ंगलादेश र भुटान रहेका छन् । भुटान दुबै खेलमा पराजित भएर बाहिरिएको छ भने नेपाल र ब‌ंगलादेश सेमिफाइनलमा पुगेका छन् । यसअघि नेपालले भुटानलाई ३-० ले पराजित गरिसकेको छ ।

बिहीबार भएको खेलमा बंगालदेशलाई भुटानले पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर भुटानले गोलको अवसर भने सिर्जना गर्न सकेन । १२औं मिनेटमा जहान सिरात सोप्नाले मध्यभागबाट पाएको लामो पासलाई पेनाल्टी एरियामा वान भर्सेस वानमा गोल गर्न चुकिन् ।आक्रामक खेल खेलेको बंगलादेशका लागि भुटानी गोलकिपर संगीता मोंगर बाधक बनेकी थिइन् । उनले बंगालदेशकी कप्तान सविना खातुनले प्रहार गरेको बललाई उत्कृष्ट बचाउ गरिन् ।दोस्रो हाफमा भने सुरुमै भुटानले गोल खायो ।

खेलको ४७ औं मिनेटमा मिश्रात जहान मौसमीले हेडर गोल गर्दै बंगालदेशलाई अग्रता दिलाइन् । उनले मोनिका चक्माको कर्नर प्रहार बललाई हेडर गोल गरेकी थिइन् । यही गोल बंगलादेशका लागि टर्निङ पोइन्ट बन्यो । त्यसपछि ८५ औं मिनेटमा बंगालदेशकी कप्तान साविनाले गोल गर्दै २–० गोलको जीत दिलाइन् ।समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशले १६ मार्चमा प्रतिस्पर्धा गर्दैछ । यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

भुटान बाहिरिने पहिलो टिम 

भुटान प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । पहिलो खेलमा आयोजक नेपालसँग ३–० गोलअन्तरले पराजित भएको भुटानलाई सेमिफाइनल सम्भावना जीवितै राख्न बंगलादेशलाई पराजित गर्नु पर्ने थियो ।त्यही रणनीतिको साथ भुटान मैदानमा छिरेको थियो । उसको रणनीति पहिलो हाफसम्म सफल पनि भयो तर दोस्रो हाफमा भने दुई गोल खादै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।५८ औं मिनेटमा भुटानले पहिलो पटक फ्रिकिकको अवसर पाएको थियो। २५ यार्ड टाढादेखिको सोनाम छोदेनको फ्रिकिक आकासिंदा भुटानले खेलमा फर्कने अवसरको सदुपयोग गर्न सकेन।

७४ औं मिनेटमा खेलकै पहिलो पटक कर्नर प्रहारको अवसर पाएको भुटानले त्यसलाई पनि सदुपयोग गर्न सकेन। सोनामकै कर्नर प्रहारमा डिबक्स भित्रबाट छिरिङ योङदेनले गरेको बाइसाइकल प्रहार पनि पोस्टमाथिमाथिबाट बाहिरिनु भुटानका लागि दुर्भाग्यपूर्ण बन्यो। भुटान प्रतियोगिताकै कमजोर टिम हो । भुटानले साफ च्याम्पियनसिपमा अहिलेसम्म कुनै खेलमा जित हात पार्न सकेको छैन । यो संस्करणमा पनि जीतविहीन रहदै भुटानले आफ्नो यात्रालाई सकाएको छ ।