शिरिष गुरुङ, सानै उमेरदेखि बहुप्रतिभाशाली थिए । संगीत र पौडीमा रुचि लिन्थे । ड्राइभिङ पनि जानी सकेका थिए । छोराको
हरेक क्रियाकलापमा होसला बढाउन आमा सपना पनि लागि परेकी थिइन् । शिरिषका हरेक रहर र प्रतिभामा आमाको ठूलो साथ र
हौसला छ ।
सानैदेखि गीत संगीत मनपराउने शिशिष स्कूले जीवनमा गायक पनि बने । डिप पर्पल र एरिक क्ल्याप्टनका गीत सुनेर उनी हुर्केका थिए । त्यसैको प्रभाव स्वरुप उनी स्कूलमा गीत गुनगुनाउथे । दुई एल्बम पनि सानै उमेरमा प्रकाशनमा ल्याए । शिरिषको धुन र ‘आवाज’ नामक ति एल्बम जनमानसमा त्यति नभिजे पनि उनको प्रतिभा उजागर गर्न सक्षम थियो । कम्पनीले अलि राम्रो व्यवस्थापन र प्रचार गरिदिएको भए
शिरिष चर्चित गायक नै बन्ने सम्भावना पनि थियो । एक त पढाईको
रफ्तार अर्को सानो उमेरका कारण उनको गायकीले मूलबाटो पक्रन सकेन । उनी प्रतिभा भएर पनि रहरी गायक मात्र बने ।
पहिलो एल्बम ‘शिरिषको धुन’ मा इन्स्टुमेन्ट बजाएका थिए । सारंगी, मादल, क्रि बोड, ड्रम लगायतका वाद्यवादन गर्न उनी सक्षम छन् भन्ने कुरा यो एल्बमले प्रमाणित गरेको छ । उनले चाहेका भए नेपालकै राम्रा बादकमा पनि करिअर बनाउने सक्थे । दोश्रो एल्बम ‘आवाज’ मा उनले ‘हिपहप’ संगीतलाई महत्व दिएर प्रस्तुत भए । यसमा पनि राम्रो गरेका थिए । रक एण्ड रोल र ब्लुज पनि उनी गाउन सक्छन् । समय अनुसारका म्युजिक च्वाइस गर्ने र चेन्ज गर्न पनि उनी सक्षम छन् । फत्तेमान, नारायण गोपाल र विपुल क्षत्रीका गीत उनी विशेष मनपराउँछन् । थुप्रै कन्सर्टमा उनले आफ्नो प्रस्तुती पनि दिएका थिए । तर पछि यिनले गायनलाई करिअर बनाएनन् । तर कुनै दिन फेरि गायनमा देखापरे भने आश्चर्य नमाने हुन्छ । राम्रो सम्भावना यिनमा अझै छ ।
शिरिष संगीतसंगै ड्राइभिङका पनि राम्रा चालक र सौखिन छन् । सानै उमेरदेखि प्राय सबै प्रकारका साधन यिनले चलाइसकेका छन । वाइकिङ उनलाई विशेष मनपर्छ । फुर्सद मिल्यो भने वाइक हाक्न हिडिहाल्छन् । अहिले पनि उनीसंग दुई वाइक छन् होन्डा सीजी र एमभी अगस्टा एफ ३ । आफ्नै कमाईबाट २६ वर्ष पुरानो होन्डाकिनेका थिए उनले । तर उनी र सय सीसीको एमभी अगस्टाभन्दा १२५ सीसीको होन्डा नै बढी चलाउँछन् । राजधानीमा ट्राफिक जाम धेरै हुन्छ त्यसैले ठूलो आवाज भएको अगस्टालाई विस्तारै चलाउनुभन्दा क्लासिक बाइक होन्डा नै ठीक ठान्छन् उनी । उनले ५ वर्षको छदै वाइक र गाडी ड्राइभ गरिसकेका थिए ।
२०६८ सालदेखि शिरिष खेलकुदमा पनि देखापर्न थाले । सानै उमेरदखि पौडी खेल्दै आएता पनि बेइजिङ ओलम्पिक टिभीमा हेरेपछि नै उनलाई खेलाडी बन्ने रहर लाग्न थाल्यो । अनि थाले नियमित प्रशिक्षण लिन । चार वर्षको छदाँ पहिलो पटक स्वीमिङ पुल प्रवेश गरेका उनी पुलिस क्लबका जनक टमाटालाई पहिलो प्रशिक्षक मान्छन् । सिक्न थालेको केही महिनापश्चात् नै कीर्तिपुरमा भएको प्रतियोगितामा उनी सहभागी भएर तहल्का नै मच्चाए । यो फुच्चेसँग हारियो भने त बेइज्जत नै हुन्छ भनेर धेरैले प्रतियोगिता नै छाडेका थिए । यही प्रतियोगिताबाटै उनको विजय यात्रा प्रारम्भ भएको थियो ।
छैटौं राष्ट्रिय खेलकुद उनको करिअरको टर्निङ प्वाइन्ट नै बन्यो । जहाँ उनले त्यसबेलाका स्टार शैलेस राणालाई पनि पन्छाउदै चार स्वर्ण, चार रजत र दुई कास्यसहित कूल १० पदक जितेर चर्चा बटुलेका थिए ।एउटै प्रतियोगितामा १७ वटा स्वर्ण जितेका उनले घरेलु प्रतियोगितामा २ सय बढी स्वर्ण जितिसकेका छन् । गत वर्ष कक्षा १२ उत्तीर्ण गरेपछि ओलम्पिक छात्रवृत्तिमा बैंककमा प्रशिक्षण गर्ने अवसर मिल्यो ।
रियो ओलम्पिक सहभागिता गर्ने अवसर उनलाई प्राप्त भयो । उनले १ सय मिटर फ्रि स्टाइल ५७.७६ सेकेण्डमा पूरा गर्दै रियोमा राष्ट्रिय किर्तिमान सुधार गरे । साउन २०६९ मा शिरिषले १५ सय मिटर इन्डिभिज्यूअल मिड्लेमा जय प्रकाश गुरुङको २८ वर्ष पुरानो राष्ट्रिय किर्तिमान तोडेका थिए । त्यो नै उनको पहिलो राष्ट्रिय किर्तिमान हो । त्यसयता उनले राष्ट्रिय कीर्तिमानको ओइरो नै लगाएका छन् । उनले ४६ पल्ट रेकर्ड ब्रेक गरिसकेका छन् । त्यसैले उनी कीर्तिमानका पर्याय नै भएका छन् ।
शिरिष प्रतिभाशाली र मिहेनती खेलाडी हुन् । उनी कहिल्यै थाक्दैनन् । राम्रो खेलाडीमा हुनुपर्ने गुण उनमा छ । जाडो महिनामा खेल्न मिल्ने स्विमिङ पुल नेपालमै छैन । त्यसैले नेपाली स्वीमर वार्षिक ५ महिना मात्र ट्रेनिङ गर्छन् । त्यसैले बाह्रै महिना खेल्ने अवसर पाउने हो भने शिरिषमा अन्तर्राष्ट्रिक पदक जित्ने क्षमता छ । शिरिषले खेलाडी बन्ने अठोट गर्दा दुई सपना बुनेका थिए , ओलम्पिक खेल्ने र अन्तर्राष्ट्रिय पदक जित्ने । पहिलो सपना साकार भयो । दोश्रो सपना पुरा गर्ने प्रतिक्षामा छन् । प्रतिभा, क्षमता छ अवसरको खाँचो छ । उचीत प्रशिक्षण पाए भने पक्कै पदक पनि ल्याउँछन्, यिनले । हाल आफ्नै नाममा प्रष्तिठान गठन गरेर सामाजिक कार्यमा पनि जुटेका छन् ।