सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका

साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आयोजक नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह बीको अन्तिम खेलमा श्रीलंकालाई ५-० ले हराउँदै डिफेन्डिङ च्याम्पियन भारत समूह विजेता बनेको छ ।

श्रीलंका भने उपविजेता रहृयो । नेपाल समूह एको विजेता हो । भारतले सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरको शहिद रंगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकामाथि पूरै दबावमा राख्यो । उसले चौथो मिनेटमा नै खेलमा अग्रता लिएको थियो । सन्जुले प्रहार गरेको बल बारमा लागेर फर्किएपछि ग्रेस दङमीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

तीन मिनेटपछि भारतले अर्को गोल गर्‍यो । सन्जुले निकालेको पासमा सन्धिया रंगनाथनले गोल गरिन् । भारतले निकै राम्रो गोल गर्ने अवसर निकाल्दा श्रीलंकाले भने कुनै मुभ नै बनाउन सकेन । खेलको ३६औं मिनेटमा भारतकी इन्दुमथी कठिरेसनले गोल गर्दै भारतलाई ३-० गोलको अग्रता दिलाइन् । ४५औं मिनेटमा गोल संगिता बस्फोरेले पेनाल्टीबाट गोल गरिन् । सन्जुले प्रहार गरेको बल श्रीलंकाकी डिफेन्डर रुसानी गुनावर्दनेले डिबक्सभित्र हृयाण्ड गरेपछि भारतले पेनाल्टी पाएको थियो ।

पहिलो हाफमै चार गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ४७औं मिनेटमा रतनबाला देवी नोङमाइथेनले गोल गर्दै भारतलाई ५-० अग्रता दिलाइन् । उनले सन्धियाको पासमा गोल गरेकी थिइन् ।पहिलो हाफको तुलनामा दोस्रो हाफमा थोरै सुस्ताएको भारतले अन्तिम समयमा आक्रमक खेल खेलेको थियो तर गोल गर्न भने असफल रहृयो । सेमिफाइनल बुधबार हुँदैछ । पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग विहान ११ बजे प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशसँग ३ बजे प्रतिस्पर्धा गर्दैछ ।

खेल सकिएपछि फोहोर उठाउँदै मेयर 
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई सुम्पिएको छ। प्रत्येक दिन ३ बजे सुरु हुने खेल सकिँदा लगभग ५ बजेको हुन्छ। खेल सकिएर अफिसियल, रेफ्री र खेलाडीले मैदान छाड्न साथ एउटा समूह हतारहतार गर्दै मैदान पस्छ। 

सेतो पोशाकमा रातो बोरा बोकेर मैदान छिर्ने टोलीमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि हुन्छन्। सीएमजी स्वस्थ्य क्लबमार्फत एउटै समूह बनाएर मैदान छिरेका उनीहरु मैदान, प्याराफिट, मञ्च र आसपासमा रहेका फोहोर संकलन गर्न थाल्छन्। क्लबका अध्यक्ष किशोर धमलाले प्याराफिटको सरसफाइदेखि लिएर मञ्च, खेलाडी र अफिसियल बस्ने ठाउँ तथा मैदानको फोहोर व्यवस्थापनमा सुरुकै दिनदेखि खटिएको जानकारी दिए।अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले पनि मैदान र आसपासमा फोहोर हुन नदिनु आफ्नो दायित्व भएको मेयर पराजुलीले बताए।