हिमालकी चेली फुन्जो


वि.स. २०४३ सालमा गोर्खाको छेकम्पार बुर्जी गाउँ (चुम भ्याली) मा एउटा सामान्य परिवारमा जन्मेकी फुन्जो  लामा हिमालय पथप्रदर्शक, लङलाइन उदारक, हिमाल आरोही र खेलाडीको रुपमा परिचित छिन् ।
एस.एल. सी सम्म मात्रै पढेकी फुन्जोकी आमा सानैमा वितेकाले कष्ठकर पारिवारिक जीवन भोग्दै यहाँसम्म आइपुगेकी छिन् । वर्षको दुई महिनामात्र पढाई हुने गोर्खाको स्कूलबाट पढ्न सुरु गरेकी उनले चाहेर पनि उचित शिक्षा पाइनन् । अवस्थै नाजुक थियो गाउँको । कोही विदेशी आइपुग्यो भने हेर्न जान्थिन् । सदरमुकाम गोर्खाबजारबाट उनकोे गाउँ ५२ कोष टाढा तिब्बतको सीमामा पर्छ । गाउँमा छोराहरुलाई सदरमुकाम पढ्न पठाउँथे तर छोरीलाई घर छेउकै स्कूल पनि पठाउँदैनथे । चुम भ्यालीमै हुर्केबढेकी उनलाई सानैदेखि छोराछोरीमा गरिने विभेद देखेर अचम्म लाग्यो । उनको मन चसक्क हुन्थ्यो । उनके घरमा पनि यस्तो विभेद थियो ।
पछि दाजु दक्ष बनेपछि उनलाई काठमाडौं ल्याए । स्कूल भर्ना पनि भइन् । तर भाषाको कारणले पढ्न गाह्रो भयो । उमेर पनि अरुको भन्दा ठूलो भएकाले साथीहरुसंग घुलमिल हुन सकिनन् । अन्ततः पढाईमा उनको मन बसेन । अनि लागिन् भाषा तालिम तिर । ट्रेकिङ गाइडको तालिम पनि लिइन् । विस्तारै पर्यटन व्यवसायतर्फ पथ प्रदशक बनेर हिड्न थालिन् । पर्यटकलाई आफ्नै गाउँ मनास्लु हिमाल र चुम भ्याली घुमाउन थालिन् । पछि २०६६ सालमा पदयात्रामै क्रममा भेटिएका एक पर्यटकले उनलाई अमेरिका पु¥याए ।
त्यो समाज देख्नु नै उनको मनमा सानैदेखि उब्जिने प्रश्नको एकखाले जवाफ थियो । हाउसकिपिङ, सुपरमार्केट, लौन्ड्री आदि सबै काम गरिन् अमेरिकामा । विदेशमा बस्नु सुविधाका दृष्टिले जति नै सहज भए पनि एक्लोपन महसुस हुँदा उनको मन त्यहाँ रमाउन सकेन । नेपाल आइन । यतै फेरि पर्यटन कर्ममै रमाउन थालिन् ।
फुन्जो लामालाई नेपालमा छोरीको पुरुषार्थ देखाउने रहर जाग्यो । त्यसैले उनले हिमाल आरोहणमा गएका तर दुर्घटना मा परेकालाई हेलिकप्टरमा झुन्डिएर उद्धार गर्ने काम सिकिन् । हेलिकप्टरमा झुन्डिएर आठ हजार मिटर भन्दा अग्लो हिमालको आकाशमूनि पुग्दा पनि मनमा कति डर लाग्दैन उनलाई । बरु पुरुषार्थी काम गर्न पाएकोमा दंग पर्छिन् । उनी दर्जनौ पटक सोलुखुम्बुको खुम्बु क्षेत्र र गोर्खाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएर सम्म पुग्ने, मान्छेलाई प्राथमिकता उपचार गर्ने, डोरीमा झण्डाएर हेलिकप्टरभित्र राखेर उद्धार गर्ने काममा सारिक भैसकिन् ।
उनी खेलकुदमा पनि सक्रिय छिन् । रक क्लाइमिङ, स्की, टेनिस, भलिबलमा पनि दक्ष रहदै आएकी छिन् । स्कीमा त उनी गतवर्षकी राष्ट्रिय च्याम्पियन पनि हुन् ।
हिमाल आरोहणमा पनि यिनको रुचि छ । अमेरिकामा रहेको ‘डेनाली’ हिमाल आरोहण गरेर यात्रा प्रारम्भ गरेकी फुन्जोले चोयु, आमाडब्लम, लापुछे, मनास्लु जस्ता हिमाल चढी सकेकी छिन् । फ्रान्सको ‘मोमलङपनि आरोहण गरिसकेकी छिन् । अब उनी आउने वसन्त ऋतुमा सगरमाथा चढ्ने योजनामा छिन् ।
सरल र असल मनकी धनी फुन्जो हिमाली जनजीवनमा जन्मिएर हिमालमै रमाउदै आएकी छिन् हिमाल र उनी पर्यायवाची बनीसकेकी छन् । नेपाललाई विश्व मानचित्रमा हिमाल कै ठाउँबाट चिनाउन उनी लागिपरेकी छिन् ।