ओलम्पिकलाई लक्ष्य राखेर जुडोकी फुपुल्हामु खत्री लामो समयको वैदेशिक प्रशिक्षणमा

सन् २०२० को ओलम्पिकलाई लक्ष्य राखेर जुडोकी फुपुल्हामु खत्री लामो समयको वैदेशिक प्रशिक्षणमा निस्केकी छन् । फुपु जुडोकी कीर्तिमानी खेलाडी हुन् । उनले १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । जुन पदक नेपाली जुडोले सागमा २१ वर्षपछि जितेको पहिलो स्वर्ण थियो ।  जुडोकी नम्बर एक खेलाडी   फुपुल्हामु खत्री  टोकियो ओलम्पिकको तयारीका लागि  जापानतर्फ लागेकी छिन् । ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत फुपुले जापानमा २ वर्ष ३ महिना प्रशिक्षण लिनेछिन् । उनले त्यहाँ जुडो प्रशिक्षणसँगै अध्ययन गर्न पनि पाउने छिन्

सागकी स्वर्णपदक विजेता फुपुले जापानको टोयोमोस्थित विश्वविद्यालयमा ओलम्पिकको तयारी गर्ने छिन । लगभग साढे २ वर्षको तयारीले फुपु ओलम्पिकमा छनोट हुने विश्वास  लिएकी  छिन।  जापानमा रहँदा फुपुको सबै खर्च जापानिज जुडो संघले बेहोर्नेछ ।अघिल्लो साता राजधानीमा सम्पन्न आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपकी रजत विजेता फुपुल्हामुले साग खेल्नुअघि पनि हंगेरीमा ६ महिना विशेष प्रशिक्षण लिएकी थिइन् । त्यसबाट सागमा स्वर्ण जित्न ठूलो सहयोग पुगेको बताउने उनले यसपल्टको वैदेशिक प्रशिक्षणलाई ओलम्पिकको लक्ष्य बनाएकी छन् । सन् २०२० को ओलम्पिक जापानकै टोकियोमा हुनेछ ।फुपुले भनिन्, ‘मेरो लक्ष्य ओलम्पिक नै हो । त्यसमै राम्रो गर्नु हो । त्यसमै केन्द्रित हुनेछु । तर त्यहाँ गएर ट्ेरनिङ गरेपछि अरु थाहा हुनेछ ।’

उनले यसै वर्ष हुने १८ औं एसियाड र १३ औं दक्षिण एसियाली खेलकुद पनि खेल्नेछिन् । जुडोको सुरुआत जापानबाट भएकाले त्यहाँको सिकाइबाट आफू खारिनेमा विश्वस्त फुपुल्हामुलाई डर पनि त्यत्तिकै छ । भन्छिन्– ‘जुडो जापानकै भएकाले त्यहाँको सिकाइ मेरो लागि ठूलो अवसरसँगै चुनौती पनि हुन्छ भन्ने लागेको छ ।’एसियन तथा वल्र्ड जुडो च्याम्पियनसिपको समेत अनुभव बटुलिसकेकी फुपुले जुयिनरमा थुप्रै अन्तर्राष्ट्रिय पदक जितेकी छन् । स्नातकमा अध्ययनरत उनले त्यहाँ गएर बिजनेस ल पढ्ने बताइन् । उनी तोयामास्थित ‘ताकाओका युर्निभसिटी अफ ल’ मा भर्ना हुनेछिन् । यो युनिभर्सिटी टोकियोबाट झन्डै तीन घण्टाको ट्रेन यात्रामा रहेको छ ।

अक्सर ठूलो अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको मुखैमा नेपाली खेलाडी वैदेशिक प्रशिक्षणमा जाने परम्परा छ । त्यस किसिमको प्रतियोगिता सुरु हुनु २ वा ३ महिनाअघि खेलाडी विदेशमा प्रशिक्षण लिन जान्छन् ।यस किसिमको परम्परा अन्त्य हुनुपर्छ ।तेक्वान्दोका संगीना वैद्य, दीपक विष्टले जसरीले छनोट प्रतिस्पर्धाबाट ओलम्पिक खेले, भोलिका दिनमा जुडोका खेलाडीले पनि त्यो दिन ल्याउने छ भन्ने आशा छ । हाम्रा खेलाडी वाइल्ड कार्ड नभई र्‍याङकिङका आधारमा छनोट हुनेछन् ।’