१३ औं दक्षिण एसियाली खेलकुदको भब्य उद्घाटन

१३ औं दक्षिण एसियाली खेलकुद सागको भब्य उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं सागको औपचारिक उद्घाटन भएको घोषणा गरिन् ।३ घण्टा भन्दा बढी समय चलेको समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि मार्चपासबाट शुरु भएको उद्घाटन समारोहमा नेपालको झण्डा भारोत्तोलनका कमलबहादुर अधिकारीले बोकेका थिए ।

यस्तै ओलम्पियन दीपक विष्टले ओलम्पिक टर्चलाई रंगशालाको ट्रयाकबाट लगी प्रज्वलन गरेका थिए । यसैगरी खेलाडीको तर्फबाट क्रिकेटर पारस खड्का तथा निर्णायकका तर्फबाट ब्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्री दीपक थापाले सपथ लिए ।उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा रहेको स्वागत नाचमा सहभागी देशका झण्डा र सागमा समावेश खेलको एनिमेसन प्रस्तुत गरिएको थियो ।

यस्तै १५०० जनाको मास क्यालिस्थेनिक प्रदर्शनी प्रस्तुत गरिएको थियो भने गायक दीपक बज्राचार्यले सांगीतिक प्रस्तुति दिएका थिए।स्तै कुन्ति मोक्तान, आनन्द कार्की, ईन्दिरा जोशी, सत्यराज आचार्य र मिलन नेवाले साग गीत प्रस्तुत गरेका थिए ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जिवनराम श्रेष्ठले साग मिनी ओलम्पिकको रुपमा रहेको र युवा खेलाडीका लागि प्रतिभा देखाउने अवसर रहेको बताए ।साग कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले साग थोरै समयमा पूर्वाधार तयार पार्दै साग आयोजना गर्न सफल भएको बताए ।सिलवालले १३ औं सागमा ७ देशका २७ सय भन्दा बढी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि १० दिनसम्म प्रतिस्पर्धा हुने जानकारी दिए ।सागका खेलहरु ३ शहरको २९ खेलस्थलमा हुँदैछ ।