मछिन्द्रको विजयी शुरुवात,विशाल राई बने म्यान अफ दि म्याच

मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनसहित स्टार खेलाडी भित्र्याएको मछिन्द्रले लिगको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराएको हो । उद्घाटन खेल दशरथ रंगशालामा हुने भनिएपनि मैदान हिलो भएको लिग आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो ।

खेलमा मछिन्द्रका लागि विशाल राई र दिपक राईले गोल गरे । स्टार खेलाडीहरुले भरिएको मछिन्द्रले पहिलो गोलका लागि आधा घण्टा कुर्नुपर्याे । १९औं मिनेटमा रन्जित धिमालले प्रहार गरेको फ्रिकिक पोष्टमा लागेर फर्किएको थियो । तर २६ औं मिनेटमा पाएको फ्रिकिकमा   भने मछिन्द्रले अवसर गुमाएन । विशाल राईको फ्रिकिक बल ब्रिगेडका गोलकिपर विशाल सुनारको हात र बारमा लाग्दै फर्किएपछि अनमार्क रहका योगेश गुरुङ हेड गोल गरे । ४४औं मिनेट पेनाल्टी बक्सभित्र दिपक राईले प्रहार गरेको भली ब्रिगेडका गोलकिपर सुनारले बचाए ।

तर ५०औं मिनेटमा दिपक राईले मछिन्द्रको अग्रता दोब्बर बनाए । खेलको ८९औं मिनेटमा ब्रिगेडका जय गुरुङले करिब २५ यार्डबाट गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले मुस्किलले बचाएका थिए । राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाइजले सुरुवातमा केही अवसर पाएपनि त्यसलाई गोलमा प।रणत गर्न भने चुकेको थियो ।

जितपछि मछिन्द्रले ३ अंक जोडेपनि अंकतालिकामा २ अंक मात्र छ । गत सिजन नन रलिगेसन लिग हुँदा मछिन्ऽ १४ मछिन्द्र १३औं स्थानमा थियो । त्यसबापत मछिन्द्रले यो सिजन एक अंक गुमाएको हो । यस सिजन राष्ट्रिय टोलीका स्टार खेलाडी भित्र्याएको मछिन्द्र लिगको उपाधि जित्ने दाउमा छ ।ए डिभिजन लिगमा १४ क्लबको सहभागिता रहेको छ । सहभागी क्लबले कूल ९१ खेल खेल्नेछन् । लिगको अन्तिममा रहने एक टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।

कूल ६ करोड ३० लाख लगानीमा सञ्चालन हुने लिगको विजेता टोलीले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौंले सात लाख र छैटौं स्थानमा रहने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगका हरेक खेलको विजेता टोलीले छुट्टै ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।  यसैगरी लिगको उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक र प्रशिक्षकलाई जनही एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । लिगको फेयर प्ले टोलीलाई एक लाख रुपैयाँ प्रदान गरिने बताईएको छ ।