प्रधानसेनापति महिला फुटबल: आर्मीको शानदार सुरुआत

सर्मिला थापा मगर र रश्मी कुमारी घिसिङले ह्याटिक गरेको दिन त्रिभुवन आर्मी क्लबले प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबलमा शानदार सुरुआत गरेको छ । समूह ए अन्तगर्त आज भएको उद्घाटन खेलमा प्रदेश नम्बर १ माथि ९–० को नतिजा निकाल्दै त्रिभुवन आर्मीले शानदार सुरुआत गरेको हो । भद्रकालीस्थित आर्मी हेड्क्वाटरको मैदानमा भएको खेलमा आर्मीको जितमा सर्मिला र रश्मीले ह्याट्रिक गर्दा बिमला चौधरीले २ तथा सपना लामाले एक गोल गरिन् ।

खेल सुरु भएको २ मिनेटमा नै आर्मीका लागि रश्मीले पहिलो गोल गरेकी थिइन् । प्रदेश १ माथि सुरुआत देखि नै हाबी भएको विभागिय क्लब आर्मीले ७ औं मिनेटमा अग्रता दोब्बर बनायो । आर्मीको अग्रता दोब्बरमा पहिलो गोल गरेकी सर्मिलाले लगत्तै ३ मिनेटपछि दोस्रो गोल गरिन् । उनको गोलसँगै ३–० को अग्रता बनाएको आर्मीले ४२ औं मिनेटमा चौथो गोल गरेको थियो । उक्त गोल भने सपना लामाले गरिन् । लगत्तै ३ मिनेटपछि बिमला चौधरीले गोल गर्दै आर्मीलाई ५–० को अग्रता दिलाइन् । पहिलो हाफमा ५–० ले पछि परेको प्रदेश १ ले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेपनि ४ गोलको शिकार हुनुपर्यो । ५८ औं मिनेटमा आर्मीकी सर्मिलाले टोलीका लागि छैठौं तथा ह्याटिक पूरा गरिन् । ६५ औं मिनेटमा रश्मीको गोलसँगै आर्मीको अग्रता ७–० पुग्यो । ७४ औं मिनेटमा बिमलाले टोलीका लागि आठौं तथा ब्यक्तिगत दोस्रो गोल गरिन् ।

खेल सकिन ७ मिनेट बाँकी रहँदा रश्मीले टोलीका लागि नवौं तथा ह्याटिक पूरा गरिन् । बाँकी समय प्रदेश १ ले कुनै गोलका अवसर सृजना गर्न नसक्दा आर्मी ९–० को सहज जित निकाल्न सफल भयो । योसँगै आर्मीले समूह ए को आफ्नो पहिलो खेलमा शानदार सुरुआत गरेको छ ।  आर्मीको जितमा ह्याट्रिक गरेकी सर्मिला वुमन अफ द म्याच घोषित भइन् । नेपाली सेनाको आयोजनामा आइतबारबाट प्रधानसेनापति सातौं राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।

जसमा आयोजक आर्मी,नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ तथा प्रदेश नम्बर १, २ र ५ को सहभागिता रहनेछ। भुटान र सिक्किमको टोली पनि सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह ए मा एपिएफ, प्रदेश १, सिक्किम र आर्मी छन् । समुह बी मा पुलिस, भुटान, प्रदेश २ र प्रदेश ५ छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।पुस ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १ लाख ५० हजार तथा तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछ।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर,फरवार्ड तथा प्रशिक्षकले जनही १० हजार दिइने बताइएको छ ।