महिला भलिबलमा नेपालको सुखद सुरुवात

१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५-९, २५-९, २५-११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन्।

विजयी भएपछि नेपाली टीमका कोच जगदीश भट्टले बंगलादेश नयाँ टीम भएकाले आजको जित स्वाभाविक भएको बताए ।”प्रतिद्वन्द्वीले कमजोर खेल्दा खेलाडीले आफनो प्रदर्शन देखाउन सकेनन् । तर पनि नतिजा आफनो पक्षमा पारेका छौं । कमजोर पक्ष सुर्धार्दै भोली भारतविरुद्ध आक्रमक खेल्नेछौं ।  उनले बंगलादेश भलिबलमा नयाँ टिम रहेकाले राम्रो गर्न नसके पनि अरु टिम बलिया रहेको उल्लेख गरे । “हामीलाई घरेलु कोर्ट र समर्थकको फाइदा छ । चार महिनादेखि तयारी गरेका छौं । यसभन्दाअघि भलिबलको नतिजा बिर्साउने गरी खेल्नेछौँ । हिजो के भयो नभई भोलि के गर्नेमा केन्द्रित हुनेछौं”, प्रशिक्षक भट्टले भने ।

कप्तान अरुणा शाहीले पहिलो खेल तथा प्रतिद्वन्द्वी कमजोर बन्दा खेलाडीले सोचेअनुसार खेल्न नसकेको बताइन् । केही खेलाडीले सर्भिस विगारेको प्रश्न बारे कप्तान शाहीले पावर सर्भिस गर्न खोज्दा बिग्रेको बताइन् । बंगलादेशसँगको प्रदर्शनभन्दा बिहिबार भारतविरुद्ध फरक खेल प्रदर्शन गर्ने कप्तान अरुणाको दाबी छ ।

बंगलादेशका प्रशिक्षकले अनुभवी खेलाडी नहुँदा हार ब्यहोरेको बताए । उनले भने, “खेलाडीसँग अनुभव निकै कम छ । लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका हौं । दुई महिनाको मात्र तयारी गरेका हौं । अब बाँकी खेलमा राम्रो गर्ने कोसिसमा हुनेछौँ ।”विजय सुरुआत गरेको नेपालले अब भोलि बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ । पराजित बंगलादेशले शुक्रबार भारतसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले पनि राष्ट्रिय टिममा डेब्यु गरिन् । खेलअघि युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवार विश्वकर्माले अफिसियललाई बल हस्तानतरण गर्दै खेलको उद्घाटन गरेका थिए । १३ औं सागको औपचारिक उद्घाटन भने मंसिर १५ मा हुनेछ । सागमा महिला भलिबलको इतिहास खासै लामो छैन । तीन पटक सहभागिता जनाएको महिला भलिबल टोलीले रित्तो हात भने फर्कनु परेको छैन ।