उपाधिका लागि नेपालले भारतको सामना गर्ने

श्रीलंकामाथि जित निकाल्दै घरेलु टोली नेपाल पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपाल श्रीलंकामाथि ४–० को जित निकाल्दै चौथो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

नेपालको फाइनल यात्रामा पुनम जर्घामगर, अनिता बस्नेत, रेखा पौडेल र सावित्रा भण्डारीले एक–एक गोल गरे । विराटनगरस्थित सहिद रंगशालामा पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा अग्रता लिएको नेपालले दोस्रो हाफमा ३ गोल गर्यो । पाहुना टोली श्रीलंकाले रक्षात्मक खेलपछि गोल गर्न ४२ औं मिनेट कुरेको नेपालका लागि पुनम जर्घामगरले सावित्राको हेडपासमा उत्कृष्ट गोल गरिन् । 

त्यसपछिको इन्जुरी समयमा नेपालले गोलको अवसर सिर्जना गरेपनि गोल थप्न भने सकेन । दोस्रो हाफमा आक्रामक बनेको नेपालले ७३ औं मिनेटमा अग्रता दोब्बर बनायो । नेपालको अग्रता दोब्बर बनाउन अनिता बस्नेतले गोल गरिन् । किपरबाट रिबाउन्ड भएको बल अनिताको प्रहारबाट गोलमा परिणत भएको थियो । ८२ औं मिनेटमा सावित्राले नेपाललाई ३–० को अवस्थामा पुर्याइन् । अनिताको पासमा सावित्राले हेडमार्फत् गोल गरेकी थिइन् । यो गोलसँगै सावित्राको अन्तर्राष्ट्रिय गोलसंख्या २५ पुगेको छ । उनले योसँगै नेपालकी दोस्रो सर्वाधिक गोलकर्ता जमुना गुरुङसँग बराबरी गरेकी छन् । 

यस्तै ६५ औं मिनेटमा कप्तान निरु थापालाई स्थानान्तर गर्दै मैदान प्रवेश गरेकी रेखा पौडेलले नेपालको अग्रता ४–० मा पुर्याएकी थिइन् । अनिताको पासमा रेखाले राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो व्यक्तिगत गोल गरिन् । बाँकी समय श्रीलंकाको पुनरागमन प्रयास असफल भएपछि नेपाल ४–० ले विजयी भयो ।

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो भारत यसअघिका चारै संस्करणमा च्याम्पियन बनेको छ । शहीद रंगशालामा पहिलो हाफमै तीन गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

१८ औ मिनेटमा डालिमा छिबरले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । २३ औं मिनेटमा इन्दुमती काथिरिसानले अर्को गोल थपिन् । ३७ औं मिनेटमा भारतकी इन्दुमतीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाएकी थिइन् । खेलको अतिरिक्त समयमा भारतकी मनिषाले गोल गर्दै ४–० गोलको जित दिलाइन् । नेपाल ३ पटक फाइनलमा भारतसँग पराजित हुँदा गत संस्करणमा सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।