दोहोरो स्वर्णधारी मन्डेकाजी: गृहनगरमा नगद ५५५५०५ सहित सम्मानित

१३औं दक्षिण एशियाली खेलकुदमा करातेमा दुई स्वर्ण विजेता मण्डे काजी श्रेष्ठ सम्मानित भएका छन् । स्वर्ण पदक विजेता खेलाडी मण्डेकाजीलाई मध्यपुर थिमि नगरपालिकाले शनिबार बाजागाजा, र्यालीसहित नगरका बिभिन्न स्थानको परिक्रमा गरि ५ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कारसहित सम्मान गरेको हाे ।

सम्मान कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले, खेलाडीको हौसला बढाउन र खेल क्षेत्रबाट बिश्व सामु नेपालको उच्च शिर राख्न सफल खेलाडीहरुलाई यसरी नै हौसला प्रदान  गर्ने बताए । उनले भने मन्डेकाजीले खेल क्षेत्रमा हासिल गरेका बिभिन्न पदकहरुलाई  राख्नकालागि दराज समेत नगरपालिकाले प्रदान गर्ने उनले बताए । उनले नगरपालिकाले खेलकुद विकासका लागि आवश्यक कार्यहरु निरन्तर गर्दै आएको भन्दै खेलप्रतिभाको पहिचान र विकासका लागि मन्देकाजीले समेत योगदान पुर्याउने अपेक्षा गरे ।

सोही कार्यक्रममा मन्डेका प्रशिक्षक गंगाराम महर्जन र बाल्यकालका प्रशिक्षक सजन श्रेष्ठलाई पनि  सम्मान गरिएको छ । मन्डेले सागमा पुरुष एकल काता र पुरुष टिम कातामा स्वर्ण जित्न सफल भएका थिए । कातामा नेपालले २० वर्षपछि स्वर्ण जित्न सफल भएको हो । २० वर्षअघि नेपालमै भएको आठौं सागमा मन्डेकै हालका गुरु गंगाराम महर्जनले स्वर्ण जिते यता नेपालले कातामा स्वर्ण जित्न सकेको थिएन । कार्यक्रममा स्वर्ण विजेता श्रेष्ठका बुवा बाबुकाजी श्रेष्ठ र आमा मन्दिरा श्रेष्ठलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा सम्मान गरिएका काजीले खेल क्षेत्रमा बिभिन्न किसिमका दुख कष्ट गर्नु परेता पनि त्यसको प्रतिफल ढिलै भए पनि यो सार्कमा पाउन सफल रहेको बताए । उनले भने- ‘बिगत देखि नै कराँतेमा आफ्नो जीवन ब्यतित् गर्दै आएको र अवको समय पनि मध्यपुर क्षेत्रका हरेक कराँते प्रेमीका माझ आफू रहने उनले बताए ।’ कार्यक्रम अघि बोडेबाट शुरु भएको नागरिक अभिनन्दन नगरको बिभिन्न भागको परिक्रमा गरि बालकुमारीमा पुगेको थियो ।

मण्डे काजीले यस पटकको सागमा एकै खेलमा दोहोरो स्वर्ण जितेका थिए । १० औँ सागमा छनोट भएर पनि खेल्न नपाएका श्रेष्ठले यस पटक राष्ट्रका लागि दोहोरो स्वर्ण दिए ।  करातेमा एकै संस्करणमा दुई स्वर्ण जित्ने उनी एक मात्रै खेलाडी हुन् । त्यस्तै, करातेमा दुई साग स्वर्ण जित्ने दुई खेलाडीमध्ये मन्डेकाजी एक हुन् । यसअघि दीपक श्रेष्ठले आठौँ र नवौँ सागमा लगातार स्वर्ण जितेका थिए ।