शिशिर योगीको स्वरमा रहेको ‘आमा’ सार्वजनिक

काठमाडौं । गायक शिशिर योगीको स्वरमा रहेको ‘आमा’ सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन अर्थात मातृ औंशीको अवसर पारेर अर्जुन पराजुलीको शब्द, बीबी अनुरागीको संगीत र शिशिर योगीको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा अधिवक्ता तथा गायक, गीतकार तथा सङ्गीतकार भीमार्जुन आचार्य ‘अर्जुन मिलन’को प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको थियो । मिलाप मासिकको आयोजनामा भएको कार्यक्रममा भीमार्जुनले शिशिर योगीको स्वरमा जादु रहेको भन्दै अर्जुन पराजुलीको शब्द पनि त्यत्तिकै शसक्त रहेकोले गीत निकै राम्रो बनेको बताए । गीतकार तथा कवि अर्जुन पराजुलीले संसारमा आमा भन्ने शब्द सबैभन्दा प्रिय शब्द रहेको बताउँदै शिशिरको स्वर र बीबी अनुरागीको संगीतमा गीत राम्रो बनेको र गीतको भिडियो पनि मन छुने बनेको बताए ।

मिलापका सम्पादक कृष्ण भुसाल, भकारी एमडीसीका अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापालगायतले आमा गीतका बारेमा आ–आफ्ना भनाइ राखेका थिए । गायक शिशिर योगीले यो गीत गाउँदा आफू धेरै चोटी भक्कानिएको बताउँदै सार्वजनिक समारोहमा यो गीत गाउँने प्रयास गरेपनि गाउन नसकेको जनाए ।सञ्जय पाण्डेले निर्देशन गरेको भिडियोमा सरोज खनाल, रश्मी भट्ट, सुस्मिता कार्कीको अभिनय रहेको छ । चक्र महर्जनको छायांकन रहेको गीतको भिडियोलाई दिनेशजंग रानाले सम्पादन गरेका छन् । भिडियो बेष्ट टोन म्युजिकको युट्युव च्यानलबाट सार्वजनिक गरिएको ।