राष्ट्रकाे शिर उचो राख्न लगनशिल उसु खेलाडीहरू

दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली उसु टिम स्वर्णविहीन बन्न परेको छैन। श्रीलंकाको कोलम्बोमा सन् २००६ मा भएको दशौं सागबाट समावेश उसुमा नेपालले पहिलो सहभागितामै स्वर्ण जित्यो। नेपालले पहिलो सहभागितामै उसुबाट तीन वटा स्वर्ण जितेको थियो। नेपालका लागि भुवन श्रेष्ठ, धनवीर महर्जन र मुचारत्न महर्जनले स्वर्ण जितेका थिए।

बंगलादेशको ढाकामा भएको एघारौं सागमा पनि नेपालले उसुबाट दुई स्वर्ण जित्यो। नेपालका लागि आङबाबु लामा र विनिता महर्जनले स्वर्ण जितेका थिए। सन् २०१६ मा भारतमा भएको १२ औं सागमा नेपालले कुल तीन स्वर्ण जित्दा एक स्वर्ण उसुबाट हात पारेको थियो।

नेपालमा मंसिर १५ बाट सुरू हुने १३ औं सागमा नेपाली उसु टिमको लक्ष्य इतिहास जोगाउने छ। खेल सामग्री र प्रशिक्षणस्थलको अभाव खेपे पनि उसु खेलाडी घरेलु मैदानमा आफ्नो कला प्रदर्शन गर्न तयार छन्।१३ औं सागमा नेपालले उसुमा १७ इभेन्ट्समा भाग लिँदैछ। जसमा सान्सो (फाइट) मा ९ र थाउलो (कला प्रदर्शनी) मा ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

थाउलोका प्रशिक्षक प्रकाश लामा नेपाली खेलाडीले सक्दो मिहिनेत गरिरहेको बताउँछन्।’चीनको सांघाइमा भएको विश्व च्याम्पियनसिपमा गरेको प्रदर्शनको आधारमा राम्रो नजिताको अपेक्षा गर्न सकिन्छ। यति नै पदक जित्छु भनेर अहिले नै भन्न त सक्दिनँ, तर यसपटक राम्रो नतिजाको  आशा गरेको छु,’ लामाले भने। उसुमा मुख्य प्रतिस्पर्धा भारतसँग हुने लामाको भनाइ छ। त्यस्तै, नेपाली खेलाडीले श्रीलंकाका खेलाडीको पनि कडा चुनौतीको सामना गर्नु पर्ने पक्का छ।

१२ औं सागका स्वर्ण विजेता निमा घर्तीमगर पनि घरेलु मैदानमा आफ्नो प्रदर्शन देखाउनका लागि उत्साहित छिन्।यद्यपी निमाले खेल्ने मंगलबार मात्र पक्का भएको थियो। उनको विधामा दुई जनामात्र खेलाडी सहभागी भएकाले साग नै गुमाउने खतरा बढेको थियो। तर अन्तिम समयमा तीन जना खेलाडी भएपछि निमाले साग खेल्ने पक्का भएको थियो। ‘५–६ महिनादेखि प्रशिक्षण गरिरहेका छौं। गुरु र हामीले मेहेनत दिइरहेका छौं,’ निमाले भनिन्,’राम्रो प्रदर्शन हुन्छ जस्तो लागिरहेको छ।’

उसुमा सहभागी खेलाडी विजय सिञ्जाली, दीपक हमाल, हरिप्रसाद गोले, विश्व बुढामगर, अशोक खालिङ, अमर सुनार, मङ्लप्रसाद थारु, चित्रसिंह ठकुरी, निकेश श्रेष्ठ, किरणसिंह साउद, सुस्मिता तामाङ, निमा घर्तीमगर, मिना ग्लान, एलिना चौधरी, जुनी राई, विन्दु पुनमगर, सिलु डंगोलहरु राष्ट्रको लागि पदक जितेर सान र मान राख्न तमतयार छन् । प्रशिक्षक लामा पनि उत्साहित छन् ।