सितारवादक सीतामैयाँले ‘रोज गार्डेन’ लिएर आइन्

                                       

काठमाडौं : सितारवादक सीतामैयाँ राजचलले नयाँ वर्षलाई लक्षित गर्दै ‘रोज गार्डेन’ बोलको धुनको भिडियो सार्वजनिक गरेकी छन्। भिडियोमा प्रियंका कार्की, देव राउत र सर्वेश सुवाल फिचरिङ छन्।

भिडियोको सम्पादन प्रकाश तुलाधर र बुद्ध थापाको छायांकन रहेको छ। भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् भने यसलाई प्रतिमा थापाले निर्माण गरेकी हुन्। गितारमा अनुप दास, बाँसुरीमा नगेन्द्र राई, तबलामा लक्ष्मीप्रसाद डंगोल र मुर्चुंगामा थोमस बर्चीले उनलाई साथ दिएका छन्।

धुनकै तीन एल्बमलाई बजारमा ल्याइसकेकी सीताले संगीतमा मास्टर्स गरेकी छन्। ललितकला क्याम्पसमा ६ वर्षभन्दा बढी अध्यापन गराएकी सीता पछिल्लो समय ‘संगीत थेरापी’ गर्छिन्। ‘संगीत केवल मनोरञ्जनको साधन मात्र होइन’ भन्ने हेतुले उनले यसै माध्यममार्फत विभिन्न रोगको उपचार गर्ने गरेकी छन्। २०५४ सालबाट नै स्टुडियोमा सितार बजाउन थालेकी सीताले केही गीतमा आफ्नो स्वर पनि दिएकी छन्। तर, उनी सितार वादनलाई नै निरन्तरता दिन चाहन्छिन्।

सीताले सन् २००४ मा परम्परा र सन् २०१२ मा टकिङ स्ट्रिङ्स नामक धुन संगृहीत एल्बम बजारमा ल्याइसकेकी छन्। उनले सन् २०१८ मा ‘जर्नी अफ फ्रेट्स’ नामक धुन संगृहीत एल्बम लिएर आएकी छन्। सितार वादनकै लागि देश तथा विदेशका स्टेजमा देखिने गरेकी सीताले पछिल्लो समय उभिएरै सितार बजाउने गरेकी छन्।

सीताको पछिल्लो एल्बम ‘जर्नी अफ फ्रेट्स’मा आठ धुन संगृहीत छन्। यसमा वर्षा, द जर्नी, नटी माइन्ड, रोज गार्डेन, स्टेला अन ड्रिम, री युनियन, मिस्ट्री लभ र द बाउन्डलेस फ्लाइट रहेका छन्।