आर्चरी:तीन स्वर्ण पदकको लक्ष्य

१३औँ दक्षिण एशियाली खेलकूदको आर्चरीमा कम्तीमा तीन स्वर्ण पदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मेहनत गरिरहेका छन्। श्रीलङ्कामा सम्पन्न दशौँ संस्करणदेखि नेपालले आर्चरीमा सहभागिता जनाउन शुरु गरेको थियो। पहिलो सहभागितामै मात्र सीमित रहेकामा बङ्गलादेशमा भएको ११औँ संस्करणमा टिम रिकर्भ विधामा कास्य तथा अघिल्लो पटक भारतमा भएको १२औँ संस्करणमा व्यक्तिगत विधामा कास्य पदक जितेको नेपाल घरेलु मैदानमा हुने प्रतियोगितामा भने कम्तीमा पनि तीन स्वर्ण हात पार्ने लक्ष्यमा छ।

पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा ७० मिटर ‘कम्पाउन्ड’ र ५० मिटर ‘रिकर्भ’ गरी दुई इभेन्टमा महिला तथा पुरुषतर्फ १० स्वर्ण, १० रजत र १० कास्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ। रिकर्भ व्यक्तिगत, कम्पाउन्ड पुरुष तथा महिला टोलीमा स्वर्ण पदकको आश प्रशिक्षकले गरेका छन्।आर्चरीमा अरू देशभन्दा माथिल्लो स्तरमा रहेको भारत आन्तरिक विवादले खेलमा सहभागी नहुने भएपछि अन्य राष्ट्रलाई केही सहज भएको छ भने स्वर्ण प्रतिस्पर्धासमेत तीव्र हुने देखिएको छ। समूहमा बङ्गलादेश केही माथि रहे पनि नेपाल, श्रीलङ्का, पाकिस्तान र भूटानको अवस्था समान छ। माल्दिभ्सले भने खेलमा सहभागिता जनाएको छैन।

गत भदौ २८ देखि ३० गतेसम्म पोखरा रङ्गशालाको आर्चरी मैदानमा सञ्चालन भएको छनोट प्रतिस्पर्धाबाट आठ-आठ जना पुरुष तथा महिला खेलाडी छनोट गरी उनीहरुले नियमित प्रशिक्षण गरिरहेका छन्। सागका लागि नेपाली टोलीले गत जेठदेखि नियमित अभ्यास गरिरहेकाले पनि यसपटक राम्रो गर्नेमा खेलाडी आशावादी छन्। खेलाडी पहिलाभन्दा बढी खारिएर आएका र स्कोर पनि राम्रो हुँदै आएकाले पदकको आशालाई बढाएको प्रशिक्षकको भनाइ छ।

“खेलाडीले लामो समयदेखि राम्रो तयारी गरेका छन्, घरेलु मैदानमा उनीहरुको मनोबल पनि उच्च छ ।सागमा आर्चरीतर्फ रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्टमा पदकका लागि प्रतिस्पर्धा हुने नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपक गुरुङले बताए।

नेपाली टोलीमा रिकर्भ इभेन्टमा पुरुषतर्फ असिम शेरचन (पोखरा), रोशन नगरकोटी (आर्मी), डम्बरबहादुर थापा (आर्मी), तिलक पुन मगर (प्रहरी) तथा महिलामा मित्र राई (आर्मी), ज्ञानु अवाल े(आर्मी), विुष्णमाया लिम्बू (पोखरा) र आइसा तामाङ (आर्मी) रहेका छन् । त्यसैगरी कम्पाउन्ड पुरुषतर्फ रमेश भट्टचन (काठमाडौँ), सनातन मल्ल (काठमाडौँ), योगेन्द्र शेरचन (पोखरा) र मीनप्रसाद गौचन (काठमाडौँ) छन्।महिलातर्फ पार्सदा आचार्य (काठमाडौं), मोनिका राना (पोखरा), रश्मी दर्लामी मगर (पोखरा) र मञ्जु बजगाईं(आर्मी) रहेका छन्।