आर्मी र च्यासल विजयी

आर्मीको सुखद सुरुवात

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराएर ३ अंक जोडेको छ । सातदोबाटास्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले तेस्रो मिनेटमा नै नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा फ्रेण्ड्सले बराबरी गोल फर्कायो । उसका लागि शक्ति राईले गोल गरे । तर खेलको ८१ औं मिनेटमा दिनेश योन्जनले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए ।

च्यासलको विजयी सुरूआत

सन्तोष साउखलको दुई गोलसँगै च्यासल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा च्यासलले संकटा क्लबलाई २-० ले पराजित गरेको हो । च्यासलका लागि कप्तान साउखलले दुवै हाफमा एक-एक गोल गरे । २५औं मिनेटमा सन्तोषले पेनाल्टी एरियाबाट गरेको प्रहार संकटाका गोलकिपर विनय श्रेष्ठले बचाएका थिए तर ४१ औं मिनेट सन्तोषले गोल गरे । नितिन थापाको पासमा उनले पेनाल्टी एरिया भित्रबाट गोल गरेका हुन् ।

खेलको ७५ औं मिनेटमा संकटाका क्षितिज राजको प्रहार च्यासलका अभिषेक लिम्बुले गोलकिपर बिट भइसकेको अवस्थामा क्लियर गरेका थिए भने ७७औं मिनेटमा संकटाका सुवाष गुरुङको प्रहार च्यासलका गोलकिपर एलन न्यौपाने पन्च गर्दा बारमाथिबाट बाहिरिएको थियो । ८०औं मिनेटमा लक्ष्मण रुचाल रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएपछि संकटा १० खेलाडीमा सिमित भयो । त्यसको फाइदा उठाउँदै सन्तोषले ८४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।