अर्को संस्करण पाकिस्तानमा, सागको भव्य समापन

ड्रोनबाट नेपालको नक्सा र झण्डसँगै पशुपतिाथको मन्दिर, गौतम बुद्धको आकृति आकाशमा देखाउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन गरिएको छ । पुरुष फुटलको फाइनलपछि शुरु भएको समापन समारोह करिव ३ घण्टा चलेको थियो, जसमा सहभागि ७ देशका खेलाडीको मार्चपासदेखि लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सम्बोधनसम्म थियो । अनी ड्रोनबाट अमेजिङ परफरमेन्स पनि ।

मंसिर १५ गते औपचारिक रुपमा शुरु भएको १३औं साग काठमाडौं पोखरा र जनकपुरमा गरी १० दिनसम्म चलेको थियो । समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता ब्यवस्थित र भब्य रुपमा सम्पन्न भएकोमा खुसी ब्यक्त गरे । उनले प्रतियोगितालाई सफल पार्न खट्ने र सहभागी हुने सबैलाई सरकारका तर्फबाट धन्यवाद दिए ।

समापन समारोहका प्रमुख अतिथि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले सागको सफल आयोजनाले विश्वसामु नेपालको शिर अझ उचो भएको बताए ।  युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलबालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तो सुकै अवस्थामा पनि गर्न सक्छ भन्ने सन्देश दिएको बताए । समापनका अवसरमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिषबाजी समेत गरिएको थियो ।

आयोजक नेपाललाई ऐतिहासिक ५१ स्वर्ण पदक दिलाउँदै दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण मंगलबार सम्पन्न भएको छ । एउटा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल आयोजना र यसमा स्वदेशी खेलाडीहरुले प्राप्त गरेको अभूतपूर्व उपलब्धी दुबै भएको छ । आफ्नै भूमिमा आयोजित खेल मेलाका क्रममा नेपालले ‘अन द फिल्ड’ जति गर्व गर्नलायक प्रदर्शन ग¥यो, ‘अफ द फिल्ड’ पनि ठूलो आलोचनाको मौका दिएन । दुई सातासम्म करिव ५ हजार विदेशी पाहुनाको सुरक्षा÷व्यवस्थापन र भब्य उद्घाटन तथा समापन समारोह आयोजना त्यति सजिलो थिएन ।

दुईपटक मिति सारिसकिएको साग तेस्रोपटक घोषित मितिमा सम्पन्न हुन सक्नेमा अन्योल थियो । नियमित कार्यतालिकाअनुसार १३ औं साग सन् २०१८ मै नेपालले आयोजना गर्नुपर्नेमा भूकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा सम्भव भएन र २०१९ को मार्चमा गर्न मिति तोकियो ।तर, सो मितिमा पनि सम्भव नभएपछि १–१० डिसेम्बरका लागि सारिएको थियो । यो मितिमा पनि साग हुन नसक्ने आधारहरु प्रशस्त थिए । अन्तिम समयसम्म पनि पूर्वाधारहरु लठिबज्र अवस्थामा थिए । व्यवस्थापकीय तयारी पनि सुस्त थियो । अभ्यासमा जुटिरहेका खेलाडी नै साग हुनेमा अन्तिम समयसम्म विश्वस्त थिएनन् ।

पूर्वाधारतर्फ तीनवटा प्रमुख चिन्ता थिए । एउटा दशरथ रंगशाला, दोस्रो पोखरा रंगशाला र तेस्रो सातदोबाटो पौडी पोखरी । उद्घाटनको दुई दिनअघिसम्म दशरथ रंगशालाको प्याराफिटमा छानो हालिएको थिएन । तीन दिन अगाडिसम्म पौडी पोखरीमा पानी थिएन । पोखरा रंगशालाको अवस्था उस्तै थियो । यस्तोमा धेरैले आशंका गरेका थिए, कतै सागले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गराउने होइन ? तर ‘नेपाली शैली’ अनुसार अन्तिम समयमा जिम्मेवार व्यक्ति र निकायहरुले जुझारुपन देखाए । हतार–हतार काम भयो । भाग्यले पनि साथ दियो भनौं, हतारको काम लतरपतर भएन ।

७२ सालको भूकम्पले भत्काएका दशरथ रंगशाला र पोखरा रंगशालाको पुनर्निर्माण चित्तबुझ्दो भएको छ । खेलकुदमन्त्री जगत विश्वकर्मा आफैं दशरथ रंगशालामा अहोरात्र खटिएका थिए । झण्डै मन्त्री पद गुमाएका विश्वकर्मालाई सम्भवतः यही खटाईले जोगायो । र, सागको आयोजना पश्चात उनले यसको यथोचित जस पाउने नै छन् । यसैगरी, पौडीपोखरी पनि अन्तर्राष्ट्रियस्तरको बनेको छ । नेपालकी कीर्तिमानी पौडिवाज गौरिका सिंहले यो पौडी पोखरी आफूले बेलायतकै स्तरको पाएको भन्दै प्रशंसा गरेकी छन् । यसअघि नेपालमा हिटिङ सिस्टमसहितको पौडी पोखरी नै थिएन ।

सदस्य सचिवको ‘पौरख’

सागको सफल आयोजनामा निर्णायक भूमिका चाहिँ राखेपका सदस्यसचिव रमेश सिलवालको नै रह्यो । उनी चार महिना अगाडि सदस्यसचिव भएयता सागलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएका थिए । लामो समयदेखि निजी शैक्षिक प्रतिष्ठानको नेतृत्व गरेका उनले आफ्नो कार्यशैलीमा व्यवसायिकता देखाएका छन् । त्यसो त पूर्व सदस्यसचिव केशवकुमार विष्टको पालामा नै पूर्वाधारका धेरै काम अघि बढेका थिए । त्यसलाई गति दिने र टुंगोमा पु¥याउने काम चाहिँ सिलवालले गरे । खासगरी प्रधानमन्त्री केपी ओलीसँग उनको सोझो सम्पर्क र सम्बन्धले गर्दा काम गर्न सहज भयो ।

सिलवालले साग सुरु हुनुअगाडि नेपालले कम्तीमा ५० वटा स्वर्ण ल्याउने भविष्यवाणी गर्दा धेरैले हाँसोमा उडाए । तर उनले आफूलाई सही सावित गरेका छन् । त्यो पूर्वानुमान उनले हचुवामा गरेका थिएनन् भन्ने मान्न कर लागेको छ । उनले भनेजस्तै नेपालले ५० भन्दाबढी स्वर्ण जितेको छ, अघिल्लो सागमा ३ स्वर्णमात्र जितेको नेपालमा जुन नतिजाको कल्पना नै गरिएको थिएन । भद्रगोलको बीचबाटै ‘गोल’ गर्न सरकार सफल भयो । यसका लागि सरकार बधाईको हकदार बनेको छ । देशलाई पदकको वर्षा गरेर सम्पूर्ण नेपालीलाई खुशी दिने खेलाडीहरुको मिहिनेत र समर्पणको अर्को पाटो त छँदैछ ।

उद्घाटनदेखि समापन

आयोजकका लागि सबैभन्दा पहिलो चुनौती उद्घाटन समारोह हुन्छ । दुवै समारोहसम्मका हरेक पक्षहरुलाई मिडियाहरुले पछ्याइरहेका हुन्छन् । दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा नेपालले आफूलाई हामी आर्थिक रुपमा कमजोर राष्ट्र हौं भान पारेन । दुवै समारोहमा प्रस्तुत गरिएका सांस्कृतिक झाँकी र आतिशवाजीले कार्यक्रमलाई भव्य बनायो । खासगरी ब्लेजर लाइट र ड्रोनबाट गरिएको प्रयोग सिर्जनात्मक थियो । यद्यपि सागको उद्घाटन समारोह र समापन समारोह आवश्यकताभन्दा बढि लम्बेतान बन्यो । सरकारी अतिथिहरुले आफ्नो भाषण छोट्याइदिएको भए राम्रै हुन्थ्यो ।

अबेरसम्म चलेको समारोह सकिनुभन्दा अगावै धेरै दर्शकहरु घर फर्किसकेका थिए । समारोहलाई बढिमा दुई घन्टामा सिमित राखेको भए कम खर्चिलो पनि हुन्थ्यो ।जे होस्, नेपालले यो स्तरको कार्यक्रम आयोजना गर्न सक्छ भन्ने अन्तर्राष्ट्रिय स्तरमा सन्देश गएको छ । यसले पक्कै पनि नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्नेछ । सागकै बीचमा सञ्चारमाध्यममा एउटा विवाद पनि उब्जियो । साग आयोजनाको बजेटले केही मन्त्रीलगायत ४० भीआईपीलाई दौरासुरुवाल सिलाइएको भनेर सामाजिक सञ्जालमा आलोचना भयो । यद्यपि, केही मन्त्रीहरुले यस्तो समाचारको खण्डन पनि गरेका छन् ।

मैदानमा अभूतपूर्व उपलब्धी

नेपालले साफमा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउनु अर्को सन्तोषको विषय हो । हुन त यो सफलताको प्रमुख श्रेय खेलाडीलाई जान्छ । तर, राष्ट्रिय खेलाडीहरुको अभिभावक अन्ततः राज्य नै हो । सरकार नै हो । पदक तालिकामा नेपालको कमजोर प्रस्तुति रहेको भए त्यतिबेला सरकारमाथि नै प्रश्न उठ्थ्यो । सरकारले खेलाडीको तयारी राम्रो नगराएर उनीहरुले खेल्न नसकेको आरोप लाग्थ्यो नै । त्यसो हुँदा यो सफलतामा थोरै भए पनि जस सरकार र राष्ट्रिय खेलकुद परिषदलाई दिँदा फरक पर्दैन ।

तथापि सुटिङ खेलाडीले विपक्षीसँग बन्दुक मागेर खेल्नुपरेको, साइक्लिङ खेलाडीले थोत्रो साइकल गुडाउनुपरेको जस्ता केही लाजमर्दा घटनाहरु नभएका होइनन् । तर, तीनलाई अपवाद मानेर आगामी दिनमा यस्तो गल्ति नहुने गरी सचेत गराउन सकिन्छ । सागमा पदक जित्ने खेलाडीलाई सरकारले औपचारिकरुपमा पुरस्कार घोषणा गरिसकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेताहरुलाई भोलि बालुवाटारमा निम्तो दिएका छन् । सम्भवत उनले पुरस्कार राशी घोषणा गर्न सक्छन् । सीमित स्रोत साधनमा खेलेर देशलाई पदक दिलाउने खेलाडी पुरस्कारको हकदार हुन् नै । तर एकपटक नगद पुरस्कार दिएर सरकारले आफ्नो कर्तव्य निभाएको भ्रम चाहिँ पाल्नु हुँदैन ।

मूल कुरा भनेको खेलाडीहरुको भविष्यको सुनिश्चितता हो । उनीहरुलाई अरु केही नसोची आफ्नो खेलमा लागिरहने वातावरण प्रदान गर्नु हो । त्यसका लागि धेरै काम गर्नुपर्ने छ । समापन समारोहमा सदस्य सचिव सिलवालले अब आफूहरु ओलम्पिक र एसियाडको तयारीमा जुटिहाल्ने बताएका छन् । यदि राम्रो तयारी र उचित हौसला पाएमा नेपाली खेलाडी कोहीभन्दा कम छैनन् भन्ने यो सागमा प्रमाणित भएको छ । यो सफलता पानीको फोकाजस्तो बन्नु हुँदैन । आगामी सागमा योभन्दा तल होइन माथि उठ्ने गरी नेपाली खेलाडीको तयारी हुनुपर्छ ।गौरिका सिंहसहितका खेलाडीहरुलाई सन् २०२० को ओलम्पिकमा पदक जित्न सक्ने गरी तयार पार्ने दायित्व राज्यको हो ।

सार्कलाई बाँध्ने साग

नेपाल खेलप्रेमीहरुको देश हो । त्यसैले सागको चर्चा सम्भवतः अन्य दक्षिण एसियाली देशहरुमा भन्दा नेपालमा बढी हुन्छ । फेरि यो प्रतियोगिताको सुरुवात पनि नेपालकै पहलकदमीमा भएको हो । पहिलो साग (त्यतिबेला साफ) को आयोजना पनि नेपालमै भएको थियो ।

नेपालले दुईवटा प्रतियोगिता गरेको छ । सन् १९९९ मा भएको सागमा पनि नेपालले ऐतिहासिक सफलता पाएको थियो । तर त्यतिबेला नेपालले जितेको पदकको ठूलो हिस्सा तेक्वान्दो र कराँतेमा सिमित थियो । यसपाली नेपालले फुटबल, एथलेटिक्स, बक्सिङ, पौडी जस्ता महत्वपूर्ण विधामा पनि स्वर्ण जितेको छ । यी विधाहरुमा नेपालले आगामी दिनमा खेलाडीहरुलाई थप मजबुत बनाउँदै लैजानुपर्छ । पछिल्लो समयमा दक्षिण एसियाको सबैभन्दा ठूलो देश भारतले सार्कलाई महत्व दिन छाडिरहेको छ । यस्तो बेला यो प्रतियोगिताले सार्क राष्ट्रहरुको भाइचारा र सामिप्यतालाई मजबुत गर्न सहयोग मिल्ने नै छ ।