महिला भलिबल:फाइनलमा भारतसँग खेल्ने

नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ ।यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । नेपाली महिला भलिबल टोलीको प्रदर्शन पछिल्लो समय शानदार बनिरहेको छ । भर्खर बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि चुमेर स्वदेश फर्किएको महिला टोली अहिले १३ औँ सागको ऐतिहासिक स्वर्णको सम्मुखमा छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५-१४ ले जित्यो ।दोस्रो सेटमा २५-१७ ले जितेको नेपालले तेस्रो सेटको सुरुवातमा पछाडि परेको थियो । तर उत्कृष्ट पुनरागमन गरेको नेपालले २५-२१ मा तेस्रो सेट जित्यो ।नेपालको जितमा प्रतिभा माली र सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । प्रतिभाले सर्वाधिक २० र सरस्वतीले १७ अंक जोडिन् ।

अब नेपालले भारतसँग खेल्नेछ र, यो समूह चरणमा व्यहोरेको हारको बदला लिने मौका समेत हो । समूह चरणमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भएको थियो । सागको महिला भलिबलमा नेपालले १९९९, २००६ र २०१६ मा गरी तीन पटक काश्य पदक जितेको थियो ।जितपछि नेपाली टोलीकी कप्तान अरुणा शाहीले चार महिना गरेको मेहनतको फल भएको बताइन् । श्रीलंकाले राम्रो खेलेका तर त्यो भन्दा आफूरुहरुले राम्रो खेल्दा जित सम्भव भएको भन्दै उनले भनिन्, ‘यो जितमा एकदमै खुसी छौं ।’अब भारतविरुद्ध दबावरहीत भएर खेल्ने शाहीले बताइन् । ‘रजत पक्का भइसकेको छ । अब स्वर्णका लागि खेल्छौं’ उनले भनिन्, ‘फाइनलमा हामीले राम्रो खेल्यौं भने भारत पनि दबावमा आउँछ भन्ने आशा बढेको छ ।’

प्रशिक्षक जगदिश भट्टले सागकै लागि भनेर गरेको तयारीले नजिता दिलाएको बताए । उनले अघि भने, ‘अब फाइनलमा दर्शकको साथ लिएर स्वर्णका लागि खेल्छौं । हाम्रो एउटै लक्ष्य स्वर्ण हो । हामीले पहिलेदेखि स्वर्ण जित्छौँ भन्दै आएका छौँ । अब अझै दुई दिन बाँकी छ । अघिल्ला खेलको कमजोरीलाई सुधार गर्दै भारतसँग स्वर्णका लागि भिड्ने छौँ । श्रीलङ्कासँगको जीतले खेलाडीको मनोबल झनै उच्च भएको छ । दर्शकको समर्थन हाम्रा लागि अर्को फाइदा हुनेछ,’ प्रशिक्षक भट्टले भने ।

नेपाली टोलीकी कप्तान अरुणा शाहीले पनि घरेलु भूमिमा भारतलाई हराएर स्वर्ण जितेर छाड्ने दावी गरिन् । ‘हामी भारतसँग उच्च मनोबलका साथ खेल्नेछौँ । समूह चरणमा हामीले सानो गल्तीले हार खेपेका थियौँ । फाइनलमा पुगेर इतिहास रचेका छौं । तर हाम्रो लक्ष्य स्वर्ण नै जित्ने हो । त्यसका लागि हामीले लामो तयारी र धेरै मिहेनत गरेका छौँ,’ अरुणाले भनिन् ।