ब्यूटि विथ ब्रेनः नम्रता श्रेष्ठ


वि .सं. २०६५ सालमा ‘सानो संसार’ बाट नेपाली रजतपटमा देखापरेकी नम्रता श्रेष्ठ छोटै समयमा रुचाएकी र चर्चित भएकी अभिनेत्री हुन् । उनको करिअरको कद निकै ठूलो भइसकेको छ । हिसाब नै गर्ने हो भने पनि अझै नम्रता मुख्य भएर खेलेका फिल्म एक दर्जन पनि पुगेको छैन । तर उचाइ दिलाउने त आखिर राम्राले नै हो । चलचित्र ‘क्लासिक’ बाट देशकै सर्वाधिक प्रतिष्ठित राष्ट्रिय अवार्ड नै जातिन् । शितल निवासमा राष्ट्रपतिद्वारा अवार्ड थाप्दा उनको गोरो अनुहारमा झन् चमक थपिएको थियो ।
नम्रतालाई देख्नेहरु ब्युटिफुल मान्छन् । हुन पनि छरितो शरीर, गोरो वर्ण, सर्लक्क कपालमा डिम्पल पर्ने हसिलो मुहार जो कोहीलाई मोहित पार्न पर्याप्त छ । यसैले पनि नम्रतालाई प्राय दर्शकहरु लभस्टोरी फिल्ममा हेर्न बढी रुचाउँछन् । सानो संसारकी ऋतु होस् वा मेरो एउटा साथी छ की शिखा, लभर गर्लका रुपमा नम्रता फिट देखिन्छिन् । नजीकबाट संगत गर्नेहरु नम्रतालाई ब्युटिफुलसँगै बोल्ड पनि मान्दछन् ।  उनको मादक हाँसोले जतिलाई कमजोर पार्ने ताकत राख्छ, उनी आफैमा भने बोल्ड छिन् ।
पछिल्लो समय ब्युटि विथ ब्रेनले महत्व पाउन थालेको छ । जसलाई आन्तरिक सौन्दर्य पनि भनिन्छ । नम्रताको कामसँग एकाकार हुने र उनका फिल्म हेर्नेका लागि उनमा ब्रेन ब्युटिको खानी नै छ । चरित्रमा यति डुबेर अभिनय गरिदिन्छिन्, दर्शकले नम्रतालाई नै भुलेर उनको क्यारेक्टरलाई प्रेम गर्न थाल्छन् । क्लासिकमा दृष्टिविहिन दृष्टिको भूमिकाले नै उनलाई गत वर्षको राष्ट्रिय अवार्डको हकदार ठह¥यायो लगत्तै चलचित्र कलाकार संघले गरेको फान अवार्डमा पनि उनले सोही चरित्रबाट अवार्ड पाइन् ।

चुनौतिपूर्ण भूमिकामा पनि सहज अभिनय नम्रताको खुबी हो । फिल्म ‘मौन’ मा उनको चरित्र ‘वर्षा’ बोल्न र सुन्न समेत सक्दिनथिन् । को–स्टार अर्पण थापा पनि उस्तै थिए । तर बोल्न र सुन्न नसक्नेले पनि प्रेम अभिव्यक्त गर्छन् भन्ने कुरा पर्दामा उतार्न अर्पण र नम्रताको जोडी सक्षम रह्यो । ‘मेघा’ मा लिड रोलमा रहे पनि फिल्म त खासै चलेन तर नम्रताको कामको अधिकाशंले प्रशंसा गरे । ‘छड्के’ को सोली होस् वा ‘नोभेम्बर रेन’ की शीतल सबैमा नम्रता प्रभावी देखिदै आएकी छ्नि ।
नम्रताले फिल्ममा मात्र नभइ रंगमञ्चमा समेत आफूलाई पस्किसकेकी छिन् । जलपरी, ओलियाना, यार्मा नामक नाटकमार्फत उनी रंगमञ्चमा उत्रिएकी थिइन् । अभिनय बाहेक उनी गायनमा पनि रुचि राख्छिन् । उनले आफ्नै निर्माण गरेको फिल्म ‘सोल सिस्टर’ मा रोहितजंग क्षेत्रीले गाएको ‘विस्तारै विस्तारै’ र क्लासिक मा मेलिना राईको स्वर रहेको ‘प्रकृतिको सुन्दर श्रृष्टि’ गीतको कभर गाएकी छिन । त्यसो त उनको अभिनय को जस्तो चर्चा गायनले पाउन सकेन ।
३२ वर्षिया नम्रतालाई १३ लाखले फेसबुकमा फलो गरेका छन् । नामजस्तै नम्र स्वभावकी नम्रता छानेर फिल्म खेल्छिन् । जति खेल्छिन् आफ्नो प्रभाव कायम राख्छिन् । को–स्टारका रुपमा उनलाई ‘मेरो एउटा साथी छ’ बाटै रुचाइएको जोडी आर्यन सिग्देलसंग दर्शकले बढी मन पराएका छन् । पछिल्लो समय दिनेश राउतले यही जोडीलाई लिएर लगातार नाभेम्बर रेन र क्लासिक बनाएका थिए भने उनी अब यो जोडीलाई नै लिएर ह्याट्रिक सफलता हान्ने दाउमा छन् ।
म्यूजिक भिडियो, विज्ञापन, नाटक र गायनजस्ता कलाकारिताका अनेकौ विधामा उनको सक्रियता रहदै आएको छ । नम्रताको कामको सर्वत्र तारिफ छ । मेहनती र सक्षम कलाकारलाई यहाँ सधै स्वागत र समर्थन गरिदो रहेछ भने कुराको उदाहरण बनेकी छिन् उनी ।