प्रतिभा, लगाव र समर्पणको पर्याय: गौरिका

नेपाली खेलकुदमा अविस्मरणीय बनेको छ भर्खर १७ वर्षकी किशोरी गौरिका सिंहको नाम । नेपालले गौरव गर्नलायक खेलाडी पाएको छ । उनले लामो यात्रा गर्न बाँकी छ । दक्षिण एसियाली प्रतियोगितामा उनले बनाएका कीर्तिमानहरुले अरु खेलाडीलाई पनि प्रेरणा दिनेछ । घरेलु भूमिमा आयोजित १३ औं सागमा गौरिकाले सिंगो देशको इज्जत बढाइन् । गौरिका काकतालीले यो स्थानमा आएकी होइनन् । उनको प्रतिभा, खेलप्रतिको लगाव र समर्पणको एकमुष्ट नतिजा हो यो । खेलकुदको महत्व बुझेको र आर्थिक रुपमा सवल परिवारमा जन्मिनु उनको भाग्यको कुरा भयो ।

गौरिकाकी आमा गरिमा राणालाई धेरै नेपालीले चिन्छन् । उनी २०५० सालको एसएलसीमा बोर्ड फर्स्ट भएकी थिइन् । उनै गरिमाले  छोरी गौरिकालाई खेल क्षेत्रमा लगाएर प्रेरणादायी आमाको उदाहरण बनेकी छन् । अन्यथा धेरै आमाबाबु आफ्ना सन्तानलाई खेल क्षेत्रमा लगाउन अहिले पनि हिच्किचाउँछन् । सानो छँदा बाबुआमाले ‘लाइफ स्किल’ सिक्नुपर्छ भनेर गौरिकालाई पौडीको प्रशिक्षणमा राखिदिएका थिए । ९ वर्षमा स्थानीय प्रतियोगितामा भाग लिएपछि गौरिकामा पौडीप्रति लगाव बढ्न थाल्यो । ११ वर्षको उमेरमा छुट्टी मनाउनका लागि गौरिका बाबुआमासँगै नेपाल आइन् र त्यही आगमन उनको खेल करिअरको टर्निङ प्वाइन्ट बन्यो ।

२०५९ सालमा काठमाडौँको पाटन अस्पतालमा गौरिकाको जन्म भयो । त्यसको दुई वर्षपछि पारस डाक्टरी तालिमको सिलसिलामा बेलायत हानिए । पछि त्यतै काम गर्न थाले । परिवार पनि सँगै हुने भइहाल्यो । गौरिका बेलवर्न स्कुलमा भर्ना भइन् । एउटा उमेर पार गरेपछि बेलायतमा सबैले अनिवार्य स्विमिङ गर्नुपर्छ । त्यसका लागि स्कुलले नै प्रोत्सहन गर्छ । प्रतियोगिताका लागि भन्दा पनि स्किल बढाउनका लागि । गौरिका त्यस्तै सात वर्षकी थिइन् होला, उनले बार्नेट कपथल क्लब ज्वइन् गरिन् । गौरिकाको सानैदेखि खेलकुदमा रुचि थियो । उनी फुटबल र बास्केटबल पनि खेल्थिन् ।

उनले खेल्ने सबैखाले खेलकुदमा उनको प्रस्तुति राम्रो थियो । तर, एउटा उमेर पार गर्दासम्म उनमा भविष्यमा यो या त्यो विधाको खेलाडी बन्छु भन्ने मनसाय कहिल्यै आएन । बेलायतमा स्विमिङ सिक्नेहरुको क्लबमा आन्तरिकरूपमा प्रतियोगितामार्फत प्रतिस्पर्धा हुने गर्छ । त्यहाँ राम्रो गर्नेहरु अन्तर क्लबस्तरीय प्रतियोगिताका लागि छनोट हुन्छन् । त्यसपछि काउन्टी, रिजनल हुँदै नेसनल च्याम्पियनसिपमा । हरेक उमेर समूहमा यस्ता प्रतियोगिता हुन्छन् । गौरिकाले यस्ता सबै प्रतियोगिता पार गरिसकेकी छन् । उनी हरेक विधामा उत्कृष्ट १० भित्र नै पर्थिन् । यसरी गौरिकाले बेलायतमा जितेका झन्डै चार सय मेडल उनीसँग छन् । त्यसमध्ये ७० वटा त स्वर्ण पदक नै ।

नेपालतर्फको यात्रा

नेपालमा गौरिकाको स्विमिङ यात्रा एउटा संयोगले जुराएको थियो । गौरिकाको परिवार छुट्टी मनाउन नेपाल आएको थियो । त्यतिबेला गौरिका ११ वर्षकी थिइन् । हुन त यसअघि पनि उनको परिवार बेलाबेला नेपाल आइरहन्थ्यो । ‘हामी नेपाल कहिले जाने ?’ गौरिका आफ्ना आमाबुबालाई प्रश्न गरिरहन्थिन् । सानैदेखि उनको नेपालप्रतिको प्रेम गज्जबको थियो । बेलायतमा हुर्किएकी छोरीको राष्ट्र प्रेम देखेर पारस र गरिमा मख्ख पर्थे । कुरा पाँच वर्षअघिको हो । यस पटकको नेपाल यात्रा गौरिकाका लागि खास रह्यो । जुन यात्राले उनको भाग्यरेखा मात्र कोरिदिएन बाल मनोविज्ञानमा आफू नेपाली हुँ वा होइन भन्ने प्रश्नसमेत उब्जाइदियो । नेपालमा ‘ग्यालेक्सी कप पौडी प्रतियोगिता’ हुन लागेको थियो । त्यतिबेलासम्म स्विमिङ गौरिकाका लागि प्यासन बनिसकेको थियो ।

प्रतियोगिताबारे थाहा पाएपछि गौरिकाले बुबा पारससँग भनिन्, ‘ड्याडी म पनि भाग लिन्छु नि ।’ पारसले गौरिकाको चाहलाई नकार्न सकेनन् । अझ बेलायतका ठूला प्रतियोगिता जितेर राष्ट्रिय स्तरमा परिचय बनाउँदै गरेकी छोरीले आफ्नै देशमा भइरहेको प्रतियोगितामा भाग लिन्छु भनेको सुन्दा उनी झन् उत्साहित भए । बाबुआमाले छोरीको क्षमता जाँच्नकै लागि उक्त प्रतियोगितामा  गौरिकाको नाम दर्ता गराइदिए ।  ४ वटा विधामा राष्ट्रिय कीर्तिमान बनाउँदै सातवटा स्वर्ण जितिन् । अर्थात, ११ वर्षीया गौरिका नेपाली मिडियाको मुख्य हेडलाइन बनिन् । त्यतिखेर नै धेरैले यि वालिका धेरै माथी पुग्न सक्छिन् भने आकलन गरे । छोरीको सफलतामा बाबुआमा ख़ुशी नहुने कुरै भएन । उनलाई झन् प्रोत्साहित गर्न थाले ।

यहीँबाटै पौडीमा द्रुत गतिले उनको यात्रा अघि बढ्यो । २०७२ सालमै रुसको कजानमा भएको १६ औं फिना विश्व च्याम्पियनसीपमा भाग लिएकी थिइन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । त्यसको एक वर्षभित्रै ओलम्पिकमा भाग लिन पुगिसकेकी थिइन्, जतिबेला उनको उमेर १३ वर्ष मात्र भएको थियो । सानो उमेरमा नै उनले अहिलेसम्म सात वटा राष्ट्रिय कीर्तिमान बनाइसकेकी छन् ।  भारतको गुवाहाटी र सिलोङमा भएको १२ औं सागमा उनले आफू सहभागी चार स्पर्धामा नै पदक जितेकी थिइन् । उनले एक रजत र तीन कास्य जितेकी थिइन् ।

२०१८ को एसियाली खेलकुदका साथै २०१६ मा आयरल्याण्डमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिप, २०१५ मा युएईमा भएको फिना स्विमिङ विश्वकप, रसियामा भएको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिप जस्ता प्रतियोगिता खेलिसकेकी छिन् । गत वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ वटा स्वर्णपदक जित्दै सनसनी मच्चाइन् । त्यहाँ उनले थुप्रै राष्ट्रिय कीर्तिमानहरु भंग गरेकी थिइन् । यहीँबाट गौरिकाले सागमा स्वर्ण जित्ने अपेक्षा गरिएको थियो ।

रियो ओलम्पिक र गौरिकाको राष्ट्रियतामाथि प्रश्न

ब्राजिलको रियो दि जेनेरियोमा आयोजित २८ औं ओलम्पिकमा भाग लिने विश्वभरका ११ हजार खेलाडीमध्ये सबैभन्दा कान्छी थिइन् गौरिका । रियो ओलम्पिकमा १०० मिटर ब्याकस्ट्रोकको हिट चरणको आफ्नो समूहमा पहिलो भए पनि फाइनलमा स्थान बनाउन सकिनन् उनले । तर यति गर्नु पनि निकै ठुलो मानियो । त्यो वेलासम्म कुनै नेपाली खेलाडीले हिट चरण नै पार गर्न नसकिरहेको अवस्थामा उनले पहिलो चरण पार गरेकी थिईन ।

रियो आलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै गौरिकालाई पठाउने भएपछि गौरिकाको राष्ट्रियतामाथि प्रश्न उठाइयो । पौडी सङ्घकै एक गुटले उनको खेल जीवनलाई समाप्त पार्ने या भनौँ नेपालबाट उनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नदिने उद्देश्यले सङ्घका अध्यक्षसामु एउटा ज्ञापनपत्र नै पेश गर्यो । जसमा उल्लेख थियो, ‘विदेश बस्ने नेपाली खेलाडीका लागि छुट्टै व्यवस्था हुनुपर्ने, उसले बनाएको रेकर्ड राष्ट्रिय रेकर्डमा समावेश गर्न नपाइने, राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि दुई वर्ष नेपालमै बसेको हुनुपर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएपछि नेपालमै बसेर तालिम लिनुपर्ने ।’ यी व्यवस्थालाई पौडी सङ्घको विधानमा राख्न दबाब दिइयो ।

यस्ता कुराले छोरीलाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराएर देशका लागि केही योगदान दिने अवसर सिर्जना गर्ने सोच बनाएका पारस र गरिमाको मन चसक्क भयो । सँगसँगै मिडिया र सामाजिक सञ्जालमा एउटा प्रश्न पनि उब्जियो, ‘गौरिका नेपाली होइनन् ?’ गौरिका आफ्ना आमाबुबासँग बेलायत बसेकी थिइन् । बेलायत बस्नु उनको रहर नभएर बाध्यता थियो । र, बेलायतमा बसेर उत्कृष्ट तालिम नपाएको भए उनले नेपालका लागि केही गर्न सक्ने अवस्था पनि हुँदैनथ्यो सायद ।

आमा गरिमाले हप्ताको १९ घण्टा छोरीलाई स्विमिङ क्लब लाने जिम्मेवारी सम्हालेकी थिइन् । अहिले पनि यो जिम्मेवारी निरन्तर छ । त्यसपछि उनलाई आवश्यक डाइट खुवाउने, फिजियो थेरापी, तालिम मिलाउने लगायतका हरेक गतिविधिमा गरिमाको सहभागिता छ । यसरी एकतर्फ उनले आफ्नो सम्पूर्ण समय छोरीलाई दिएकी छन् भने अर्कोतर्फ गौरिकाका लागि आवश्यक सबै खर्च उनकै परिवारले व्यहोरिरहेको छ । जसको बलमा गौरिका सबल पौडीबाज बनेकी छन् । देशका लागि केही गर्न खोजिरहेकी छन् ।

गौरिकाको राष्ट्रप्रेम

यति नै बेला गौरिकाले आफ्ना आमाबुबालाई आफूहरु नेपाली भए नभएको प्रश्न गरेकी थिइन् । अर्थात, उनको बाल मनोविज्ञानमा राष्ट्रियतामाथि उठेको प्रश्नले असर पुर्यायो । रियो ओलम्पिकमा उनले आशाअनुरूप प्रदर्शन गर्न नसक्नुको यो पनि एउटा कारण त होइन ? प्रश्न जायज छ । ‘पढाइमा फोकस गराउने उमेरमा हामीले उसलाई देशका लागि खेल्न प्रोत्साहन गर्यौं तर हाम्रै राष्ट्रियतामाथि प्रश्न उठ्दा हामीलाई कस्तो भयो होला ?’ बुबा पारस प्रश्न गर्छन् ।

उनी गौरिकाको सफलतालाई बाबु भएर भन्दा पनि नेपाली नागरिक भएर हेर्छन् र गर्व गर्छन् । तर आफू नेपाली हुँ वा होइन भन्ने एकिन गर्न उनले आफ्नो नागरिकता हेर्नुपरेको छ । छोरीलाई आफ्नो नागरिकता देखाउनुपरेको छ । गौरिकालाई पनि नेपाली हुनुमा गर्व छ । रियो ओलम्पिकमा उनलाई बीबीसीले एउटा प्रश्न गरेको थियो, ‘तिमी बेलायतबाट किन नखेलेको ?’ गौरिकाले भनेकी थिइन्, ‘म नेपाली हो । किन अन्य देशबाट खेल्ने ?’

मनोवैज्ञानिक असर

राष्ट्रियतामाथि उठेका सवालमा ‘म नेपाली हुँ’ भनेर देखाउने प्रमाण त्यतिबेला गौरिकासँग थिएन । १२ वर्षमा नागरिकता बन्ने कुरा पनि भएन । गौरिका बुबाको नागरिकता र आफ्नो पासपोर्ट देखाएर खेलहरुमा सहभागी हुन्थिन् । उनीसँग थियो त केवल देशप्रेम । नेपालमा हुने राष्ट्रिय खेलकुद होस् या अन्य प्रतियोगिता कैयौँ पटक गौरिकालाई खेलमा सहभागी हुन नदिन विभिन्न प्रपञ्च रचिए । र, उनको परिवारले त्यस्ता षड्यन्त्रको पछि लागेर गौरिकालाई टिपेर बेलायत फर्काएन । बरु सङ्घर्ष गर्यो ।

यो सङ्घर्ष आफ्नै पहिचानसँग थियो । ‘हेर्नुस् त, हामी नेपाली हौँ भनेर चिनाउन सङ्घर्ष नै गर्नुपर्यो । मानिसहरु देशमै बसेर राष्ट्रियता बेचिरहेका छन्, हामीले त विदेशमा बसेर पनि राष्ट्रियताको चिन्ता गरेका छौँ । तपाईं आफै भन्नुस् न अब नेपाली को होइन ?’ पारसको यो प्रश्न आम नेपालीलाई हो । यता यस कुराले गौरिकाको मनोविज्ञानमा असर पारेको थियो । लन्डनको रोयल फ्री हस्पिटलमा न्युरोलोजिस्ट डाक्टर रहेका पारस भन्छन्, ‘खेलाडीको प्रदर्शनमा उसको मनोविज्ञानको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । मनोवैज्ञानिकरूपमा परेको नकारात्मक असरले कुनै खेलाडीको खेल जीवन नै समाप्त पार्नसक्नेसम्म सामथ्र्य राख्छ ।’

त्यसैले पारस–गरिमा गौरिकालाई सकेसम्म यस्ताखाले प्रतिक्रियाबाट टाढै राख्थे । हाल पनि राख्न खोज्छन् । पछिल्लो समय सामाजिक सञ्जाल चलाउन थालेकाले उनले पनि यस्ता प्रतिक्रियाबारे चाल पाउन थालेकी छन् । आफ्नो विषय कति गहन गरी उठेको रहेछ, गौरिकाले अहिले बुझिसकेकी छन् । उनको मानसपटलबाट यस्ता कुरा अझैसम्म पनि मेटिएका छैनन् । १३औँ सागमा पहिलो स्वर्ण पदक जित्दा उनले ‘मलाई नेपाली होइन भन्छन् तर यो स्वर्ण नेपालका लागि हो’, भन्ने अभिव्यक्ति दिएकी थिइन् । उनको यो अभिव्यक्ति त्यसको प्रमाण थियो ।

बुबा पारस भन्छन्, ‘हामीले उसलाई सिकाएका थिएनौँ । यस विषयमा लामो समयदेखि कुरा पनि भएको थिएन । तर एक्कासि यसोभन्दा उसको मनोविज्ञानमा पहिलेको कुरा अझैसम्म पनि खेलिरहेको रहेछ भन्ने थाहा भयो ।’ गौरिकाले हामी नेपाली होइनौँ र भनेर पहिलो पटक प्रश्न गर्दा पारसले उनलाई मज्जाले सम्झाएका थिए । भन्छन्, ‘बझाङमा हाम्रो पुर्खौली घर अझै छ । महेन्द्रनगर र काठमाडौँमा पनि घर छ । कर तिर्छौँ । नेपालकै नागरिकता बोक्छौँ । छुट्टीमा नेपाल आइरहन्छौँ । राष्ट्रियताको विषयमा विवाद गर्नुपर्ने त कारण नै छैन नि ।’ फेरि उनी सधैँभरि विदेश बस्ने पनि होइनन् । एक दिन नेपालमै बस्नेगरी आउने छन् ।

गौरिकाले छोटो समयमै हासिल गरेको उचाइको डाहा गर्ने, खुट्टा तान्न खोज्ने र उनका कारण आफ्ना छोराछोरी छायाँमा परेको भन्ने नकारात्मक मानसिकता राख्ने व्यक्तिका कारण यस्ता कुराहरु उठेका हुन्, गौरिकाले यतिबेला बुझिसकेकी छन् । ‘यस्ता कुरा दिमागमा धेरै खेलायो भने पर्फमेन्स, कन्सन्ट्रेन्टमा प्रभाव पर्छ । त्यसैले म यस्ता कुराहरुबाट टाढै रहन्छु’, गौरिका भन्छिन् ।

अब त नागरिकता छ

स्विमिङका हिसाबले बेलायत विश्वकै तेस्रो नम्बरमा पर्छ । विश्व च्याम्पियनहरु समेत बेलायतमा आएर तालिम लिन्छन् । त्यसैले गौरिका बेलायतमा तालिम लिएर नेपालका लागि खेल्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन् । पारस भन्छन्, ‘यदि कुनै पौडीबाजलाई सरकारी वा व्यक्तिगत खर्चमा बेलायतमा तालिम लिन पठाइएको भए कति खर्च लाग्थ्यो होला ? हामी उतै बसिरहेकाले धेरै सहज भएको छ ।’ अहिले त गौरिकासँग नेपाली नागरिकता छ । १६ वर्ष पुगेपछि उनले नागरिकता बनाएकी हुन् । उनले चाहेको भए बेलायतको नागरिकता लिन सक्थिन् । तर उनलाई नेपाली हुनुमा गर्व छ, नेपालका लागि अझ धेरै गर्नु छ ।‘म सधँै हिजोभन्दा आज कसरी राम्रो गर्न सकिन्छ भनेर सोच्ने गर्छु’, गौरिका भन्छिन्, ‘सबै नेपालीको साथ, सहयोग र हौसलाले मैले देशका लागि आगामी दिनमा अझ राम्रो गर्न सक्छु भन्ने लाग्छ ।’

गौरिका यतिबेला १७ वर्षकी भइन् । पौडीबाजले करियरकै राम्रो प्रदर्शन गर्ने भनेको २० देखि २५ वर्षको उमेरमा हो । त्यसैले उनले भविष्यमा देशका लागि अन्तर्राष्ट्रिय स्तरमा थुप्रै स्वर्णहरु ल्याउन सक्ने सम्भावना कायमै छ । खेल क्षेत्र देशकै गौरवको विषय भएकाले बाधा–अड्चन निम्त्याउने भन्दा पनि गौरिकाको हौसला बढाउनेतर्फ ध्यान दिनु आवश्यक छ । स्विमिङजस्ता प्रतियोगितामा प्रतियोगीले मिलि सेकेन्डको फरकमा मात्र जित हासिल गर्छन् । त्यसैले परिवार र नागरिकको साथ भएमा मात्र त्यो सम्भव छ । परिवार र नागरिकको साथ अर्थात, खेलाडीको मनोविज्ञान बलियो पार्ने आधार । जसले सकारात्मक ऊर्जाको विकास गरिदिन्छ र आत्मबल बढाइदिन्छ ।

 अद्वितीय सफलता

यसअघि नेपाली खेलकुद इतिहासमा सफलताका आधारमा वैकुण्ठ मानन्धर र दीपक विष्टदेखि संगीना वैद्यको नाम लिंदै आइएकोमा अब यसमा एउटा नयाँ अनुहार पनि थपिएको छ, गौरिकाका रूपमा । उनकै प्रदर्शनका कारण पौडीले १३ औं दक्षिण एसियाली खेलकुदमा अद्वितीय सफलता हात पार्न पनि सफल रह्यो । नेपाली पौडीले आफ्नो इतिहासमै प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो । पौडीबाट नेपालले ४ स्वर्ण ४ रजत ४ नै कांस्य पदक जित्न सफल रह्यो । यसमध्ये ४ स्वर्ण एकै खेलाडी गौरिकाले जितेकी थिइन् ।  नेपाली पौडीले आफ्नो इतिहासमै प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो ।

गौरिकाले अहिलेसम्म पौडीमा जितेका प्रत्येक पदकमा गर्व रहनेछ, चाहे त्यो स्वर्ण होस् अथवा कांस्य पदक नै । सन् २०१६ को सागमै पनि गौरिकाले २ रजत पदक जितेकी थिइन् र यो आफैंमा ठूलो प्रदर्शन थियो, तर त्यति बेला उनको प्रदर्शन स्वर्ण पदकका लागि लायक पनि थिएन । तीन वर्षको अन्तरमा गौरिकाले आफ्नो प्रदर्शनमा निकै सुधार गरेकी छिन् र यसै कारण उनी ४ स्वर्ण जित्न सफल रहिन् । उनको यो प्रदर्शन केही खास खास कारणले अर्थपूर्ण छ ।

परिवारले ठूलो लगानी

गौरिकाले प्राप्त गरेको यो सफलताको सबैभन्दा ठूलो विशेषता हो, यसमा नेपालको न्यून लगानी । उनी लन्डनमा बस्छिन् र उतै अभ्यास गर्छिन् । यसका लागि उनको परिवारले ठूलो लगानी मात्र गरेको छैन, उत्तिकै धेरै त्याग पनि गरेको छ । लन्डनमै गरेको अभ्यासले त उनी यति धेरै सानदार प्रदर्शन गर्न सफल भएकी हुन् । त्यहाँको अन्तर्राष्ट्रिय स्तरको अभ्यासबिना त नेपालले पौडीमा दक्षिण एसियामै पनि स्वर्ण पदकको कल्पना गर्न सकिन्न । अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि गौरिकाले तयारी गर्दा राज्यले लगानी गरेको छैन । आठ वर्षदेखि पौडीको प्रशिक्षण लिइरहेकी छिन् गौरिका । अहिले लण्डनको क्याम्डेन स्वीस कटेज क्लबमा प्रशिक्षण लिइरहेकी छन् ।

प्रमुख प्रशिक्षक एडम टेलर हुन् ।पौडीको प्रशिक्षणका लागि क्लबलाई तिनुपर्ने शुल्क, प्रशिक्षकको शुल्क, हरेक वर्ष राष्ट्रिय खेलकुदमा भाग लिन नेपाल आउँदा वा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन आउजाउ गर्दाको सबै खर्च गौरिकाका बाबुआमा आफैंले व्यहोर्दै आएका छन् । ६ महिनादेखि गौरिकालाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट तयारीका लागि भनेर मासिक करिव ५ सय डलर आउन थालेको छ । तर गौरिकाको डाइटबाहेक अन्य खर्च नै २ हजार डलर जति हुने गरेको छ । अहिलेसम्म नपुग सबै खर्च परिवारले नै व्यहोर्दै आईरहेको छ ।

सबभन्दा धेरै पुरस्कार पाउने

प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेपछि हालै सम्पन्न सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले सबभन्दा धेरै पुरस्कार पाउने भएकी छन् । प्रधानमन्त्री ओलीले गरेको घोषणाअनुसार सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाखका दरले पुरस्कार दिइनेछ ।  यो हिसावले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले सिधै ४४ लाख पाउने छिन् । यसका अतिरिक्त उनले २ वटा रजत पदक पनि जितेकी छन् । रजत जित्नेलाई प्रतिव्यक्ति ६ लाखका दरले दिने घोषणा गरिएको छ । यसबाट गौरिकाले थप १२ लाख पाउँनेछिन् । यो दुवैको जोड्दा गौरिकाले ५६ लाख पाउँछिन् । गौरिकाले काँस्य पदक समेत जितेकाले अरु थप रकम समेत पाउँनेछिन् ।

गौरिकाको पढाइ पनि राम्रो छ । यद्यपि, खेलले गर्दा केही असर अवश्य गरेको छ । गौरिका नेपाली राम्ररी बुझ्छिन् तर अप्ठ्यारोसित बोल्छिन् । नेपाली भाषीमाझ समय बिताउन नपाए पछिको परिणाम हो यों । परिवार बाहेक अन्त नेपाली बोल्न नपाए पछि यस्तै हुन्छ । तैपनि नेपाली भाषा र देशप्रति गर्व छ उनलाई । सम्पूर्ण नेपाली जनताबाट आज गौरिकालाई जुन माया र प्रेरणा प्राप्त भएको छ, त्यसले उनलाई थप उर्जा प्राप्त भएको छ । उनीबाट अझ ठूलो सफलताको अपेक्षा गर्न सकिन्छ ।