प्रधानमन्त्रीको सरप्राइज प्याकेज:उत्साह,निराशा र अन्यौल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) समापन भएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तो मान्न बालुवाटार पुगेका पदक विजेता खेलाडीहरुको साझा चासो थियो, ‘सरप्राइज प्याकेज’ कस्तो होला ?बालुवाटारको सभाहल पदक विजेता खेलाडीले भरिएको थियो । कतिपय त अटाएनन् पनि । खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई मञ्चमा दायाँबायाँ राखेर प्रधानमन्त्रीले सम्बोधन सुरु गरे ।

सरकारले  स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अनुसार स्वर्ण विजेता खेलाडीले ९ लाख रुपैयाँ पाउनेछन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिइनेछ ।

यस्तै टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिइने प्रधानमन्त्रीले बताए । टिम इभेन्टतर्फ नेपालले पुरुष फुटबल, तेक्वान्दोको पुम्से र कराँतेको काता र गल्फ टिममा नेपालले स्पर्ण पदक जितेको छ । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकहरुले पनि जनही ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै सागमा रजत जित्नेले ६ लाख र कांस्य जित्नेलाई ३ लाख पाउने भएका छन् । तर टिम इभेन्टमा रजत र कांस्य जित्ने खेलाडीहरुले कति पाउँछन् भन्ने खुलाइएको छैन । नेपालले महिला भलिबल, कबड्डीलगायतका टिम इभेन्टमा रजत र कांस्य जितेको छ । साथै पदक जित्ने टिमका म्यानेजर र अन्य सहयोगीले पाउने रकम पनि खुलाइएको छैन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषदले पारित गरेपछि यसबारे प्रष्ट हुने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को पुरस्कार रकम घोषणा गर्दा खेलाडीहरु निकै खुसी देखिन्थे । उनीहरुले समर्थनमा हुटिङ गर्दै जोडजोडले ताली बजाए । खेलाडीहरु खुसी हुनु यो स्वाभाविक पनि हो, किनकी नेपाली खेलकुदमा राज्यको तर्फबाट घोषणा भएको यो नै अहिलेसम्मको सर्वाधिक नगद पुरस्कार हो ।यो पटक भने पुरस्कार रकम झण्डै दोब्बर भएको छ । ‘हाम्रो जस्तो गरिव देशको सरकारले उचित सम्मान गर्‍यो भन्ने लाग्छ’ प्रधानमन्त्री ओलीले भने ।

टिम इभेन्टका पदक विजेता निराश !

ठूलै  उत्साह बोकेर बालुवाटार पुगेका टिम इभेन्टमा रजत र कास्य पदक जितेका खेलाडी भने निराश बने । ‘टिम इभेन्टमा स्वर्ण जित्नेको पुरस्कार घोषणा भयो, तर हाम्रा लागि केही भएन’ बास्केटबल पुरुष टिमका कप्तान सदिश प्रधानले गुनासो राखे, ‘हामीले चारवटै इभेन्टमा पदक जितेका थियौं । केही घोषणा होला भनेर आश गरेका थियौ तर केही भएन ।’ उनले व्यक्तिगत र टिम इभेन्टमा खेल्ने खेलाडीमा फरक छुट्याएकोमा पनि निराशा व्यक्त गरे । ‘इभेन्टमा कुनै एक जनाले खेल्न पाएन भने बेन्चमा पनि बस्नुपर्छ । टिममा पर्न धेरै महिनेत गरेका हुन्छौं । तर खेलकुदमा लागेको व्यक्तिले एथ्लेटका विषयमा सोच्न सक्दैन भने के भन्ने ?’ सदिशले प्रश्न गरे ।

यस्तै ऐतिहासिक रजत जितेको महिला भलिबल टिमकी सदस्य सरस्वती चौधरीले पनि रजत र कांस्य जित्ने टिमको पुरस्कार घोषणा नभएको खल्लो लागेको बताइन् । उनले भनिन्, रजत र कांस्य जित्ने टिमले पाउने रकम पनि तोकिदिएको भए हुन्थ्यो ।’

बास्केटबल र भलिबल मात्र होइन, टिम इभेन्टमा स्वर्ण पदक जितेको पुरुष फुटबल टिमका खेलाडी पनि सन्तुष्ट छैनन् । ‘हामीले राष्ट्रका लागि खेलेका हौं, पैसाको लागि खेलेको होइन । तर टिम इभेन्टले स्वर्ण जित्दा कम रकम पाउने सुनेर दुःख त लागेको छ,’ यू–२३ टिमका कप्तान सुजल श्रेष्ठ भन्छन् । घोषित पुरस्कारअनुसार फुटबल टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पाउनेछन् । व्यक्तिगततर्फ स्वर्ण जित्दा पाउने पुरस्कार ४ लाख रुपैयाँ बढ्दा फुटबलमा बढेन । १२ औं सागमा स्वर्ण जित्दा पनि फुटबल खेलाडीले ५-५ लाख रुपैयाँ नै पाएका थिए ।

व्यक्तिगततर्फ स्वर्ण जितेका खेलाडीहरु भने प्रधाननमन्त्रीको सरप्राइज प्याकेजबाट घोषणाबाट सरप्राइज नै भए । तेक्वान्दोमा व्यक्तिगत र टिम पुम्सेमा स्वर्ण जितेकी आयशा शाक्यले पुरस्कार घोषणाबाट खुशी लागेको बताइन् । ‘सागमा सरप्राइज रिजल्ट आएजस्तै पुरस्कार घोषणा पनि सरप्राइजकै रुपमा आएको छ’ आयशाले भनिन्, ‘यसले खेलाडीहरुलाई उत्साहित बनाएको छ ।’

कराँतेकी स्वर्ण विजेता अनु अधिकारीले पनि आफूहरुले सोचेभन्दा बढी पुरस्कार घोषणा भएको प्रतिक्रिया दिएकी छन् । ‘मैले स्वर्णको ६/७ लाख रुपैयाँ अपेक्षा गरेको थिएँ’ उनले भनिन्, ‘९ लाख पाउने घोषणा भयो । हामी खुशी छौं ।’

पुरस्कार रकममा अलमल !

प्रधानमन्त्रीको सरप्राइज प्याकेज घोषणासँगै एउटा अलमल पनि देखिएको छ, एकभन्दा बढी पदक जित्नेले पाउने रकम कति ? प्रधानमन्त्रीले कास्य र रजत पदकलाई दिइने रकम घोषणा गर्दा हरेक पदक बापत भन्ने शब्द प्रयोग गरेका थिए । एकभन्दा बढी स्वर्णको पुरस्कार घोषणा गर्दा ‘एउटाभन्दा बढी स्वर्ण ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन्’ भनेका छन् । यसका आधारमा कतिपयले एक स्वर्ण बराबर ११ लाख रुपैयाँ बुझे ।स्वयं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समेत त्यही ब्याख्या गरे ।  ४ स्वर्ण, दुई रजत र तीन कांस्य जितेकी गौरिका सिंहले ६५ लाख रुपैयाँ पाउने हिसाब सुनाए ।

जबकी  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवालको भनाइ फरक छ । उनले प्रष्ट शब्दमा भनेका छन्, स्वर्ण जित्नेले ९ लाख र एकभन्दा बढी स्वर्ण जित्नेले ११ लाख रुपैयाँ पाउने छन् ।

प्रधानमन्त्रीको सम्बोधनलाई एकभन्दा बढी स्वर्ण जित्नेले ११ लाखका दरले पाउने अर्थका रुपमा बुझिएको विषयमा प्रश्न गर्दा उनले त्यसबारे थाहा नभएको बताए । उनले भने, पुरस्कारको केही क्याटगोरी घोषणा हुन बाँकी छ । कुन विधामा कसले कति पुरस्कार पाउने क्याबिनेटबाट कार्यविधिमा पारित भएपछि थाहा हुन्छ ।’