एथलेटिक्स: ३ स्वर्ण १ रजत ४ कास्यको यादगार सफलता

१३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत सम्पन्न एथ्लेटिक्सतर्फ श्रीलकाले सर्वाधिक १५ स्वर्ण पदक जित्यो । ३६ स्वर्णको लागि भएको एथ्लेटिक्समा भारत १३ स्वर्ण जित्दै दोस्रोमा रहँदा नेपालले ३ स्वर्ण जित्यो । नेपालले पुरुष म्याराथनमा स्वर्ण पदक जित्दै काठमाडौंमा जारी १३ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्समा सुखद् अन्त्य गरेको छ। नेपालले महिला १० हजार मिटर, पुरुष ५ हजार मिटर र पुरुष म्याराथन गरी ३ स्वर्ण जित्यो भने १ रजत र ४ कास्य समेत हात पा-यो।

म्याराथन दौडमा नेपालले पुरुषतर्फ स्वर्ण जित्दा महिलातर्फको स्वर्ण श्रीलंकाले जितेको थियो । अमेरिकामा बसेर प्रशिक्षण गरेकी हिरुनी विजयरत्नेले नेपालकी पुष्पा भण्डारीलाई ९ मिनेटभन्दा बढीले पछि पारेर स्वर्ण जितेकी हुन् । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो। यसअघि १९९५ को मद्रास सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए।

पुरुष म्याराथनमा नेपालका किरण सिंह बोगटीले निर्धारित दुरी २ घन्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका थिए। रजत विजेता भारतका जसपाल सिंहले निर्धारित दूरी पूरा गर्न २ घन्टा २१ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गर्दा भारतकै श्री सिंहले निर्धारित दूरी २ घन्टा २२ मिनेट ०७ सेकेण्डमा दौड पूरा गर्दैै कांस्य जिते।

महिलातर्फ श्रीलंकाले विजयारत्नेले निर्धारित दूरी २ घन्टा ४१ मिनेट २४ सेकेन्डमा पूरा गर्दा रजत विजेता नेपालकी पुष्पा भण्डारी र कांस्य विजेता भारतकी ज्योती ग्वाटेले क्रमशः २ घन्टा ५०  मिनेट ११ सेकेन्ड र २ घन्टा ५२ मिनेट ४४ सेकेन्डमा पूरा गरिन्।

त्यस्तै पुरुष ८ सय मिटर दौडमा श्रीलंकाकी इन्धुनिल मधुसाले निर्धारित दूरी १ मिनेट ५०.५२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतका मोहम्द अफसल र नेपालका सोमबाहादुर कुमालले निर्धारित दूरी क्रमशः१ मिनेट ५१.२५ सेकेन्ड र १ मिनेट ५१.५१ सेकेन्डमा पूरा गर्दै रजत र कांस्य जिते।

महिला ८ सय मिटर दौडमा श्रीलंकाकी दिलासी महिसाले स्वर्ण जित्दा श्रीलंकाकै गुणथिलका थाउले रजत र भारतकी लिली दासले कांस्य जितिन्। महिसाले दौड पूरा गर्न २ मिनेट ६.१८ सेकेन्ड खर्चंदा थाउले २ मिनेट ८.१८ सेकेन्ड र दासले २ मिनेट ८.९७ सेकेन्ड खर्चिए। २ मिनेट १२.६७ सेकेन्डमा दौड पूरा गरेकी नेपालकी सरस्वती भट्टराई चौथो स्थानमा रहिन्।

त्यस्तै पुरुष ४ गुणा सय ४ मिटर  टिम रिलेमा श्रीलंकाका अर्पणा दर्सणा, सिनेरा धुलास्का, राजिथा निरान्जा र लकमल प्रियाथानको टिमले निर्धारित दूरी ३ मिनेट ८.०४ सेकेन्डमा पूरा गर्दै स्वर्ण, भारतका जीवन कारेकोप, सान्तोष कुमार, अज्रेज सिंह र जाबिर माडारीको टोलीले निर्धारित दूरी ३ मिनेट ८.२१ सेकेन्डमा पूरा गर्दै रजत र पाकिस्तानका उमर सादत, मेहबुब अली, अब्दुल मुइद र नोकर हुसेनको टिमले निर्धारित दूरी ३ मिनेट ८.२४ सेकेन्डमा पूरा गर्दै कांस्य जिते।

यता महिला ४ गुणा ४ सय मिटरमा श्रीलंकाकी ओमाया उडियानगन, गुणथिलका थाउ, कौशल्या मधु र दिलासी महिसाको टिमले निर्धारित दूरी ३ मिनेट ४१.१० सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा पाकिस्तानकी साइब इ इर्सा, अपना गुल्जार, रयिबा आशिक र नजमा प्रभिनले ३ मिनेट ४१.७४ सेकेन्डका साथ रजत र भारतकी प्रिया हाबिथान, विजयाकुमारी, महिसा खवास र नान्सीको टोलीले निर्धारित दूरी ३ मिनेट ४१.८१ सेकेन्डमा पूरा गर्दै कांस्य जिते। ४ मिनेट ४.९१ सेकेन्डमा दौड पूरा गरेका नेपालकी संगिता मेचे, कल्पना श्रेष्ठ, अरुणा रिजाल र सरस्वती भट्टराईको टोली पाँचौ स्थानमा रह्यो।

यस्तै एक सय मिटर (पुरुष) दौडमा माल्दिभ्सका शाइद हसनले स्वर्ण पदक जितेका छन् । हसनले निर्धारित  दूरी १०.४९ सेकेन्डमा पूरा गरे । श्रीलंकाका हिमासा एहेसाहनले निर्धारित  दूरी १०.५० सेकेन्डमा  पूरा गर्दै रजत जिते भने पाकिस्तानका सामिउल्लाहले १०.६६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै कांस्य पदक जिते । एक सय मिटर (महिला) दौडमा भारतकी अर्चना सुसिन्तले स्वर्ण पदक जितिन् । अर्चनाले ११.८० सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् ।

यस्तै १५ सय मिटर पुरुषतर्फको स्पर्धामा नेपालका टंक कार्कीले कांस्य जितेका छन् । मंगलबार बिहान भएको खेलमा नेपालका टंक कार्कीले निर्धारित दूरी ३ मिनेट ५९.२० सेकेन्डमा पूरा गरे । भारतका अजयकुमार सारोले निर्धारित दूरी ३ मिनेट ५४.१८ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पार्दा भारतका अजित कुमारले ३ मिनेट ५७.१८ सेकेन्डमा पूरा गरे । यता महिला १५ सय मिटरमा श्रीलंकाकी  निलानी रत्नानायकेले निर्धारत दूरी ४ मिनेट ३४.३४ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पार्दा भारती चन्दाले ४ मिनेट ३४.५१  सेकेन्ड र चित्रा पालाकिजले ४ मिनेट ३५.४६ मा पूरा गर्दै क्रमशः रजत र कांस्य पदक जिते ।

श्रीलंकाकी थनुजी अमासाले निर्धारित  दूरी ११.८२ सेकेन्डमा पूरा गर्दै रजत जितिन् भने श्रीलंकाकै लंसिका सुगन्धले निर्धारित  दूरी ११.८४ सेकेन्डमा पूरा गर्दै कांस्य जितिन् । श्रीलंकाले महिला ४ सय मिटर, पुरुष ४ सय मिटर, महिला ट्रिपल जम्प र महिला १ सय मिटर हर्डल्समा स्वर्ण जितेको हो।

महिला १ सय मिटर हर्डल्समा श्रीलंकाकी लक्सिका सुगन्धले स्वर्ण जित्दा भारतकी अर्पणा रोयले रजत र श्रीलंकाकी इरिसानी साचिपले कांस्य जितिन्। सुगन्धले निर्धारित दूरी पूरा गर्न १३.६८ सेकेन्ड खर्चिँदा रोय र साचिपले क्रमशः १४.१३ र १४.१८ सेकेन्डमा दूरी पूरा गरे। महिला १ सय मिटर हर्डल्समा नेपालकी प्रमिला थारूले निर्धारित दूरी १५.६० सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्।

पुरुष १ सय १० मिटर हर्डल्समा पाकिस्तानका मोहम्मद नाइमले निर्धारित दूरी १४.३० सेकेन्डमा पूरा गर्दैै स्वर्ण जिते। भारतका सुरेन्दर हायकले १४.३७ सेकेन्डमा दूरी पूरा गर्दै रजत र श्रीलंकाका रोशन धानमिकाले १४.३७ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य जिते। सोही विधामा नेपालका चन्द्रदेव जोशीले १६.३९ सेकेन्डमा दूरी पूरा गरे।पुरुष १ सय १० मिटर हर्डल्समा नेपालका जीवन चौधरीले निर्धारित दूरी १५.६० सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाए।

महिला र पुरुष ४ सय मिटरमा पनि श्रीलंकाको दबदबा कायम रह्यो। ४ सय मिटर महिलामा श्रीलंकाकी दिनसेनी माहिसाले स्वर्ण जित्दा ४ सय मिटर पुरुषमा श्रीलंकाकै अरुणा दर्शणाले स्वर्ण जिते। महिलातर्फ स्वर्ण जित्ने क्रममा माहिसाले सो दूरी पार गर्न ५३.४० सेकेन्ड खर्चिँदा रजत जितेकी भारतकी प्रिया हब्बाथान र कांस्य जितेकी पाकिस्तानकी साबिह इ अर्साले निर्धारित दूरी क्रमशः ५४.३१ र ५४.५८ सेकेन्डमा पार गरिन्।

पुरुषतर्फ दर्शणाले निर्धारित दूरी ४६.६९ सेकेन्डमा पूरा गर्दा रजत जितेका श्रीलंकाकै लक्मल प्रियानाथले ४६.७९ र कांस्य विजेता जेदवन कारेकोपले ४७.४२ सेकेन्डमा दूरी पूरा गरे। त्यस्तै, बिहीबारै भएको महिला ट्रिपल जम्पमा पनि श्रीलंकाकी हासिनी प्रादोभले १३.२१ मिटर जम्प गर्दै स्वर्ण जितिन्। सोही स्पर्धामा श्रीलंकाकी विधुसा लक्षणले १३.१४ मिटर जम्प गर्दै रजत र भारतकी वैरभी रोयले १२.७७ मिटर जम्प गर्दै कास्य पदक जितिन्। छैठौं स्थानमा बसेकी नेपालकी शिला चौधरीले ११.०६ मिटर जम्प गरिन्।

यता पुरुष ट्रिपल जम्पमा भारतका रार्थिक युनिक्रीले १६.४७ मिटरको जम्पका साथ स्वर्ण र भारतकै मोहम्मद सालाहुले १६.१६ मिटर जम्प गर्दै रजत जिते। श्रीलंकाका साफरिन अहमदले १५.९५ मिटर जम्पका साथ कास्य जिते। नेपालका भुवन महतोले १३.५३ को जम्प गर्दै अन्तिम स्थानमा रहे।

मिलिसेकेन्डले स्वर्ण कब्जा

एथ्लेटिक्समा नेपालका लागि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् ।
दशरथ रंगशालाको ट्य्राकमा भएको दौडमा पहिलो ल्यापबाटै अग्रता लिएकी सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । यता १ मिलिसेकेन्डले पछि पर्दै भारतकी कविता यादवले रजतमा चित्त बुझाइन् । श्रीलंकाकी निलन्थी लंकाले ३५.५९.०२ मा निर्धारित दौड पूरा गर्दै कांस्य पदक हात पारिन् ।

ज्याबलिन थ्रोमा अर्सदको नयाँ साग कीर्तिमान

पुरुष ज्याबलिन थ्रोमा पाकिस्तानका अर्सद नादिमले साग कीर्तिमानी ८६.२९ मिटरका साथ स्वर्ण पदक जिते। उनी टोकियो ओलम्पिक २०२० मा समेत छनोट भए। २०१६ मा भारतका निजर चोपाडाको नाममा ८२.२३ मिटरको साग कीर्तिमान रहेको थियो। यता भारतका शिवपल सिंहले ८४.१६ मिटर र श्रीलंकाका सुमिधा जगाथले ७४.९७ मिटरका साथ क्रमशः रजत र कांस्य जिते। नेपालका रोहित चौधरी ५९.२७ मिटरका साथ छैटौं स्थानमा रहे।

यता महिला ज्याबलिन थ्रोमा श्रीलंकाकी  नदिसा दिलहानले ५५०२ को दूरीका साथ स्वर्ण जित्दा श्रीलंकाकी नाडिका लकमलले ५४.४१ मिटर दूरीका साथ रजत र भारतकी कुमारी शर्मिलाले ५३.६४ मिटर दूरीका साथ कांस्य जितिन्। ४५.२७ मिटरका साथ नेपालकी लक्ष्मी थारू र ४४.४२ मिटरका साथ नेपालकै चन्द्रकला लामगादे क्रमशः पाँचौ र छैटौं स्थानमा रहे।

पुरुष हाइजम्प नयाँ कीर्तिमान
मंगलबारै सम्पन्न पुरुष हाइजम्पमा भारतका सर्वेश अनिल केयुले दक्षिण एसियाली खेलकुदमा नयाँ कीर्तिमानका साथ स्वर्ण जिते । उनले २.२१ मिटर जम्प गरेर नयाँ कीर्तिमान राखेका हुन् । यसअघि श्रीलंकाका एम विज्शेखराको नाममा २००४ मा २.२ मिटरको कीर्तिमान थियो । त्यस्तै महिला हाइजम्पमा भारतकी जिस्ना एमले स्वर्ण जितिन् । उनले १.३७ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् ।