टेबलटेनिस एसियाड छनोट:शीर्ष खेलाडी छानिए

काठमाडौँ — इन्डोनेसियामा हुने एसियाली खेलकुद २०१८ का लागिअपराजित रहँदै शीर्ष वरीयताका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठसहित ६ टेबलटेनिस खेलाडी  छनोट भएका छन् ।अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको छनोट प्रतियोगिता राखेप च्याम्पियनसिपका शीर्ष १६ खेलाडीबीचको राउन्ड रोबिन लिग प्रतिस्पर्धा तीनदिन चलेको थियो । केही प्रतिस्पर्धी अनुपस्थित भएपछि महिला र पुरुष दुवैतर्फ १४–१४ खेलाडीको सहभागिता थियो । त्यसमध्ये शीर्ष ३–३ खेलाडीले एसियाली खेलकुदमा सहभागिता पक्का गरेका हुन्

नेपाल पुलिस क्लबसँग आबद्ध स्यान्टु र नविताले लिगका सबै प्रतिद्वन्द्वीलाई पराजित गर्दै छनोटमा शीर्ष स्थान हासिल गरे । नविताले लिग अवधिभर दुई सेट मात्र ड्रप गरिन् । उनले एपीएफकी अनिता महर्जन र पुलिसकै एलिना महर्जनलाई ३–१ को सेटमा हराएकी थिइन् । अन्य सबै खेलाडीलाई नविताले ३–० को सोझो सेटमा पाखा लगाइन ।

महिलातर्फ स्वेच्छा ११ जित र २ हार बेहोर्दै दोस्रो भइन् । उनी रविनासँग ३–१ र नवितासँग सोझो सेटमा पराजित भइन् । रविना १० जित र ३ हारको नतिजासहित तेस्रो स्थान हासिल गर्न सफल रहिन् । उनलाई नविताले सोझो सेटमा हराउँदा अनिता र आर्मीकै दीक्षा तामाङले ३–२ ले पन्छाएका थिए । दोस्रो वरीयताकी एलिना ५ हारको सामना गर्दै शीर्ष ५ मा अटाउन असफल भएकी हुन् । पुरुषतर्फ चौथो र पाँचौं स्थान पुरुषोत्तम र विनेशले प्राप्त गरे । महिलामा एपीएफकी सेलिशा खड्गी चौथो र दीक्षा तामाङ पाँचौं भएका थिए ।

पुरुषतर्फ स्यान्टुले ४ खेलमा मात्र चौथो सेटसम्म प्रतिस्पर्धा गर्नुपर्‍यो । उनले पुलिसका दीप, राकेश महर्जन र विनेश खनियाँ तथा आर्मीका चन्दन शाहीलाई ३–१ ले हराए । अन्य प्रतिद्वन्द्वी सोझो सेटमा पराजित भए । स्यान्टुलाई कडा चुनौती दिएका दीप ११ जित र २ हारसहित दोस्रो हुँदै छनोट भए । दीपले एपीएफका पुरुषोत्तम बज्राचार्यसँग ३–२ को हार बेहोरे पनि अन्य खेल जित्दै छनोट भए । एपीएफका अमर र पुरुषोत्तम दुवै १० जित र ३ हारको स्थिति रहे पनि अमरले पुरुषोत्तमलाई ३–१ ले पराजित गरेको आधारमा अमरलाल छनोट भए ।