राजधानीमा मंगोलिया हर्टको कन्सर्ट

काठमाडौं– ‘उभोउभो खासा म जाँदा’, ‘नतानुँ त तानुँतानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’जस्ता गीत मार्फत श्रोता तथा दर्शकको मन मटुमा बस्न सफल नेपाली सांगीतिक समूह ‘मंगोलियन हर्ट’को सांगीतिक यात्राले २५ वर्ष पूरा गरेको छ ।
यही ‘रजत जयन्ती’को अवसर पारेर समुहले आगामी शनिबार राजधानीको टुसालस्थित ह्यात रिजेन्सी गाउण्डमा खुला कन्सर्ट गर्ने भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा समुहले कन्सटको बिभिन्न पक्ष जानकारी गरायो ।
‘मंगोलियन हर्ट सांगीतिक उत्सव’ नाम दिइएको ‘रजत जयन्ती’मा देशका अधिकांश चर्चित तथा ख्यातीप्राप्त गायक÷गायिकाहरुको सहभागिता रहने ‘मंगोलियन हर्ट’का सदस्य मध्ये गायक राजु लामाले बताए ।
‘मंगोलियन हर्ट’ जतिखेर दर्शक तथा श्रोतामाझ उदाउँदैथियो, त्यो समय नेपाली सांगीतिक क्षेत्रमा थुप्रै ब्याण्डहरु देखिएका थिए । तर, त्यो प्रतिस्पर्धालाई चिर्दै ‘मंगोलियन हर्ट’ श्रोता तथा दर्शकको ‘हर्ट’ बन्न सफल भयो र अहिले रजत जयन्ती मनाउने अवसर पाएको छ ।
‘मंगोलियन हर्ट’ले निरन्तर २५ वर्षसम्म श्रोता÷दर्शकको माया पाइरहनुमा समूहका सबै सदस्यको उत्तिकै देन र योगदान रहेको राजु बताउँछन् । एउटा सांगीतिक समूह यतिका वर्ष टिकिरहनु आफैमा उदाहणीय पनि हो ।
आफ्नो सांगीतिक यात्राको यो रजत जयन्ती अर्थात ‘शिल्भर जुल्भी’ मनाउन गइरहँदा राजु निकै हर्षित छन् । यो आफ्नो सांगीतिक इतिहासको एउटा अध्याय बताउँदै उनले सो कार्यक्रममा आफ्ना चर्चित एवं लोकप्रिय गीतहरु अधिकांश प्रस्तुत गर्ने बताएका छन् । यो सांगीतिक समूहको दर्जनौ लोकप्रिय गीतहरु छन् । तीमध्ये ‘उभो उभो खासा म जाँदा’, ‘नतानुँ त तानुँ तानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’, ‘तिमीलाई देखेर’, ‘मेरो नेपाल’, ‘सायद तिम्रो बाटोमा’, ‘भाईटिका’, ‘गाजलु आँखा’, ‘पर्खाइमा भिझ्यो सिरानी’, ‘हल्ला चलेछ’लगायत छन् । यी गीतहरु रजत जयन्ती सांगीतिक महोत्सवमा दर्शक तथा श्रोताले श्रवण गर्न पाउने राजुले बताएका छन् ।
सांगीतिक समूह ‘ब्याण्ड’हरुको भीडमा ‘मंगोलियन हर्ट’ एक सफल मानिन्छ । यो ब्याण्डले एकपटक फेरि दर्शक एवं श्रोताको ‘हर्ट’ बन्ने उद्देश्य लिएको छ । त्यसैअनुरुप २०७५ सालभित्र ‘मंगोलियन हर्ट’ले देशका विभिन्न स्थानमा दर्जनभन्दा बढी कन्सर्ट गर्ने योजना बनाएको राजुले बताए । उनका अनुसार ती सबै कन्सर्ट च्यारिटी हुनेछ ।
ह्यात रिजेन्सी ग्राउण्डमा हुन लागेको कन्सर्ट पनि च्यारिटी नै हो । च्यारिटी टिकट एउटा संयोगजस्तै भएको छ जबकि, ब्याण्डले २५ वर्ष पूरा गरेको अवसरमा आयोजित रजत जयन्ती तथा च्यारिटी कन्सर्ट हेर्न २५ रुपैयाँमात्र टिकट कायम गरिएको छ ।