टेबल टेनिस:सात पदक भित्र्याउने लक्ष्य

१३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत टेबलटेनिस खेलमा नेपालले कूल सात पदक भित्र्याउने लक्ष्य लिएको छ। सन् १९८७ भारतको कोलकातामा भएको तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूदबाट शुरुआत गरेको टेबलटेनिस खेलमा नेपालले यसपटक एक स्वर्ण, दुई रजत र चार कास्य पदक भित्र्याउने लक्ष्य लिएको हो। सन् १९८४ मा नेपालबाट नै शुरुआत गरिएको दक्षिण एशियाली खेलकूद (तत्कालीन दक्षिण एशियाली महासङ्घीय खेलकूद–साफ) को शुरुआती दुई संस्करणमा भने टेबल टेनिस खेल समावेश गरिएको थिएन।

त्यसयता टेबल टेनिस खेलको निरन्तर सहभागिता रहँदै आएको छ। टेबल टेनिस खेलमा हालसम्म नेपालले १९ पदक ल्याएको छ। जसमा एक स्वर्ण, तीन रजत र १५ कास्य पदक छन्।सन् १९९३ बाहेक नेपालले टेबल टेनिसमा कुनै न कुनै पदक भित्र्याएको अखिल नेपाल टेबल टेनिस सङ्घका महासचिव शङ्कर गौतमले बताए।घरेलु मैदानमा नै हुन लागेको सागमा टेबल टेनिस खेलले उत्कृष्ट प्रर्दशन गर्ने सङ्घको विश्वास छ।

महासचिव गौतमले अन्य देशको तुलनामा नेपाली खेलाडीले फरक तरिकाले खेल्ने भन्दै स्वर्ण जित्ने लक्ष्यसहित नेपाली टिमले तयारी गरिरहेको बताए।उनका अनुसार नेपालले तीन बल एट्याकमा खेल्छ भने अन्य देश र्‍याली फर्मुलामा खेल्छन्।सन् १९९१ मा श्रीलङ्काको कोलम्बोमा भएको पाँचौँ संस्करणको सागमा भारतलाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको थियो।

साग इतिहासमा टेबल टेनिसले हात पारेको सबैभन्दा ठूलो सफलता नै त्यही हो। त्यसयता नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन।पाँचौं संस्करणको सागमा त्यतिबेला, सिजरिन शाह, पूजा थापा, गीता क्षेत्री र निलम तुलाधरले महिला टिम इभेन्टको फाइनलमा भारतलाई हराउँदै स्वर्ण जितेका थिए।यसपटकको सागमा टेबल टेनिसतर्फ विभिन्न सात विधामा प्रतिस्पर्धा हुनेछ।एकल, डबल र टिममा महिला-पुरुष दुवैको हुनेछ। महिला र पुरुषको मिक्स डबल इभेन्ट हुनेछ।

घरेलु भुमीमा हुन लागेको सागमा टेबल टेनिसले ठुलो लक्ष्य राखेको छ । स्वर्ण जित्ने लक्ष्य सहित नेपाली टिमले तयारी गरिरहेको छ । तर लक्ष्य भेटाउन नेपाललाई सहज भने छैन । नेपालको मुख्य चुनौती भारत हो । भारतले पछिल्लो समय अन्तराष्ट्रिय स्तरमा ठुलै फड्को मार्दै आएको छ ।’भारतको खेलाडी सबै ए ग्रेडका छन् ।’ अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यले भने, ’अन्य राष्ट्रका खेलाडी लगभग हाम्रै स्तरका हुन् । त्यसैले स्वर्ण बाहेक अन्य पदकमा ध्यान छैन ।’अन्य राष्ट्रले समेत लामो समयदेखि तयारी गरेकाले साग प्रतिस्पर्धात्मक हुने बैद्यले प्रष्ट पारे ।

नेपालले पछिल्ला भेटमा भारतलाई राम्रो चुनौती दिएको कारण भारतीय खेलाडी समेत नेपाललाई सहज प्रतिद्वन्दीको रुपमा लिएका छैनन् ।’अघिल्लो साग तथा एसियन गेम्समा राम्रो खेलेका थियौं । खेलमा पराजित भए पनि सबैले खेलको प्रशंसा गरेका थिए ।’ उनले थपे, ’त्यसैले नेपालसंग भारतीय खेलाडीले चुनौतीको महशुश गरेका छन् ।’घरेलु कोर्टमा आफ्ना समर्थक अगाडी हुने भएकाले त्यसको फाईदा उठाउने लक्ष्य राखेको वैद्य बताउँछन् ।

सात स्वर्णका लागि प्रतिस्पर्धा हुने टेबल टेनिस खेल मङ्सिर १६ देखि २० गतेसम्म काठमाडौँको लैनचौरस्थित टेबल टेनिस हलमा हुनेछ।  सागको लागि छनोट हुने पुरुष खेलाडीमा विनेश खनियाँ, स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली छन्।त्यसैगरी महिलामा रविना महर्जन, नविता श्रेष्ठ, दिक्षा तामाङ, एलिना महर्जन र सिका सुवाल छन्।